• २ माघ २०८१, बुधबार

चाडवाडमा मासु खाँदा बोसोरहित मासु खान विज्ञको सुझाव

blog

काठमाडौं, असोज १८ गते । दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने चाड भन्ने आमबुझाइ छ । दशैंको बेलामा सबैभन्दा बढी खपत हुने भनेको मासुजन्य पदार्थ नै हो । दशैंमा आ–आफ्नो गच्छेअनुसार सबैका घरमा मासु पाक्ने गर्छ । दशैंको मौकामा विभिन्न मासुका प्रकार बनाएर खाने गरिन्छ । तर ध्यान दिनु पर्ने कुरामा विचार गरिँदैन । त्यसले स्वास्थ्यमा प्रतिकुल असर पनि गर्छ ।  

पोषणविद् प्रा.डा.उमा कोइरालाले मासु शरीरमा आवश्यक भए पनि मासु खाँदा होस पु¥याउनु पर्ने बताउनुहुन्छ । उहाँका अनुसार मासु खाँदा बोसो भएकोभन्दा बोसोरहित खाँदा स्वास्थ्यका लागि फाइदा हुन्छ । 

मासुका साथै हरियो सागपात र ताजा फलफूल मिसाएर सन्तुलित भोजन गर्न उहाँको सुझाव छ । दशैंको अवसरमा कस्तो मासु खाने, कसरी खाने लगायत विषयमा केन्द्रित भई प्रा.डा.उमा कोइरालासँग गरिएको कुराकानी :

दशैमा मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?  

हामी नेपालीले दशैंको अवसरमा प्रशस्त मासु खाने चलन छ । मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । मासु शरीरमा आवश्यक भए पनि मासु खाँदा होस पु¥याउनु पर्छ । बोसोयुक्त मासु स्वास्थ्यका लागि राम्रो मानिँदैन । मासु खाँदा बोसोरहित खानुपर्छ । 

कतिपय ठाउँमा भगवानलाई भोग चढाएर मासु प्रसादको रूपमा धेरै दिनसम्म राखेर खाने प्रचलन छ । मासु पकाएर धेरै दिनसम्म राखेर दशैभरी खानुभन्दा ताजा मासु खानु स्वास्थ्यका हिसाले राम्रो मानिन्छ । 

लामो समयसम्म पकाएर राखेको मासुको तापक्रम नमिल्दा ब्याक्टेरिया फैलने हुँदा त्यस्तो मासु खाँदा स्वास्थ्यमा जटिल समस्या निम्तने गर्दछ । दशैंमा मासु मात्रै नखाई सन्तुलित भोजन मिलाएर खान सकेमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

मासुसँगै गेडागुडी, फलफूल, दही, मही मिलाएर खान सकेमा राम्रो मानिन्छ । यस्ता खानाले शरीरलाई चाहिने पौष्टिक तत्त्व मिल्नुका साथै मासुले नकारात्मक असर गर्दैन । 

मासुमा खास के के तत्त्व पाइन्छ ?

मासुजन्य पदार्थबाट सबैभन्दा बढी प्रोटिनको मात्रा पाइन्छ । त्यसका अलावा भिटामिन, मिनिरल पनि पाइन्छ । प्रोटिनले शरीरको वृद्धि विकासमा सहयोग गर्छ । प्रोटिन मासु बाहेक जीव जनावरबाट पाइने अन्य स्रोतजस्तै ः माछा मासु, दूध, दही घिउ, मही बटरबाट पनि प्राप्त गर्न सकिन्छ ।

उमेर अनुसार कति मासु आवश्यक पर्छ ?

जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ । २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ ।

केटाकेटीहरूको शरीर वृद्धि विकास हुने हुँदा उनीहरूलाई धेरै प्रोटिनको आवश्यक पर्छ । वयस्कहरूलाई शरीर कति सक्रिय छ त्यहीअनुसार प्रोटिनको आवश्यकता पर्छ । 

वृद्ध अवस्थाका मानिसहरूको शरीर त्यति सक्रिय नहुने र पाचन प्रणाली पनि कमजोर हुने हुँदा माछा मासु कम खाँदा पनि हुन्छ । 

खाना सन्तुलित कसरी बनाउन सकिन्छ ?

