• २३ वैशाख २०८१, आइतबार

इन्द्रजात्राको अन्तिम दिन 'नानीचा : या’ जात्रा

जहाँ छ्याङ खान महिलाको भीड लाग्छ

blog

हनुमानढोकामा रहेको श्वेत भैरवको मूर्ति भएकाे ठाउँमा छ्याङको प्रसाद ग्रहण गर्दै एक महिला । साथमा प्रसाद ग्रहण गर्न उपस्थित महिलाको भीड । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ २९ गते । आठ दिनसम्म चल्ने इन्द्रजात्रामा महिलाहरूको सहभागिता विशेष रहने गर्छ। काठमाडौं हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादको रूपमा झरेको छ्याङ खाएर महिलाहरूले जात्रा मनाउने चलन छ। यो इन्द्रजात्राको पाँचौँ दिन हो र यस दिनलाई स्थानीय भाषामा 'हाथु हायगेगु’ भनिन्छ।

पहिला पुरुषहरू मात्र सहभागी हुने प्रचलन रहेको यस जात्रामा आठ वर्षअघि मात्रै जात्राको एक दिन महिलाका लागि मात्रै छुट्टाउन थालिएको इन्द्रजात्रामा सहभागी महिला संयोजक तथा व्यवस्थापक छोरी डंगोलले जानकारी दिनुभयो। सोहीअनुसार हनुमानढोकामा रहेको स्वेत भैरवको मूर्तिबाट छ्याङको प्रसाद ग्रहण गर्न त्यस दिन महिलाहरूको धेरै भीड लाग्ने गर्दछ।


हनुमानढोकामा रहेको स्वेत भैरवको मूर्ति भएकाे ठाउँमा छ्याङको प्रसाद ग्रहण गर्न लागेको महिलाको भीड । तस्बिर : मनोजरत्न शाही

उहाँका अनुसार, महिलाहरू भीडमा गएर प्रसाद खान नसक्ने भएकाले तीन वर्ष अघिदेखि महिलाका लागि मात्रै एक दिन छुट्याइएको हो। पहिले भने महिला र पुरुष मिसिएर प्रसाद लिने चलन थियो। गुरु मोहनकृष्ण डंगोलको पहलमा सुरु भएको महिला सहभागिता आजसम्म पनि इन्द्रजात्रामा विशेष महत्त्व राख्ने गरेको छ।

'पहिले पहिले महिलाहरू घरबाट बाहिर ननिस्किने। जात्रा पर्वमा रमाइलो गर्न पुरुषले मात्रै पाउने मान्यता थियो। तर, गुरु मोहनकृष्ण डंगोलले महिला सहभागितालाई जात्रामा गहनाको रूपमा रहने भन्दै यस चलनको सुरुवात गर्नुभएको थियो,” संयोजक डंगोलले बताउनु भयो।

रथ तान्नेदेखि सम्पूर्ण काममा इन्द्रजात्रा संस्थाले मद्दत गर्छ। विगतका दिन सम्झिँदै डंगोल भन्नुहुन्छ, 'पुरुषले मात्र रथ तान्ने चलन थियो। बीचमा रथ महिलाले तान्न सुरु भएपछि धेरैले आक्रोशसमेत पोखेका थिए।”

त्यसैबीच सबै महिलाहरूलाई रथ तान्ने तालिम दिएर आक्रोशबीच जात्रा गर्ने गर्‍थ्याे । तर, अचेल दिनसम्म आइपुग्दा महिलाका लागि छोट्ट्याइएको दुई दिनमा सबै खुसी भएको उहाँको अनुभव छ।

अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पु¥याई पुनः वसन्तपुर ल्याइन्छ। त्यसै रात इन्द्रध्वज फहराइएको लिंगो ढालेर बागमतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ।

रथ तान्दै महिला सहभागी । तस्बिर : कविता थापा 

'नानीचा : या' जात्रा

यसैगरी, आज इन्द्रजात्राको अन्तिम दिन 'नानीचा : या' जात्रा गरेर महिलाहरू रथ तान्ने चलन छ। संयोजक छोरी डंगोलका अनुसार विगत नौ वर्षदेखि इन्द्रजात्राको आठौं दिन अर्थात् अन्तिम दिन महिलाहरुले रथ तान्ने चलन सुरु भएको हो।

"अहिले इन्द्रजात्राको अन्तिम दिन महिलाहरूले रथ तान्ने (नानीचा याः) भनेर परम्परा नै बसिसकेको छ,” उहाँ भन्नुहुन्छ, "नानीचा : या भनिने जात्राको अन्तिम दिन जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारी घरमा पु¥याइन्छ।”

