• १३ मंसिर २०८१, बिहिबार

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा

blog

चर्चीत पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख सापकोटा । तस्बिर : संसद सचिवालय

काठमाडौं, असोज १० गते । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।

सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

सभामुख सापकोटाले भन्नुभयो, ‘‘राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरूले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ । स्थानीय तहका सरकारहरूले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ । केन्द्र सरकारले सबैभन्दा बढी युवा नीति बनाउन जरुरी छ । नेपालका पर्वतीय क्षेत्रहरू राष्ट्रिय उद्योग हो । यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ । सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ ।’’

सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताउनुहुँदै सभामुखले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गर्नुभयो ।


सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो ।

सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरूको क्षणिक स्वास्थ्यको लागि मात्रै भाषण गर्ने गरेको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विकासको काममा युवाहरूको सहभागिता बढाउनुपर्छ । युवाहरूले धक्का नदिने हो भने मुलुकमा पर्यटनलगायत अन्य विकास अगाडि बढ्न सक्दैन । अहिले युवाभन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ ।  स्वतन्त्रहरूले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरूको क्षमता बाहिर ल्याएका छन् । त्यो ठिक छ । तर अहिलेका लागि  लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।

राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताउनुहुँदै उहाँले नेताहरूले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृत्ति बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा नेताहरूले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालीन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृत्ति छ । खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाका लागि नेताहरूले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालीन स्वास्थ्य लागि लागेको देखिन्छ । काम गरेर देखाउन एक्सनमा जानुपर्छ । एक दुई तीन गरी काम गर्ने  योजनाका रूपमा जानुपर्छ ।’’

सभामुख सापकोटाले राजनीतिक पार्टीहरूले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।