• २६ वैशाख २०८१, बुधबार

निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै

blog

काठमाडौँ, असोज २७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा जानुभएको हो।

उहाँ वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा–२ र काठमाडौँ–१०, २०७० को संविधान सभा निर्वाचनमा काठमाडौँ–१० र सिरहा–५ तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बन्नुभएको थियो। उहाँले निर्वाचन क्षेत्र परिवर्तन गरेपछि यस विषयमा बहस पनि भइरहेको छ। 

प्रमुख राजनीतिक दलमध्ये प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गर्नेमा प्रचण्ड नै प्रमुख हुनुहुन्छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८, २०५१ र २०५६ मा गृह जिल्ला डडेल्धुराबाट उम्मेदवार हुनुहुन्थ्यो। डडेल्धुराका अतिरिक्त २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट उम्मेदवार हुनुहुन्थ्यो। यस्तै २०७४ मा गृह जिल्ला डडेल्धुराबाट उम्मेदवार बन्नुभएका उहाँले यस पटक पनि डडेल्धुरा नै रोज्नुभएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। २०५६ मा रौतहटको १ र ४ बाट विजयी नेपाल २०६४ मा भने काठमाडौँ–२ र रौतहट–४ बाट पराजित हुनुभएको थियो। २०७० मा काठमाडौँ–२ र रौतहट–४ बाट विजयी हुनुभएको थियो। अहिले उहाँ पुनः गृह क्षेत्र रौतहट–१ फर्किनुभएको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनाल २०७० मा इलाम र सर्लाहीबाट पराजित हुनुभएको थियो।

गृह जिल्ला छाडेर अन्यत्र जाँदा पाहुनाको ‘ट्याग’ लागे पनि निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको सङ्ख्या उल्लेख्य छ। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगर, कांग्रेसकै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, पूर्वमन्त्री तथा एमाले नेता अग्निप्रसाद खरेल, सत्तारूढ गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता अनिलकुमार झाले पनि निर्वाचन क्षेत्र परिवर्तन गरी उम्मेदवारी दिनुभएको छ। 

प्रचण्डको प्रस्टोक्ति

अध्यक्ष प्रचण्डले मनोनयनपत्र दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “सबैभन्दा पहिले रोल्पाबाट चुनाव लडेँ, अनि काठमाडौँबाट, त्यसपछि सिरहाबाट। अनि आफ्नै गृह जिल्ला चितवनबाट, पूर्व–पश्चिम, मधेश र पहाड घुम्दै चुनाव लड्ने सायद म नै पहिलो हुँ।” तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गर्दा मुख्यालय गोरखामै राखेको स्मरण गर्दै उहाँले भावनात्मक सम्बन्ध दर्साउने कोसिस गर्नुभयो।

चुनाव लड्नै क्षेत्र परिवर्तन

पूर्वमा झापादेखि पश्चिममा कैलाली, बाँके र बर्दियासम्म नै नेताहरूले क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिनुभएको छ। झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७४ को निर्वाचनबाटै ‘पाहुना’ उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। २०७४ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग उहाँको प्रतिस्पर्धा भयो। ओखलढुङ्गा घर भए पनि नेता कार्की झापा–१ जानुभएको थियो। यस पटक महामन्त्री शर्माको प्रतिस्पर्धा एमाले नेता अग्निप्रसाद खरेलसँग हुँदै छ। नेता खरेलको घर गौरादह हो, जुन झापा–५ मा पर्छ। झापा–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता खरेलले करिब दुई वर्षअघि बिर्तामोडमा घर किन्नुभएको थियो तर एमालेले उहाँलाई झापा–१ को उम्मेदवार बनाएको छ। यसैगरी एकीकृत समाजवादीका नेता पुष्पराज पोखरेल झापा–२ को (क) मा प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँ झापा–३ स्थित भद्रपुर निवासी हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्तीमगरले काठमाडौँ–२ मा मनोनयनपत्र दर्ता गर्नुभएको छ। रोल्पाबाट प्रतिनिधित्व गर्ने उहाँलाई सत्ता साझेदारले यस पटक काठमाडौँ–२ मा उम्मेदवार बनाएका हुन्।