• ११ पुस २०८१, बिहिबार

लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता

blog

काठमाडौँ, भदौ २३ गते । डेङ्गु रोग नियन्त्रणका लागि उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने भएको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने भएकाले लार्भालाई नष्ट गर्नुपर्ने बताउनुभयो । लामखुट्टेको लार्भा नष्ट गर्दा बढी प्रभावकारी हुने भन्दै प्रवक्ता ठाकुरले उच्चस्तरीय बैठकले लार्भा नष्ट गर्ने निर्णय गरेको बताउनुभयो । 

लामखुट्टेको जीवन एक महिनाको हुने भन्दै उहाँले एक महिनापछि लामखुट्टे आफैँ मर्ने भएकोले लामखुट्टेभन्दा त्यसको लार्भा नष्ट गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । 

पछिल्लो केही दिन यता देशभर डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा तथा अन्डा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । 

उच्चस्तरीय बैठकले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता डा. ठाकुरका अनुसार डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि मोबाइल रिङटोन बनाएर प्रचार गरिने निर्णय भएको बताउनुभयो । यस्तै रोगको उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ । 

यसैबीच स्वास्थ्य कार्यालय काठमाडाैँले डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नका लागि ५० जना स्वयंसेवक परिचालन गरेको छ । बुधबार कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।