• २३ वैशाख २०८१, आइतबार

पारिवारिक जेठानी देवरानीको कथा ‘झिँगेदाउ’

blog

काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । 

फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । 

फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । 

यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । 

निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । 

जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । 

नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । 

त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । 

यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । 

फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो ।