• २२ वैशाख २०८१, शनिबार

मतदाता रिझाउँदै उम्मेदवार चुनावी मैदानमा

blog

काठमाडौं, असोज २९ गते । आगामी मङ्सिर ४ गते प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले असोज २६ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फ कुल दुई हजार ४१२ र प्रदेश सभातर्फ तीन हजार २२४ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरू विभिन्न एजेण्डा पेस गर्दै मतदातालाई रिझाउँदै प्रतिस्पर्धामा होमिएका हुन् ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ पुरुषको सङ्ख्या दुई हजार १८७ र महिला २२५ उम्मेदवार हुनुहुन्छ । यसैगरी, प्रदेश सभातर्फ पुरुष २ हजार ९४३, महिला २८० र अन्यको सङ्ख्या एक रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ असोज ११ गते मध्यरातदेखि लागू भइसकेको छ । आचारसंहिता प्रभावकारी कार्यान्वयन भए नभएको निरन्तर अनुगमनका साथै कारबाही प्रक्रिया पनि अगाडि बढाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताप्रति संयमित बन्दै राजनीतिक दल तथा उम्मेदवार आफ्नो दाबीसहित चुनावी मैदानमा छन् ।

नागरिकका कुरा सुन्दै उम्मेदवार

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । थापाको सचिवालयअनुसार निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा अहिले उम्मेदवारहरू टोल–टोल, घर–घर जाने एवम् भेटघाटका गतिविधि चलाएका छन् । पहिलाभन्दा अलि बढी मतदाताका समस्या सुन्ने र समाधान गर्ने  कामलाई प्राथमिकतामा राखेर सोअनुरूपको गतिविधि अगाडि बढाइएको छ । 

“प्रमुख एजेण्डामा फोकस भएर अभियान अगाडि बढाउँनेछौं । तलसम्म नागरिकका समस्या सुन्ने, समाधान गर्ने त छँदैछ । अघिल्लो ५ वर्षमा जनप्रतिनिधिले के गरे र अबको ५ वर्ष के गर्ने भनेर जनतालाई बुझाउने अभियान अघि बढेको छ” कांग्रेस महामन्त्री थापाको कुरालाई उद्धृत गर्दै सचिवालय सदस्य शङ्कर कुइँकेलले बताउनुभयो ।

२०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा मतान्तर थोरै भए पनि यस पटक सत्ता गठबन्धनसहित निर्वाचनमा होमिएका थापाले बढी मतान्तरसहित विजय सुनिश्चित गर्ने दाबी गर्नुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र ४ मा कांग्रेस महामन्त्री गगन थापा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता डा. राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

मतदाता केन्द्रित गतिविधि

चुनावी तयारी अघि बढिसकेको अवस्थामा अहिले मतदाता केन्द्रित गतिविधि अघि बढेको क्षेत्र नं. ४ का उम्मेदवार डा. राजन भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, “मतदाता केन्द्रित काममा छौँ । अवस्था विगतभन्दा फरक छ । यसअघि कांग्रेसले जितेको थियो, अहिले एमालेले जित्छ ।”

मतदाताका गम्भीर चासोका विषय र मुद्दा नै आफ्नो चासोका विषय रहेको उहाँले बताउनुभयो । “बिरामीले औषधि, बेड र रगत नपाएको अवस्थामा जनता साँच्चिकै अप्ठ्यारो अवस्थामा पुगेका छन् । अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा छ” डा. भट्टराईले जनताका आधारभूत आवश्यकता खानेपानी, ढल, बाटोघाटो, दैनिक जीवन धान्ने रोजगारीको विषय भयावह अवस्थामा पुगेको बताउनुभयो । बढ्दो महँगी र यसको नियमन हुन नसक्दा आम नागरिक असन्तुष्ट बनेको उहाँको भनाइ छ ।   

बलियो, स्थिर र प्रभावकारी सरकार निर्माण गर्ने एजेण्डासहित एमाले जनताको बीचमा गइरहेको डा. भट्टराईले बताउनुभयो । एमाले नेतृत्वको सरकारले आर्थिक समृद्धि कायम गर्ने सुरुवात गरेकाले पुनः जनताको सहयोग लिएर देशको समृद्धि कायम गर्ने उहाँले बताउनुभयो । 

आन्तरिक तयारी तीव्र

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावको आधारभूत मोडलअनुरूप तयारी अघि बढिरहेको र जनताको पक्षमा काम गर्ने नै प्रमुख उद्देश्य रहेको कुरा नेता पोखरेललाई उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ । 

विगतजस्तो ठूला आमसभाभन्दा मतदाताको टोल र घरमा जाने कामलाई प्राथमिकता दिइएको पोखरेलको सचिवालयको भनाइ छ । मतदातालाई कुरा सुनाउनेभन्दा मतदाताको कुरा र समस्या सुन्ने गतिविधि अघि बढाइएको नेता पोखरेलको सचिवालय सदस्य दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।   

“क्षेत्र नं. ५ का नागरिकको पक्षमा नियमित काम गर्दै आएको र आगामी दिनमा पनि सो कामलाई निरन्तरता दिनेछौँ, पाँच वर्षमा गर्न नसकेका बाँकी काम पूरा गर्ने पनि हाम्रो प्रतिबद्धता छ” नेता पोखरेललाई उद्धृत गर्दै सचिवालय सदस्य श्रेष्ठले बताउनुभयो । 

यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा उत्रनुभएको छ । नेता सिंहका प्रेस संयोजक यूपी लामिछानेले अहिले आन्तरिक सङ्गठन परिचालनका लागि प्रचारप्रसार समिति, उपसमिति बनाउने लगायतका विषयमा काम भइरहेको बताउनुभयो । 

लामिछानेले नेता सिंहलाई उद्धृत गर्दै भन्नुभयो, “घरदैलोभन्दा पनि अहिले व्यक्तिगत रूपमा चित्त दुखाइरहेका, मतदाताको घरमा जाने, व्यक्तिगत रूपमा भेट्ने, समस्या समाधानको पहल गर्ने काम गरिरहेका छौँ ।”

निर्वाचन आचारसंहिता लागू भएकाले झण्डा बोक्दै भोट माग्न नपाइने भएकाले आन्तरिक रूपमा तयारी अघि बढाइएको उहाँले बताउनुभयो । प्रचारप्रसारको नयाँ शैली र कार्यतालिका बनाएर अघि बढ्ने उहाँको भनाइ छ । नेता सिंहको प्रतिस्पर्धीमा राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई हेरिएको छ । तथापि नेकपा (एमाले) बाट युवा उम्मेदवार किरण पौडेल, पूर्व डिआइजी रमेश खरेलजस्ता उम्मेदवार पनि यही निर्वाचनबाट प्रतिस्पर्धामा हुनुहुन्छ । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।