काठमाडौँ, चैत ३० गते । कलाकार एरिना ताम्राकारका चित्रमा मातृशक्ति सधैँ आँखा चिम्लिएर ध्यानमग्न हुन्थे । सन् २०२६ मा भने उहाँका चित्रले अनायासै आँखा खोलेका छन् । दरबारमार्गस्थित १०८ ग्यालरीमा अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ देखि ‘म’ शीर्षकमा उहाँको चित्रकला प्रदर्शनी भइरहेको छ ।
“प्रदर्शनीमा राखिएका चित्रकला कोर्ने क्रममा मनमा म शब्द फु¥यो,” कलाकार ताम्राकारले भन्नुभयो, “म शब्दलाई नेपालमा प्रचलित लिपिको आकारमा ढाल्दा कलात्मक पनि देखियो । सधैँ तेस्रो नेत्र खोल्नु पर्छ भन्ने भावको चित्र कोर्थें, जो ध्यानमग्न हुन्थे । यस पटक भने चित्र कोर्दा चित्रका आँखा आफैँ खुल्न थाले, म पनि छक्क परेँ । ध्यान गरेको, सोचेको, मनन गरेको धेरै समय भयो; अब मभित्रका ‘म’ हरूले आँखा खोल्छन् । यत्तिका वर्ष ध्यान गर्दा केही त प्राप्ति भो जस्तो मनमा भाव आए । यसपछि सन् २०२६ का सुरुवाती महिनादेखि मेरा चित्रले आँखा खोल्दा म आफैँ आश्चर्यमा परेकी छु ।”
उहाँले करिब १३ वर्षको समय ‘तेस्रो आँखा’ र ‘चन्द्रमा’ विम्बहरूको प्रयोगसहित आध्यात्मिक चेतनाको आँखा वा मनको आँखा खोल्नु पर्छ भन्ने सन्देशसहितको शृङ्खलामा काम गर्नुभयो । उहाँले कला क्षेत्रमा निरन्तर काम गर्दै जाँदा अहिले शब्दहरूले आकर्षित गर्ने र चित्र बनाउँदै गर्दा मनमा शब्द फुर्ने यात्रा प्रारम्भ भएको बताउनुभयो । यसैको उपजस्वरूप ‘म’ शीर्षकमा यस चित्रकला प्रदर्शनी आयोजना गर्न सफल भएको बताउनुभयो ।
तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देशविदेशमा यही विधाले चिनाएको छ । उहाँको एकल चित्रकला प्रदर्शनी २२ औँ शृङ्खला हो । उहाँले सामूहिक चित्रकला प्रदर्शनी र कला कार्यशालामा धेरै पटक सहभागिता जनाइसक्नुभएको छ । उहाँको अहिले प्रदर्शन भइरहेको चित्रकला ‘म’ मा एक्रेलिक रङमा पनि सुनौला, ब्ल्याक ब्युटीसमेत नारी शक्तिले मायालु भावमा खुला र ठुला आँखाले संसार हेरेका चित्रहरू छन् । ताम्राकारको विचारमा नारी/पुरुष शक्ति आफैँमा भिन्न र सँगसँगै यात्रा गर्दा सफलता भेट्न मद्दत गर्ने शक्तिहरू हुन्, दुवैको आफ्नै महत्व छ । यी शक्तिबिचको नकारात्मक प्रतिस्पर्धाभन्दा एक/अर्काले आफैँभित्रको शक्तिलाई चिनेर इमानदारी र मेहनतका साथ अगाडि बढ्दा मिल्ने गन्तव्यको मिठो आनन्द लिन प्रेरित गर्ने साझेदारीमा विश्वास राख्छु ।
“कलाकार ताम्राकारका चित्रमा नारीका थुप्रै भूमिकालाई सहजै निर्वाह गर्ने क्षमता हुन्छन्, गरिरहेका पनि छन् । कुरा काट्ने वा खासखास खुसखुस त राम्रानराम्रा सन्दर्भमा भई नै रहन्छन् तर आफ्नो कर्तव्य पालना गर्न नारी पछि नपर्नु, जुनसुकै अवस्थाको सामना गर्न तयार रहनु, आफैँलाई खोज्ने बाटो नै अध्यात्म हो, अरूप्रति औँला तेस्र्याउन मन लागिरहने मानवीय स्वभाव नै हो, यसलाई पन्छाउँदै आफ्नो शक्तिलाई चिनेर प्रतिबद्धतासहित अगाडि बढ्नु पर्छ । हरेक चुनौती सामना गर्न महिला सक्षम छन् भन्ने भावका चित्रकला प्रदर्शनीमा राखिएको छ,” उहाँले भन्नुभयो । कलाकार ताम्राकार सबैले होसमा रहेर, जागरुकतासाथ काम गरे मात्र देशमा शान्ति र अमनचैनको वातावरण बनाउन ऊर्जा मिल्ने बताउनुहुन्छ ।