गोविन्द शर्मा
बाँके, चैत ३० गते । बाँकेको खजुरा गाउँपालिका–४ ई गाउँमा आइतबार राति सम्पन्न प्रथम अर्जुन रोका क्षेत्री स्मृति रात्रिकालीन क्रिकेट प्रतियोगिताको उपाधि भेरी रकर्स नेपालगन्जले जितेको छ।
आयोजक अर्जुन रोका स्मृति प्रतिष्ठानका अनुसार निर्धारित १० ओभरको खेलमा विपक्षी टोलीले ९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै दिएको ६० रनको लक्ष्य भेरी रकर्सले ६ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको हो।
प्रतियोगितामा भेरी रकर्सका रुपेश कुर्मी प्लेयर अफ द सिरिज घोषित हुनुभयो।
यसैगरी अर्जुन रोका स्मृति प्रतिष्ठानका वीरन्द्र गोरैया उत्कृष्ट बलर, गणेशपुर स्पोट्र्स क्लबका पियुस प्रजापति उत्कृष्ट ब्याट्सम्यान र न्यू दर्पण युवा स्पोट्र्स क्लबका प्रेम सुनार इमर्जिङ खेलाडी घोषित हुनुभयो।
विजेता भेरी रकर्सले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ। यसैगरी उपविजेता अर्जुन रोका स्मृति प्रतिष्ठानले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ।
न्यू दर्पण युवा स्पोट्र्स क्लब र अर्जुन रोका स्मृति प्रतिष्ठानको आयोजनामा चैत १९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १९ क्लबको सहभागिता रहेको थियो।
विजेता टोली तथा खेलाडीहरूलाई खजुरा गाउँपालिका–४ का वडा अध्यक्ष टेकबहादुर रोका, अर्जुन रोका प्रतिष्ठानका संरक्षक खिमा रोका, अध्यक्ष गोविन्द शर्मा, न्यू दर्पण युवा स्पोट्र्स क्लबका अध्यक्ष प्रकाश केसीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।