गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २९ गते । जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्नुभएको छ । उहाँ फ्रान्सको विमान चढेर भाग्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
जेनजीले सेप्टेम्बर २५ देखि सुरु गरेको देशव्यापी आन्दोलन चर्किंदै गएपछि आइतबारदेखि भूमिगत हुनुभएका राष्ट्रपति राजोएलिना फ्रान्स पुग्नुभएको हो । माडागास्करको संसद्का विपक्षी नेताले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गर्नुभएको छ ।
“हामीले राष्ट्रपति कार्यालयका कर्मचारीसँग सम्पर्क गर्दा उहाँले देश नै छाडिसक्नुभएको भन्ने खबर पायौँ,” विपक्षी दलका नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले भन्नुभयो । राष्ट्रपति राजोएलिना सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताउनुभएको छ ।
माडागास्करका एक सैनिक अधिकारीले राष्ट्रपति राजोएलिना फ्रान्सको विमान चढेर देश छाडेको बताएका छन् । फ्रान्सेली रेडियो आरएफआईले पनि राष्ट्रपति राजोएलिनाले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रेनसँग कुरा गरेको जनाएको छ ।
जेनजी आन्दोलनको सुरुवात पानी र बिजुलीको अभावको विरोधमा थियो । त्यसपछि भ्रष्टाचार, कमजोर शासन र नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिसमेत सरकारले नगरेको भन्दै आन्दोलन चर्किएको हो ।
जेनजी आन्दोलन चर्केपछि सिनेटका अध्यक्षलाई पनि पदमुक्त गरी नयाँ कार्यवाहक अध्यक्ष जिन आन्द्रेमान्जारी नियुक्त गरिएको छ ।
त्यहाँको संविधान अनुसार राष्ट्रपतिले पद छाडे वा पद रिक्त भएमा सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रपतिको भूमिका लिने व्यवस्था छ । राष्ट्रपतिले देश छाडे पनि माडागास्करमा जेनजी आन्दोलन अझै जारी रहेको समाचारमा जनाइको छ ।