• ३० चैत २०८२, सोमबार

मानव मूत्रबाट मल उत्पादन गर्दै पोखरेल

blog

फोहोरलाई मोहोर बनाउने अभियानमा शिरेन्द्र पोखरेल प्रशिक्षण दिँदै। तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, चैत ३० गते ।
“फोहोरबाट आविष्कार” भन्ने अभियानमार्फत चितवनका शिरेन्द्र पोखरेलले मानव मूत्रको प्रयोग गरी प्राकृतिक मल उत्पादन गर्दै आउनुभएको छ।

काम नलाग्ने फोहोर मानिने मानव मूत्रबाट पनि राम्रो आम्दानी र कृषि उत्पादन सम्भव हुन्छ भन्ने सन्देश उहाँले विगत २२ वर्षदेखि दिँदै आउनुभएको हो। चितवनको इच्छाकामना गाउँपालिका–३ चुमलिङटार निवासी पोखरेलले मानव मूत्र संकलन गरी त्यसबाट झार, घाँस, कागजलगायत कुहिने सामग्री मिसाएर जैविक मल निर्माण गर्दै आउनुभएको छ।

सामुदायिक विद्यालयमा लामो समय अध्यापन गर्नुभएका पोखरेल अवकाशपछि यस कार्यमा पूर्ण रूपमा समर्पित हुनुहुन्छ। उहाँले भन्नुभयो, “सुरुमा आफैंले मूत्र सङ्कलन गरेर त्यसको प्रयोगबाट झार, घाँस, कागजलगायत कुहिने सामग्री मिसाई मल बनाएँ। त्यो मल तरकारी खेतीमा प्रयोग गरेँ। राम्रो उत्पादन भएपछि यसलाई अझ विस्तार गर्न थालेँ।”

उहाँका अनुसार तत्कालीन माओवादीको गोरखामा भएको भेलामा सङ्कलित मानव मूत्रबाट समेत मल निर्माण गरिएको थियो। पछि विस्तारै आफ्नै घरमा सङ्कलन गर्दै अरूलाई पनि सिकाउन थाल्नुभयो।

मानव मूत्रलाई मलका रूपमा मात्र होइन, प्लास्टिकका बोतल, झोला तथा गुट्खालगायत फोहोर सामग्री प्रयोग गरी किसानले प्रयोग गर्न मिल्ने डोरी निर्माणसमेत गर्दै आएको उहाँले बताउनुभयो। यस्ता डोरी प्रयोगमा ल्याउने र बिक्रीसमेत गर्न सकिने उहाँको भनाइ छ।

देशका विभिन्न विद्यालयमा प्रशिक्षण दिन बोलाउन थालेपछि आफूले सोचेअनुसार खेतीमा समय दिन नसकेको उहाँले बताउनुभयो। उहाँ हाल पूर्वदेखि पश्चिमसम्मका सयौँ विद्यालयमा पुगेर विद्यार्थीलाई तालिम दिँदै आउनुभएको छ।

उहाँले मानव मूत्रबाट तयार गरिएको मल प्रयोग गरी ड्रागन फ्रुट (सिउडी फल) खेतीसमेत गर्नुभएको छ। सुरुमा थोरै सङ्ख्यामा रोपिएका बोट राम्रो भएपछि हाल १५० बोट विस्तार गरिएको उहाँले बताउनुभयो।

तरकारी खेतीसँगै प्रशिक्षण यात्राका कारण खेतीलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “तरकारी खेती गर्दै गर्दा जिल्लाबाहिर तालिम दिन जानुपर्ने भएकाले समय दिन सकिनँ।”

पोखरेलले “फोहोरबाट आविष्कार” अभियानमार्फत विद्यार्थीलाई फोहोर व्यवस्थापन र पुनःप्रयोगका उपायहरू सिकाउँदै आउनुभएको छ। प्लास्टिक, टायर, टिनका बट्टा लगायत फोहोर सामग्रीबाट विभिन्न उपयोगी वस्तु निर्माण गर्ने अभ्यास पनि उहाँले गराउँदै आउनुभएको छ।

सानो प्लास्टिकका टुक्रा सङ्कलन गरी बोतलमा भरेर त्यसबाट बस्ने मुढासमेत निर्माण गर्ने गरेको उहाँले बताउनुभयो।

गाउँघरमै फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश बालबालिकामा फैलाउन सके त्यसको व्यवहारिक प्रयोग बढ्ने उहाँको विश्वास छ। कतिपय विद्यालयले उहाँका गतिविधिलाई प्रयोगात्मक परीक्षामा समेत समावेश गरी अंक दिने गरेको उहाँको भनाइ छ।

इच्छाकामना गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रममा फोहोर व्यवस्थापनसम्बन्धी विषयमा पोखरेलका अभ्यास समावेश गरेको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस्ता रचनात्मक कार्यलाई पालिकाले निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो।
पोखरेलले यस्ता विषयलाई राष्ट्रिय पाठ्यक्रममै समावेश गर्न सके फोहोर व्यवस्थापन मात्र होइन, आम्दानीको स्रोतसमेत बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।