• २१ असार २०८१, शुक्रबार

चाडपर्वमा मात्रै सात करोड बढीको खसीबोका बिक्री

blog

पाल्पाका किसानले पालेका खसीबोका निर्यातका लागि तयारी गरिँदै । तस्बिर : रेखीराम राना । पाल्पा ।

रेखीराम राना

पाल्पा, असोज १७ गते । चाडपर्वको बेला पाल्पाबाट सात करोडको खसी–बोका बाहिरी जिल्लामा निकासी भएको छ । जिल्लाका विभिन्न स्थानबाट मासुका लागि दशैंतिहारको समयमा सात करोड बढीको जिउँदो खसी–बोका जिल्ला बाहिर निकासी भएको हो । 

जिल्लाको निस्दी, पूर्वखोला, रम्भा, तानसेन, रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दशैंतिहारको बेला खसीबोका निर्यात हुने गरेको छ । जिल्लाभरबाट गत वर्ष वर्षभरिमा १८ करोड बढी मूल्य पर्ने खसीाबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्रै सात करोडको खसीबोका निकासी भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । 

चाडपर्वको समयमा सबैभन्दा धेरै खसीबोका निर्यात हुने गरेको केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । ‘गएको वर्ष पाल्पाका विभिन्न स्थानबाट १८ करोड ६५ लाख बढी मूल्य पर्ने खसीबोका काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट निर्यात भएको थियो उहाँले भन्नुभयो ।’ अन्य समयमा भन्दा दशैंतिहारका बेला सबैभन्दा धेरै जिउँदो खसीबोका अन्य जिल्लामा निर्यात हुने गरेको उहाँले उल्लेख गर्नुभयो । 

व्यावसायिक रूपमा खसीबोका पाल्ने किसानको सङ्ख्या बढेपछि खसीबोकाको मासु उत्पादन हरेक वर्ष बढेको छ । जिल्लाभित्र खसीको मासु खपत कम हुने भएकाले बाहिरी जिल्लामा निर्यात बढेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । ग्रामीण भेगमा स्थापित भएका स्थानीय सहकारी संस्थासँगको सम्पर्कमा जिउँदो खसीबोका लिनका लागि बाहिरी जिल्लाबाट व्यापारीहरू आउने गरेको रम्भा–२, फोक्सिङ्कोटस्थित उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजालीले बताउनुभयो । 

आफूहरूको सहकारी संस्थाबाट दशैंतिहारमा मात्र ८० लाखको खसीबोका बिक्री गरेको उहाँले बताउनुभयो । यहाँका किसानले जिउँदो खसीबोकालाई प्रतिकिलो ५०० रुपियाँ देखि ७०० रुपियाँसम्ममा बिक्री गरेका छन् । 

जिल्लामा हालसम्म १४ वटा सहकारी संस्थाहरूले खसीबोका सङ्कलन तथा बिक्री गर्दै आएका छन् । यी सहकारीबाहेक व्यक्तिले समेत व्यापारीलाई खसीबोका बिक्री गर्दै आएको विज्ञ केन्द्रका नायब सुब्बा युवराज ज्ञवालीले बताउनुभयो । जिल्लामा मासुको प्रयोगका लागि पालिने पशुपक्षीमध्ये सबैभन्दा धेरै खसीबोका निर्यात हुने गरेको उहाँको भनाइ छ । हरेक वर्ष खसीबोकाको मासु उत्पादन समेत बढेकाले सरकारले अनुदान दिने व्यवस्था समेत गरेको छ ।