काठमाडौँ, वैशाख १६ गते । काठमाडौँ महानगरपालिका-२२ का मन्दिर, चैत्य, वहाः वही, सम्पदाहरू चित्रकलामा जीवन्त भएका छन् । सभ्यता नेपाः, महानगरको वडा २२ र स्याटर्डे प्लेन एयरसँगको सहकार्यमा आयोजित “स्थलगत चित्रकला कार्यशाला”मा सहभागी २५ जना कलाकारहरूले सम्पदालाई क्यानभाषमा उतार्नुभएको हो ।
महानगर-२२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले स्थलगत चित्रकला कार्यशालाको उदघाटन गर्दै वडा २२ मा रहेका सम्पदाहरूको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै चित्रकलामा उतार्न कलाकारको सहयोग लिएको बताउनुभयो । उहाँले वडा-२२ को पहिचान झल्काउने पुस्तिका(बुकलेट) मा समेत सो चित्रकलालाई स्थान दिइने बताउनुभयो ।
सभ्यता नेपाः का सदस्य अरविन्द्र सिंहले संस्थाको लक्ष्य अनुसार उपत्यकाको सम्पदा,सभ्यताहरूको अभिलेखीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ वडा २२ का सम्पदालाई कलाकारको सिर्जनामार्फत संवर्धन गर्न कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस कार्यशालामा सिर्जना भएका सबै चित्रकलालाई वैशाख २७ गते प्रदर्शन गरिने र वडा २२ का सम्पदास्थललाई क्युआर कोडबाट पनि पढ्न र सुन्न सक्ने व्यवस्था गर्ने योजनाबारे बताउनुभयो ।
स्याटर्डे प्लेन एयरका सचिव कलाकार दिवेश प्रधानले स्याटर्डे प्लेन एयरले पनि सम्पदास्थलमा पुगेर चित्रकला बनाउँदै आएकोमा सभ्यता नेपाःको सहयोगमा वडा २२ का सम्पदालाई चित्रकलामार्फत उजागर गर्न कलाकारहरू सहभागी भएको बताउनुभयो । कलाकारहरूले वडा २२ का महाङ्काल, सङ्कटा, न्युरोडगेटलगायतका मन्दिर सबै सम्पदाको चित्रकला बनाउनुभएको थियो ।