• ७ मंसिर २०८१, शुक्रबार

लामो समय भण्डारण गरेको दूध बच्चालाई कति सुरक्षित

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना

blog

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शुक्रबार भएको ६३औँ वार्षिकोत्सव कार्यक्रमका ५८औँ शिशु प्रदर्शनीमा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । सोही अवसरमा राष्ट्रपति भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको छ ।

काठमाडौं, भदौ ३ गते । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको हो। 

अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले मिल्क बैंकबाट समयअघि नै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई अरु आमाको दूध उपलब्ध गराउने बताउनुभयो। उक्त दूध छ महिनासम्म खुवाउन मिल्ने उहाँको भनाइ छ। 

बाल रोग विशेषज्ञ डा. कल्पना सुवेदीका अनुसार लामो समयसम्म भण्डारण गरिएको दूध बच्चालाई सुरक्षित हुन्छ। आमाको दूधले शिशुको मष्तिष्कको विकासलाई बलियो बनाउने मात्र होइन बच्चा र आमालाई  जीवनभर फाइदा गर्छ। 

पूर्ण स्तनपानले पाँच वर्ष कम उमेरको मृत्युलाई १३ प्रतिशतले कम गर्ने अध्ययनले देखाएको छ। जन्मेको पहिलो एक घण्टाभित्र गराइने स्तानपानसँगै पूर्ण स्तनपानले विश्वभरका नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउछ।  आमाको दूध प्रर्याप्त नहुँदा नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर, बट्टाको दूध खुवाउँदा  शिशुमा संङ्क्रमण र आन्द्रा सम्बन्धी रोगको उच्च जोखिम हुने चिकित्सकको भनाइ छ। दूधबाट बन्चित शिशुलाई अरु आमाले दान दिएको दूध खुवाउन सके बट्टाको दूधको नकारात्मक असरबाट जोगाउन सकिन्छ। 

नेपालमा समय नपुग्दै ८१ हजार शिशुको जन्म हुन्छ

हरेक वर्ष विश्वभर करिब एक करोड ५० लाख शिशु समय नपुग्दै जन्मिन्छन्। अध्ययनका अनुसार नेपालमा करिब ८१  हजार शिशु समय नपुगी जन्मिन्छन्। शिशु आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन्। समय नपुगी जन्मिएका र कम तौल भएका शिशु बढी जोखिममा हुन्छन्। 

सन् २०१९ मा भएको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा नवजात शिशु मृत्युदर एक हजारमा १६ जना रहेको छ। त्यस्तै एक वर्ष कम उमेरका एक हजार शिशुको मृत्यु २५ रहेको छ। अध्ययनका अनुसार पाँच  वर्ष मुनिका बालबालिकाको  मृत्युदर एक हजारमा २८ रहेको छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल आमाको दूध पोषणको उत्तम स्रोत भएकोले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वास्थ्य विकासमा मद्दत पुर्‍याउने बताउनुहुन्छ। उक्त बैंकले आमाको दूधबाट बन्चित शिशुलाई संक्रमण र कुपोषणबाट जोगाउने विश्वास लिइएको छ। यसले शिशुको मृत्यु दरलाई कम गर्ने डा. लालको भनाइ छ। 

के हो ह्युमन मिल्क बैंक 

अस्पतालकी बालरोग विशेषज्ञ डा. सुवेदीका अनुसार धेरै दूध आउने आमाले बच्चाले खाएर बाँकी रहेको दूध संकलन गरेर लामो समयसम्म सुरक्षित भण्डारण गरेर राख्ने ठाउँलाई  ह्युमन मिल्क बैंक भनिन्छ।  उहाँले भन्नुभयो, “आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दूध अरु बच्चालाई दान गरेको दूध स्टोर भण्डारण गरेर राख्ने ठाउँलाई ह्युमन मिल्क बैंक भनिन्छ। दूध लामो समयसम्म राखेर आवश्यक परेको बेलामा खुवाउन मिल्छ।” दूध सुरक्षित हुने हुँदा बच्चालाई छ महिनासम्म खुवाउन सकिने सुवेदी बताउनुहुन्छ।  

