• ४ जेठ २०८१, शुक्रबार

स्वदेशमा बन्दैनन् प्रहरीले लगाउने पोसाक र सामग्री

blog

काठमाडौं, भदौ ८ गते । नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक स्वदेशमा नबन्ने भएपछि सबै विदेशबाट ल्याउने गरिएको छ । केही सामान्य नेपालमा उत्पादित कपडा र केही सामग्री बाहेक सबै विदेशमा उत्पादित कपडाको पोसाक प्रयोग हुनेगरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ । स्वदेशमा सामग्री नबन्ने भएपछि बाध्य भएर आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रहरीले पोसाकका लागि टेन्डरको आव्हान गर्छ । उहाँले भन्नुभयो, “टेन्डर पाएको व्यक्तिले भनेअनुसारको कपडाको गुणस्तर लिएर आएपछि गुणस्तर जाँच गरेर ठीक लागेपछि मात्र कपडा वा सामान ल्याउने काम हुन्छ ।” त्यसरी आएको कपडा कुनै नेपालमै उत्पादित हुने कुनै विदेशी उत्पादन हुनेगरेको उहाँले बताउनुभयो । तर अहिले नेपालमा उत्पादित कपडा उपलब्ध नहुने भएपछि सबै बाहिरबाट ल्याउने गरिएको उहाँको भनाइ छ ।  

हामीले टेन्डर आव्हान गर्छौं, क्वालिटीको सामान चाहियो, भारत, चीन वा अन्य जुनसुकै देशबाट ल्याए पनि गुणस्तरीयताका आधारमा स्वीकार गर्छौं ।

प्रहरीलाई आवश्यक पर्ने कपडा नेपालमा नबन्ने भएकाले टेन्डरवालाले बाध्यभएर नेपाल बाहिरबाट ल्याउनुपर्ने प्रवक्ता राईको बुझाई छ । उहाँले भन्नुभयो, “हामीले टेन्डर आव्हान गर्छौं, क्वालिटीको सामान चाहियो, भारत, चीन वा अन्य जुनसुकै देशबाट ल्याए पनि गुणस्तरीयताका आधारमा स्वीकार गर्छौं ।” 

समयअनुसार नेपाल प्रहरीको पोसाक परिवर्तन हुँदैआएको छ । प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार–प्रसार इकाईमा पोसाक प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने उहाँको भनाइ छ । स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र मोनोग्राम प्रयोग गर्न पाइँदैन ।  

त्यस प्रकारको कुनै कार्य भए–गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्था रहेको प्रवक्ता राइले बताउनुभयो । प्रवक्ता राईका अनुसार प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएर मात्र पोसाक प्रयोग गर्न पाइन्छ । जानकारी नदिई प्रयोग गरेमा कानून बमोजिम कारबाही हुन्छ । “प्रहरी पोसाक दुरुपयोग गर्नु हुँदैन,” प्रवक्ता राईले भन्नुभयो, “प्रहरी पोसाकको दुरुपयोगले अपराधिक गतिविधिलगायत सुरक्षा जोखिम उच्च हुनसक्छ ।” 

“प्रहरी पोसाक दुरुपयोग गर्नु हुँदैन,” प्रवक्ता राईले भन्नुभयो, “प्रहरी पोसाकको दुरुपयोगले अपराधिक गतिविधिलगायत सुरक्षा जोखिम उच्च हुनसक्छ ।” 

सीमित स्रोत र साधनबीच सरकारले प्रहरीलाई पोसाक वितरण गर्छ । अर्थमन्त्रालयले छुट्याएको बजेटअनुसार प्रहरीले पाएको पोसाकको मापडण्डभित्र रहेर प्रयोग गर्नुपर्ने नियम छ । सरकारले दिएको पोसाक कतिपय अवस्थामा अपुग हुने प्रवक्ता राईको भनाइ छ । अपुग पोसाक प्रहरी कर्मचारीले आफ्नै व्यक्तिगत खर्चमा किन्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।  

गर्मी मौसमका पोसाक

सरकारले प्रहरी कर्मचारीलाई गर्मी मौसमको निलो टेरीकटन कमिज एक वर्षका लागि दुई वटा, निलो टेरीकटन पाईन्ट एक वर्षमा दुई वटा, क्यामो फ्लाईज वा सादा चुस्ता सेट वर्षमा एक जोर, व्यारेज क्याम्प दुई वर्षमा एक जोर, सिटी एक वटा १० वर्षका लागि, सिठ्ठी कार्ड एक वटा तीन वर्षका लागि, वेभ वेल्ट एक वटा चार वर्षका लागि, पी.टी.गञ्जी एक वर्षमा दुई जोर, पी.टी. जुत्ता दुई वर्षमा एक जोर, डी.एम.एस.बुट एक जोर तीन वर्षका लागि, प्रहरी कुम व्याज एक जोर १० वर्षका लागि प्रदान गर्छ ।

त्यस्तै, टोपी व्याज एक थान १० वर्षका लागि, ऊनी होष्टाप एक जोर दुई वर्षका लागि, स्लिपिङ्ग व्याग एक थान पाँच वर्षका लागि, म्याट्रेश एक थान पाँच वर्षका लागि, ऊनी कम्बल दुई थान तीन वर्षका लागि, कालो छालाको पेटी एक थान १० वर्षका लागि, पानी वर्षादी एक थान पाँच वर्षका लागि, नाईनल झुल एक थान चार वर्ष, रुकस्याक झोला (ठूलो झोला) एक थान १० वर्ष, कटन मोजा एक वर्षका लागि एक जोर, ग्राउड सिट एक थान तीन वर्षका लागि, नाइनल डोरी १० मिटर पाँच वर्षका लागि, खुकुरी एक थान १० वर्षका लागि, फरेश क्याप (अधिकृतलाई मात्र) एक थान १० वर्षका लागि, टप बुट (सिनियर अधिकृतलाई मात्र) एक जोर दुई वर्षका लागि दिइने गरिएको छ । 

जाडो मौसमका पोसाक 

सरकारले प्रहरी कर्मचारीलाई जाडो मौसममा दिने पोसाकमा ऊनी कमिज दुई वटा तीन वर्षका लागि, ऊनी पाईन्ट एक वटा तीन वर्षका लागि, ऊनीकोट वा पार्का ज्याकेट एक वटा चार वर्षका लागि, क्याम्प कम्फोर्ट एक वटा चार वर्ष, ऊनी वाल क्याप एक वटा दुई वर्ष, उनी मोजा एक जोर एक वर्ष, ऊनी जर्सी एक वटा तीन वर्ष, ऊनी पन्जा एक जोर दुई वर्ष, ऊनी अण्डरवेयर दई सेट दुई वर्ष, ऊनी गन्जी (हाईनेक) दुई वटा दुई वर्षका लागि दिने गरिएको छ । 

ट्राफिक प्रहरीको पोसाक

सरकारले ट्राफिक प्रहरीलाई दिने पोशाकमा कटन पी क्याप एक वटा दुई वर्षका लागि, गाढा नीलो पोलिस्टर टाई एक वटा दुई वर्ष, सेतो पन्जा दुई जोर एक वर्षका लागि, ट्राफिक ज्याकेट (जाडो मौसमको लागि) एक वटा चार वर्षका लागि, पहेँलो रेनसुट एक वटा दुई वर्षका लागि, फ्लोरोसेन्ट ज्याकेट एक वटा दुई वर्षका लागि, प्रहरी व्याटन एक वटा पाँच वर्षका लागि, व्याटन होल्डर एक वटा दुई वर्ष, नोटबुक होल्डर एक वटा दुई वर्षका लागि, रिभल्वर पोज एक वटा पाँच वर्ष (अधिकृतको लागि मात्र), गोली पोज एक वटा पाँच वर्ष, (अधिकृतहरुका लागि मात्र) रहेको छ । 

