काठमाडौँ, माघ २ गते । माघेसङ्क्रान्तिका लागि नभई नहुने नेपाली मिठाईको परिकार चाकुका विविध परिकार संस्कार, संस्कृतिसँगै जोडिएको परिकारमध्येको एक हो । विशेष गरी माघेसङ्क्रान्तिका दिन हरेक नेपालीको घर घरमा ‘चाकु’ का विविध परिकारसँगै तरुल, घिउ, पिडालु उसिनेर खाने प्रचलन छ । समयसँगै सांस्कृतिक महŒवको परिकारको प्रवर्धन पनि फरक फरक मिठाईका साथ व्यावसायिक पनि बन्दै गएको छ । चाकुका परिकारका लागि चर्चित टोखाका चाकु व्यवसायीले जाडो मौसममा खाइने परम्परागत, गुणकारी मिठाईका रूपमा बनाउँदै आएका चाकुलाई हाल विभिन्न मसलाको मिश्रणसहित चकलेटका नयाँ नयाँ स्वरूप, डिजाइन र प्याकिङसहित उपभोक्तामाझ ल्याइरहेका छन् ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष एवं चाकु व्यवसायी कृष्णबहादुर श्रेष्ठले गुलियो, तातो गुणले भरिपूर्ण चाकुलाई काजु, किसमिस, नरिवल, सुत्केरी मसला, बदाम, सेतो र कालो तिल, दुध, अदुवाको रस र खुवासहित अनेक थरीका चाकुको परिकार तयार पारेर उपभोक्तालाई नयाँ स्वाद दिने कोसिस गरिरहेको जानकारी दिनुभयो । उहाँले चाकुको डल्लो, तिलौरी, पुस्टकारी, सुत्केरी मसला, गुँदपाक, बदामको लड्डु, चक्लेट र बालबालिका र ज्येष्ठ नागरिकले समेत खान सक्ने झोल चाकुको परिकार धेरै उपभोक्ताको रोजाइमा परेको जानकारी दिनुभयो ।
झोल चाकु र बदामसहितको चक्लेटको आकारमा काटेर तयार गरिएको चाकुको नयाँ मिठाईको माग अत्यधिक छ । चाकुको प्रवर्धनका लागि विसं २०७६ देखि ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ गठन गरी सो क्षेत्रका चाकु व्यवसायी सङ्गठित भएका छन् । हरेक वर्ष चाकु तयार गर्न आवश्यक सखरसमेत समाजको नेतृत्वमा ल्याएर स्थानीय व्यवसायीबिच बाँडेर चाकुसँग सम्बन्धित परिकार बनाएर बेच्ने गरिएको समाजले जनाएको छ ।
सखरबाट बन्ने चाकुले प्राकृतिक रूपमै शरीरमा तताउने भएकाले सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई खुवाइन्छ । हाल दुध राखेर झोल चाकुका रूपमा बनाइएको चाकु जाडो महिनामा पनि नजम्ने गरी व्यवसायीले तयार गरेका छन् । चाकुको परिकार अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, जापान, क्यानडालगायत विशेष गरी नेपाली पुगेका मौसम चिसो रहने विभिन्न देशमा समेत कोसेलीका रूपमा पुग्ने गरेको छ ।