• १३ वैशाख २०८१, बिहिबार

आज विश्व रेबिज दिवस

रेबिजले नेपालमा अदृश्य रुपमा धेरैको ज्यान लिएको छ : डा. शेरबहादुर पुन

blog

काठमाडौं, असोज १२ गते । आज विश्व रेबिज दिवस । यो वर्ष “एक स्वास्थ्यको कार्यान्वयनः रेबिजबाट शून्य निधन” भन्ने नाराका साथ आज विश्व रेबिज दिवस मनाइरहेकाे छ । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज एक प्रकारको भाइरल इन्फेक्सन हो । रेबिज लागेको जनावर (कुकुर, बिरालो, स्याल आदि) को टोकाइबाट सर्ने रोग हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक जनावरको टोकाइबाट अस्पतालमा डेढ सयदेखि दुई सय आउने गर्दछन् । 

अस्पतालमा आउने अधिकांश बिरामीमा प्रायः बौलाहा कुकुरको टोकाइबाट रेबिज सरेको पाइएको छ । 

जसमध्ये बौलाहा कुकुरको टोकाइबाट रेबिज भएर प्रत्येक वर्ष अस्पतालमा १५ देखि २० जनाको मृत्यु हुने अस्पतालको तथ्याङ्कमा उल्लेख छ । 

चिकित्सकका अनुसार सङ्क्रमित जनावरले टोक्नासाथ रेबिजको लक्षण देखिँदैन । सामान्यतया कुकुरले टोकेको एकदेखि तीन महिनामा लक्षण देखिने डा.पुन बताउनुहुन्छ । मानिसपिच्छे फरक फरक समयमा लक्षण देखिने गर्दछ । 

सामान्यतया एक महिनापछि लक्षण देखिने भए पनि कसैकसैमा तीन महिना, कसैमा एक वर्षपछि पनि लक्षण देखिने गर्छ । 

सुरुमा यसको लक्षणहरु फ्लुको जस्तै देखिने गर्दछ । बिस्तारै ढाड दुख्ने, हावा र पानी देखेर डराउने, आक्रामक हुने जस्ता लक्षण देखिने डा. पुन बताउनुहुन्छ । 

चिकित्सकका अनुसार जनावरले टोकिसकेपछि जनावरमा भएको सङ्क्रमणजन्य कीटाणु मांसपेशी हुँदै मुख्य नसामा पुग्ने गर्दछ । कीटाणु दिमागमा पुग्यो भने रोगको लक्षण देखिन थाल्ने डा.पुन बताउनुहुन्छ ।

लक्षण देखिसकेपछि लगभग शतप्रतिशत बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् । रेबिजले नेपालमा अदृश्य रुपमा धेरैको ज्यान लिइरहेको छ । त्यसैले जनावरले टोक्नासाथ रेबिजविरुद्धको खोप लगाउन चिकित्सको सुझाव छ। 

रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा भए पनि बिरामीको हेलचेक्राइँले गर्दा १० वर्ष अघिको तुलनामा रेबिज लागेर घट्नुको साटाे बढ्दै गइरहेको छ । 

खाेप व्यापक मात्रामा उपलब्ध हुँदा पनि मृत्युदर नघट्दा सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्यमा चुनौती थपिने देखिन्छ ।  

विश्व रेबिज दिवसको अवसर पारेर रेबिज रोगमा केन्द्रित भई सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको भिडियो संवाद :

भिडियो : मनोरत्न शाही  / केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।