प्राविधिक प्रहरीका पोसाक

सरकारले प्राविधिक महिला प्रहरी कर्मचारीलाई दिइने पोसाकमा कमिज, पाइन्ट र जर्सीको सट्टा नीलो कटन धोती दुई थान एक वर्ष, नीलो कटन पेटिकोट दुई थान एक वर्ष, निलो कार्डिन एक थान तीन वर्ष, निलो रुवी ब्लाउज एक थान दुई वर्षका लागि दिनेगरेको छ । 

यस्तै, युनिट इक्युपमेन्टको रुपमा रहनेगरी पोसाक पनि दिनेगरेको छ । सबै स्वास्थ्य प्राविधिकलाई सेतो टेरिकटन एप्रोन एक थान दुई वर्ष, हेड कुक (प्रहरी कार्यालय सहयोगी) सेतो टेरिकटन कोट एक थान एक वर्ष, सबै कुक (प्रहरी कार्यालय सहयोगी) सेतो क्याप, एप्रोन, पन्जा दुई थान एक वर्ष, स्वीपर पथ्य (प्रहरी कार्यालय सहयोगी) निलो हवाई चप्पल एक जोर एक वर्ष, स्वीपर (प्रहरी कार्यालय सहयोगी) प्लाष्टिक पञ्जा दुई जोर एक वर्षको लागि दिइन्छ । 

प्रहरी उपचारिका (नर्स) लाई कार्यालय पोसाक (वर्किङ्ग ड्रेस) को सट्टामा क्याप एक थान एक वर्ष, गरम मौसमको सेतो टेरिकटन सर्ट दुई थान एक वर्ष, जाडो मौसमको निलो ऊनी स्कर्ट दुई थान एक वर्ष, समिज दुई थान एक वर्ष, नीलो ऊनी स्वीटर एक थान दुई वर्ष, नीलो स्कटीङ्ग एक थान दुई वर्ष, निलो नाइलन स्कटीङ्ग एक थान दुई वर्ष, लेडिज कालो जुत्ता दुई थान दुई वर्ष, कपडाको नर्स बेल्ट (सेतो, रातो, हरियो) दुई थान दुई वर्ष, नर्स वेल्टको वकल एक थान चार वर्षका लागि दिने गरिएको छ । 

कार्यालय सहयोगीका लागि पोसाक

सरकारले प्रहरी कार्यालय सहयोगीका लागि दिइने सामान तथा पोसाकमा डांग्री दुई जोर एक वर्ष, पिटी गन्जी दुई थान एक वर्ष, निलो कट्टु दुई थान एक वर्ष, पिटी जुत्ता एक जोर एक वर्ष, ऊनी मोजा एक जोर एक वर्ष, ऊनी जर्सी एक थान दुई वर्ष, ग्राउण्ड सिट एक थान तीन वर्ष, नाईनल झुल एक थान दुई वर्ष, ऊनी कम्बल एक थान एक वर्ष, पानी वर्षादी एक थान दुई वर्ष, थाल, मग, कचौरा एक सेट दुई वर्ष, ऊनी अण्डरवेयर दुई सेट दुई वर्ष, बाकस (टीन) एक थान पाँच वर्ष, एप्रोन दुई थान एक वर्ष, निलो पार्का ज्याकेट एक थान चार वर्ष, क्यामो वा सादा चुस्ता सेट (एफपियु मिसनमा खटिदा) एक जोर एक वर्ष, डी.एम.एस.बुट.(यू.एन.मिसनमा जानेलाई मात्र) एक जोर दुई वर्षका लागि दिइनेगरेको छ । 