‘ह्युमन मिल्क बैंक’ स्थापन 

विभिन्न कारणले आमाको दूधबाट बन्चित बच्चाका लागि यसरी भण्डारण गरिएको दूध खुवाउन सकिन्छ। यसरी भण्डारण गरिएको दूध अस्पतालमा जन्मिएर विभिन्न कारण दूध खान नपाएका बच्चाका लागि मात्र उपलब्ध हुनेछ। शल्यक्रिया गरेर जन्मिएका र बिरामीमध्ये ४० प्रतिशतल बच्चालाई दूध आवश्यक पर्ने भएकोले उक्त बैंक बच्चाका लागि लाभदायी हुने विश्वास निर्देशक डा. श्रेष्ठको छ। त्यसका अतिरिक्त पछिल्लो समय बट्टाको दूधको बढ्दो प्रयोगलाई यसले घटाउने छ। यो बैंकको स्थापना भएपछि बट्टाको दूधको प्रयोग घट्ने चिकित्सक बताउछन्। अस्पतालबाट मासिक एक हजार जना बच्चाले ‘ह्युमन मिल्क बैंक’ बाट प्रत्यक्ष लाभ दिने अनुमान गरिएको छ।

डा. सुवेदीका अनुसार आमाको दूध शिशुका लागि पहिलो खोप हो। उक्त दूधमा रोगप्रतिरोधात्मक क्षमता हुन्छ। आमाको दूध खाने बच्चालाई रोगबाट जोगाउन मद्दत गर्दछ। चिकित्सकका अनुसार आमाको दूधमा पाइने तत्त्व बजारमा पाइने बट्टाको दूधमा पाइदैन। 

मिल्क बैंक जन्मदै दूध चुस्न नसक्ने, जन्मनासाथ आमाको मृत्यु भएमा, जन्मनासाथ विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएर एनआईसीयूमा राखिए्का र शल्यक्रियामर्फत् जन्मिएका बच्चाले उक्त बैंकबाट लाभ लिनसक्ने चिकित्सक बताउछन्। यसका अलाव उमेर नपुगी जन्मिने बच्चामा दूध तान्न सक्ने शक्ति हुँदैन र धेरै बिरामी बच्चा छ भने उसले दूध खान सक्दैन।

दूध कसरी भण्डारण गर्ने ?

दूध दान गर्ने आमाले एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट(भीडीआरएल) र हेपटाइटिस ‘बी’ सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) जस्ता परीक्षण गर्नुपर्ने डा. सुवेदी बताउनुहुन्छ। 

परीक्षण गर्दा स्वस्थ्य आमाबाट ‘ब्रेस्ट मिल्क पम्प’को माध्यमले आमाको दूध संकलन गरिन्छ। दूध संकलन गर्दा सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सक बताउछन्। संकलन गरिएको दूधमा रोग भए नभएको परीक्षणपछि ‘पास्चराइजेसन’ एक सय मिलिलिटरको बोतलमा राखिन्छ। त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशु आवश्यक अनुसार खुवाइन्छ।

बोटलमा निकालेको दूध सामान्य तापक्रममा चारदेखि ६ घण्टासम्म बच्चालाई खुवाउन सकिने चिकित्सक बताउँछन्। दूध खान नसक्ने बच्चाका लागि संकलन गरेको दूधलाई फ्रिजमा चारदेखि आठ डिग्री सेल्सियससम्म राखिने डा. सुवेदी बताउनुहुन्छ। यसरी संकलन गरेको दूध २४ घण्टामा दिइसक्नुपर्छ। 

२४ घण्टाभन्दा बढी राख्नु परेमा माइनस २० डिग्री तापक्रममा डिप फ्रिजमा राख्दा दूधमा भएको तत्त्व खेर जाँदैन।

भण्डारणका लागि तयार गरिएको दूधलाई किटाणुरहित बनाएर २० डिग्री तापक्रममा राखिएको भए ६ महिनासम्म खुवाउन मिल्छ। तर, खुवाउनुभन्दा २४ घण्टा अगाडि चार देखि आठ डिग्रीको तापक्रममा राख्नुपर्ने चिकित्सकको भनाइ छ।


 ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रत्न श्रेष्ठ/रासस  

याे पनि पढ्नुहाेस्

अमृत कोषको स्थापना शिशु स्वास्थ्य सेवामा ऐतिहासिक थालनी

 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।