• १३ साउन २०८१, आइतबार

पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड सात घण्टापछि सुचारु

blog

अमरराज नहर्की

तनहुँ, असोज २१ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको दुई स्थानमा पहिरो झरेर अवरुद्ध भएको सडक सात घण्टापछि सुचारु भएको छ ।  व्यास नगरपालिका –१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका –१ गुणादीमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएकोमा गुणादीमा शुक्रबार बिहान ६ बजे एक तर्फी खुलाइएको सडक पुन पहिरो खसेकाले दुइतर्फी यातायात बन्द भएको थियो । डोजरले पहिरो हटाएर सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर राजमार्ग सञ्चालन गरिएको उहाँले बताउनुभयो । शुक्रबार बिहान ३ बजेदेखि नै गुणादीमा सडक अवरुद्ध भएकोमा शुक्रबार १०ः१५ बजेबाट सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएपछि यात्रु आफ्नो गन्तव्यमा लागेका छन् ।