पछिल्लो केही वर्षयता जात्राभर गरिने विभिन्न प्रक्रियाजस्तै धिमे बाजा, बाजाका नाचमा महिलाहरूको सहभागिता उत्साहजनक देखिन्छ।  

त्यस क्रममा लाखे, पुलुकिसी, अष्टमात्रिका, देवी, हलचोक आकाश भैरवको तान्त्रिक नाच प्रदर्शन गरी मध्यरातमा जात्रा सम्पन्न गरिन्छ। यसै अवसरमा श्वेत भैरव, बाका भैरव र आकाश भैरवलगायतका विभिन्न मूर्ति विधिवत् मन्दिरभित्र प्रतिस्थापनसमेत गरिन्छ।

संस्कृतिविद् जगमान गुरुङका अनुसार, नेपालमा हरेक जात्रा र पर्वका आफ्नै किम्बदन्ती छन्। उहाँ भन्नुहुन्छ, "इन्द्रजात्रामा महिला सहभागिता मानिस आफैंले चलाएको चलन हो। महिलालाई पनि जात्रा, पर्वमा हर्ष र उत्साहका साथ सहभागी बनाउन यो चलन चलाएको हुनसक्छ।”

गुरुङ भन्नुहुन्छ, "जस्तै पाटनमा मच्छिन्द्रनाथ जात्रामा नरिवल खसालिसकेपछि  रातमा महिलाहरुले रथ तान्ने चलन छ। जात्रामा रथ तान्ने महिलाहरु विवाहित तर श्रीमान् हराएका महिलाहरु मात्र सहभागी हुन्छन्। मच्छिन्द्रनाथले मेरो हराएको श्रीमान घर र्फिता गरी मेरो इच्छा पूरा गरिदेऊ भनेर रथ तान्ने चलने चलाइएको हो।”

तर 'नानीचा : या जात्रा’ भनेको महिलाले रथ तान्ने जात्रा भनेको हैन, उहाँले भन्नुभयो। उहाँका अनुसार, इन्द्रजात्रा खासगरी आश्विन कृष्ण तृतीयाको दिनमा समापन हुने जात्रा हो तर जात्रा एक दिन थप गर्नुको पनि छुट्टै कथा रx]को उहाँ बताउनुहुन्छ।

पहिले जात्राको अन्तिम दिन 'थनेकोने’ गरेर जात्रा समापन गर्ने चलन थियो। 'थनेकोने’ अर्थात् 'यम्बु’ र 'यंगल’ भन्ने चलन छ। 'यम्बु’ अर्थात् माथि र 'यंगल’ भनेको तल हो।

संस्कृतिविद् गुरुङका अनुसार, नानीचा या जात्रा एक युवतीको नाममा चलाइएको जात्रा हो। राजा जयप्रकाश मल्लले बाहिर एक युवती राख्नुभएको थियो जसको नाम नानीचा : या हो। 



इन्द्रजात्राको थनेकोने गर्ने दिन 'नानीचा : या' को घरसम्म रथ पुग्ने थिएन। यसरी राजा जय प्रकाश मल्लले नानीचा या को लागि जात्रा एकदिन थपेर मनाउने चलनको सुरुवात गर्नुभएको थियो। जसलाई ''नानीचा : या' जात्राको नाम दिँदै 'नाननी : चा' याको घरको बाटो हुँदै रथ जात्रा गर्ने चलन सुरु गरियो।

इन्द्रजात्रा वैदिक कालदेखि सुरु भएको मानिन्छ। पृथ्वी लोकमा भाद्र महिनामा फुल्ने विशेष फूल हो पारिजात। यो फूल स्वर्गमा पाइदैन। त्यस कारण स्वर्गलोकका राजा भगवान् इन्द्र पारिजात र एक प्रकारको फल लिन पृथ्वीलोक पुग्नुभयो।

फूलका लागि भगवान् इन्द्रले पृथ्वीलोकका राजाको अनुमतिबिना पारिजात र फल सुटुक्क चोर्ने प्रयास गर्नुभयो। तर, पृथ्वीका राजा र जनताले यसबारेमा थाहा पाएपछि भगवान् इन्द्रलाई कारबाही गर्न दोबाटो र चौबाटोमा चोरेको पारिजात फूल र फल लिएका इन्द्रलाई उभ्याए।

यो कुरा स्वर्गमा रहेकी भगवान् इन्द्रकी आमाले थाहा पाएपछि ऐरावत हात्ती पठाए र हुस्सु छरेर पृथ्वीवासीले नदेख्ने गरी पृथ्वीबाट इन्द्रलाई भगाए। यसै कथामा आधारित रहेर इन्द्रजात्रा मनाउन सुरु भएको थियो।

यस्ता किम्बदन्तीका आधारमा अहिले पनि महत्व राख्ने इन्द्रजात्रामा महिला सहभागिता निकै विशेष रहने गर्छ।