चेकपोष्ट युनिटलाई दिइने पोसाक

सरकारले सशस्त्र प्रहरी, सुरक्षा प्रहरी तथा प्रहरी चेकपोष्टका युनिटलाई दिइने सामान र पोसाकमा हेलमेट एक वटा दश वर्षका लागि, इस्टुमेण्ट टुल बक्स एक थान पाँच वर्ष, बैव इक्युप्मेण्ट सेट एक थान चार वर्ष, जङ्गल हैट एक वटा तीन वर्ष, मेस टिन एक वटा तीन वर्ष, क्याम्पकट (खाट) एक वटा तीन वर्ष, क्यारियरसहितको पानी तुम्प्लेट एक वटा चार वर्ष, हत्कडी छ जोर १० वर्ष, प्राथमिक उपचार बक्स एक वटा दुई वर्ष, किट बक्स एक थान तीन वर्ष, दुर्विन एक थान १० वर्ष, क्यामेरा एक थान १० वर्षका लागि र फिल्महरु आवश्यक संख्याअनुसार एक वर्षका लागि, प्रिजनैटिक आयल कम्पास दुई थान १० वर्ष, सम्बन्धित इलाकाको म्याप तीन सेट दुई वर्ष, म्याप केस दुई सेट दुई वर्ष, सर्भिस प्रोटेक्टर दुई वटा दुई वर्ष, भेरीलाईट पेस्टोल एक वटा १५ वर्ष, टोटाहरु आवश्यकताअनुसार, पाल आवश्यकताअनुसार, हिमाली ज्याकेट एक थान दुई वर्ष, फ्लोरोसेन्ट ज्याकेट (ट्राफिक बाहेक) एक थान दुई वर्ष, स्पेशल वेभ बेल्ट एक सेट पाँच वर्षका लागि दिइने गरिएको छ । 

अपुग सामान आफैले किन्नुपर्ने 

सरकारले दिएको सामान अपुग रहेको प्रहरी प्रवक्ता टेकप्रसाद राईको भनाइ छ । उहाँका अनुसार स–साना सामान धेरै चाहिने हुन्छ । तर सरकारको बजेटअनुसार सामान वितरण गर्नुपर्ने हुँदा जतिबेला चाहियो त्यतिबेला पाउन सकिदैन । त्यसका लागि अपुग सामान आफैले किन्नुपर्ने हुन्छ । “त्यो किन्दा सरकारले पैसा दिँदैन आफ्नै खल्टीबाट किन्नुपर्ने हुन्छ,” प्रवक्ता राईले भन्नुभयो । 

काठमाडौंको रानीपोखरीमा रहेको सगरमाथा क्याम्प सप्लायर्सले प्रहरीको प्रयोग हुने सामान बेच्दैआएको छ । सप्लायर्सका सञ्चालक उदयराज दाहालका अनुसार प्रहरीले प्रयोग गर्ने लाठी, खुकुरीदेखि नियमले बेच्न मिल्ने, प्रहरीले प्रयोग गर्ने सबै सामान पाइन्छ । “प्रमुख सप्लायर्स भक्तपुरमा छ । यो शाखा हो, हामीसँग प्रहरीको सामान मात्रै बेच्ने चार वटा शाखा छ, प्रहरी कर्मचारीलाई चाहिने लगभग सबै सामान हाम्रो पसलमा पाइन्छ,” सञ्चालक दाहालले भन्नुभयो । 

दाहालका अनुसार क्यामो फ्लाईज वा सादा चुस्ता सेटको मूल्य एक हजार ७०० रुपियाँ नेपाली बजारमा रहेको छ । व्यारेट क्याप २००, सिठ्ठी २० रुपियाँ, सिठ्ठी कार्ड ६०, वेभ वेल्ट ५००, डी.एम.एस.बुट एक हजार ५००, प्रहरी कुम व्याज २० रुपियाँ, टोपी व्याज १००, ऊनी होष्टाप १००, कटन मोजा ५० रुपियाँ, खुकुरी ६००, फरेश क्याप ७००, ऊनी वाल क्याप १५०, ऊनी मोजा १५०, ऊनी जर्सी ८००, ऊनी पन्जा २००, कटन पी क्याप १००, सेतो पन्जा १००, प्रहरी व्याटन १००, नोटबुक होल्डर २५ रुपियाँलगायतको सामान पसलमा उपलब्ध रहेको उहाँले बताउनुभयो । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।