माछा मासु कम खाँदा पनि त्यसबाट प्राप्त हुने तत्त्व शरीरले प्राप्त गर्छ । अत्यधिक मात्रा मासु खानुभन्दा कम खाँदा सजिलै पचाउन सकिन्छ । 

धेरै मासु खायो भने त्यसले शरीरमा नकारात्मक असर गर्छ । धेरै प्रोटिनको मात्रा खायौ भने शरीरमा थुप्रिएर बसेर मोटोपन बढ्नुका साथै अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ ।  

त्यसैले मासुसँग हरियो सागपात फलफूल, मुला गाजर काँक्रो प्रशस्त मात्रामा खानुपर्छ । मासु पकाउँदा घिउ, तेल थोरै मात्र प्रयोग गर्न सकेसम्म मासुको रस बनाएर खानु उपयुक्त मानिन्छ । मासु बिहानदेखि बेलुकासम्म खाँदा शरीरलाई नकारात्मक असर गर्नुका साथै डायरिया, फुडपोइजनजस्ता स्वास्थ्य समस्या देखिन्छ ।  

सागसब्जी समावेश गर्दा हुने फाइदा के हो ?

मासुका साथै फलफूल, तरकारी, मुला गाजर काँक्रोजस्ता खानेकुरा समावेश गर्न सकियो भने मात्र भोजनलाई सन्तुलित बनाउन सकिन्छ ।  

मासुमा भएको चिल्लो प्रदार्थलाई सागपात र फलफूलको रेसाहरूले चिल्लो पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । सागपातले आन्द्रलाई सफा गर्नुका साथै शरीरमा अनावश्यक बोसो जम्न दिँदैन । 

बिरामीले मासु खाँदा के चिजमा ध्यानदिनुपर्छ ?  

सुगर प्रेसर कोलेस्ट्रोल कलेजो, मुटु दम, बाथको रोगीहरूले मासु खाँदा धेरै विचार पु¥याएर खानुपर्छ । यस्ता रोगीहरूले मासु कम मात्र खानु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । 

मासु खाँदा बोसोरहित कम चिल्लोको प्रयोग गरेको रस बनाएर खाँदा उपयुक्त हुन्छ । रातो मासुभन्दा कुखुराको मासु वा माछा खानु उपयुक्त मानिन्छ । कुखुरा मासु र माछामा बोसो कम हुने हुँदा रातो मासुलेजस्तै हानी गर्दैन ।

सोडाजन्य पिय पदार्थ प्रयोग नगरौँ

चाडबाडमा हामीले अनियन्त्रित रूपमा खाने गर्दछौँ । जथभावी देखासिकी गरेर मादक र सोडाजन्य पेयपदार्थ सेवन गर्दा पैसा र शरीर दुवैमा हानी पुग्छ । माछामासुसँग सोडा जन्य पदार्थ असाध्यै धेरै पिउँदा स्वास्थ्यमा नकारात्मक असर गर्छ । 

सोडाजन्य पदार्थको सट्टा कागतीको सरबत, फलफूलको रस बनाएर खाँदा फाइदाजनक हुन्छ । 

यसले मासुलाई पचाउन पनि मद्दत गर्छ । चाडबाड मनाउँदा परिवारको सबै सदस्य सँगै बसेर परिवारको सबै सदस्यले खाने चिज घरमा ल्याएर रमाइलो गरी मनाउन सकिन्छ । 

मासु नखानेले के खाने 

मासु नखानेलाई पनि प्रशस्त मात्रामा पोटिनयुक्त खाना छन् । माछा मासु नखाने मानिसले गेडागुडीका विभिन्न परिकार, क्वाँटी बनाएर खान सकिन्छ । त्यसका अलावा राज्मा, सिमी, पनिर, खुवा, च्याउँ, दही, दूध खान सकिन्छ । यस्ता खानेकुराले प्रोटिन प्राप्त हुन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।