• ३० चैत २०८२, सोमबार

‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३० गते । नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ ।

वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् । शनिबार नायक विराज भट्ट काठमाडौँका विभिन्न हलमा पुग्नुभयो । काठमाडौँको अष्टनारायण हलमा १२ सयभन्दा बढी दर्शकमाझ विराज घेरिनुभएको थियो । अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि पाँच सय सिट भएको अर्को हलमा चलचित्र लगाइएको थियो । 

उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार भएको यो चलचित्र हेरेर निक्लिएका दर्शकले राम्रो प्रतिक्रिया दिएपछि नायक विराज उत्साहित देखिनुभयो । उहाँले भन्नुभयो, “मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो तर दर्शकले मन पराउनुभएको छ । साथै उत्साहजनक रूपमा साथ दिनुभएको छ । यसले हामीलाई पनि उत्साहित बनाएको छ ।”

निर्माणपक्षले अब नयाँ वर्षको दिनमा हलमा दर्शकको उछाल आउने अपेक्षा गरेको छ । काठमाडौँबाहिरका स्टेसनमा पनि फिल्मको व्यापार सुखद रहेको वितरक कुवेर फिल्म्सले बताएको छ । यो चलचित्रमा विराजको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुसी कार्कीलगायतका कलाकारको अभिनय छ । माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुनुहुन्छ । यस्तै फिल्मका सहनिर्माता तेजराज चटौत र दमनबहादुर चन्द सहनिर्माताका रूपमा रहनुभएको छ ।

मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसर हुनुहुन्छ । काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको सङ्गीत छ । मानकृष्ण महर्जनको डिओपी रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड म्युजिक छ । यस्तै सियोन श्रेष्ठको कोरियोग्राफी र शेरबहादुर लामाको छायाङ्कन रहेको छ ।