• २३ वैशाख २०८१, आइतबार

'नेपाल मिथिला येँ ग्यालरी'मा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

blog

काठमाडौं, भदौ २७ गते । 'नेपाल मिथिला येँ आर्ट ग्यालरी'मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको संयुक्त आयोजनामा चार दिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । तीमध्ये ७ जना महिला र १२ जना पुरुष कलाकार हुनुहुन्छ । प्रदर्शनीमा विभिन्न शैलीका कलाहरू राखिएका छन् । जसमा 'वाटर कलर', 'पेन्सिल वर्क' लगायत फरक देशका 'एब्स्ट्रक्ट' कलाहरू छन् । 

जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक तथा मिथिला येँ ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियता कलालाई जोड्ने गरेको र नेपाली कलाकारबाट कोरिएका कला बिक्री वितरण नहुँदा कलाकारको मिहेनत खेर गएको कलाकारहरूको गुनासोको अन्त्य गर्ने बताउनुभयो ।

"कलाकारलाई कलामार्फत जोड्नका लागि यो प्रदर्शन गरिएको हो," सञ्चालक यादव भन्नुहुन्छ, "प्रदर्शनीमा विभिन्न तहका कलाकारको कला प्रदर्शनका लागि राखिएको छ, कलाकारको कला प्रदर्शनीमार्फत दर्शकसामु पुग्नु नै कलाकारको परीक्षा हो र यसले दर्शकको विचारबाट कलाकारको काममा ऊर्जा थप्ने काम गर्दछ ।" 

विगत १७ वर्षदेखि सञ्चालनमा रहेको 'मिथिला येँ आर्ट ग्यालरी'मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ ।

प्रदर्शनीमा फ्रान्सका कलाकार ग्रेभी अभिसेन्ट, बङ्गलादेशका कलाकार मामुदा अफ्रा मीम, कनिका वैद्य, नेपाली कलाकार जया शर्मा, विक्रम प्रजापति, रविना बज्राचार्य, विभूषण ताम्राकार, प्रितम थापा, शैली बज्राचार्य, रत्न शाक्य, जीवन चौधरी, उमेश चौधरी, विष्णु चौधरी, निप्सुन राई, रेनुका महर्जन, रञ्जु दर्नाल, साब्रत आचार्य र श्यामसुन्दर यादवको कला राखिएका छन् । 

यो प्रदर्शनी भदौ ३० गतेसम्म चल्ने यादवले जानकारी दिनुभयो ।