• ११ मंसिर २०८१, मङ्गलबार

निर्वाचन पर्यवेक्षण समितिले संघीय चुनावमा ५०६ पर्यवेक्षक परिचालन गर्ने

blog

काठमाडौं, असोज ४ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७७ जिल्लामा ५०६ जना निर्वाचन पर्यवेक्षक परिचालन गरिने भएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचनका लागि ७७ जिल्लामा ५०६ निर्वाचन पर्यवेक्षक परिचालन गर्ने उद्देश्यका साथ तयारी भइरहेको जनाएको छ ।

समितिका अनुसार पर्यवेक्षक परिचालन गर्दा लामो समयका लागि ४६ जिल्लामा र छोटो समयका लागि सबै जिल्लामा खटाइने छ । निर्वाचन पर्यवेक्षणमा परिचालन गरिने पर्यवेक्षकले निर्वाचनका विविध आयामहरूमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

गत स्थानीय निर्वाचनमा “मतदाताको व्यवहार र मतदान” तथा “निर्वाचनमा महिला सहभागिता: अवरोध तथा सम्भावनाहरू” का विषयमा समेत अध्ययन गरिएको थियो ।

सो अध्ययनहरू मध्ये “मतदाताहरूको व्यवहार र मतदान” को अध्ययन प्रतिवेदन सार्वजनिक भइसकेको छ भने “निर्वाचनमा महिला सहभागिता: अवरोध र सम्भावना” विषयको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गरी तयारीमा भइरहेको समितिले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनको समष्टिगत पक्षहरूको–व्यवस्थापकीय प्रबन्ध, जनसहभागिता, समावेशिता, सुरक्षा र राजनीतिक दललगायत अन्य सरोकारवालाको सहयोग लगायत निर्वाचनको वैधता प्रमाणिकताका लागि आवश्यक अन्य विधि तथा प्रक्रियागत पक्ष जस्तै निर्वाचनको स्वतन्त्रता, निष्पक्षता, तटस्थता र समानता–पर्यवेक्षण गरिने छ ।

निर्वाचनमा स्वच्छ, निष्कलङ्क, सक्षम र विकास प्रेमी उम्मेदवारको चयन गरी लोकतन्त्रको संस्थागत विकासमा आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न सबै राजनीतिक दललाई समितिले आह्वान गरेको छ ।