• ६ साउन २०८१, आइतबार

अमृत कोषको स्थापना शिशु स्वास्थ्य सेवामा ऐतिहासिक थालनी

blog

तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको स्थापना गरिनु मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभएको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीको ६३ औं वार्षिकोत्सव तथा स्तनपान व्यवस्थापन केन्द्रको शुक्रबार यहाँ उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रपति भण्डारीले समाजमा आमाको दुध दान गर्नु पुरानो अभ्यास भए पनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी शिशुहरुलाई वितरण गरिनु अझ महत्वपूर्ण सेवा भएको बताउनुभयो । “अमृत कोषको स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्नुका साथै स्तनपानको महत्वबारे जनचेतना जगाउन समेत सहयोग पुग्ने मैले विश्वास लिएको छु” उहाँले भन्नुभयो ।

अमृत कोषको स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्नुका साथै स्तनपानको महत्वबारे जनचेतना जगाउन समेत सहयोग पुग्ने मैले विश्वास लिएको छु ।


अस्पतालले प्रदान गर्दैआएको विशिष्टकृत स्वास्थ्य सेवा, विशेषगरी प्रसुतिसम्बन्धी सेवालाई मुलुकको विभिन्न ठाउँमा पु¥याउन गरेको पहल प्रसंशनीय रहेको राष्ट्रपति भण्डारीले चर्चा गर्नुभयो । “अस्पताललाई प्रविधिमैत्री बनाउँदै विज्ञानले उपलब्ध गराएका अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अस्पताल व्यवस्थापन सक्रिय रहेको मैले महशुस गरेको छु” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामु चुनौती भएको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्प्तालको अनुभव, कार्यक्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ ।”


करिब ६ दशकअघि ४० शैयाबाट शुरु भएको परोपकार प्रसुति तथा स्त्री रोग अस्प्तालले हाल ४९० शैयाबाट सेवा प्रदान गर्दैआएको थाहा पाउँदा खुशी लागेको राष्ट्रपति भण्डारीले बताउनुभयो । अस्पतालको थप सफलताको उहाँले शुभकामना व्यक्त गर्नुभयो । 

वार्षिकोत्सवको अवसरमा पुरस्कृत एवम् सम्मानित हुने सबै व्यक्तित्वहरुमा राष्ट्रपति भण्डारीले बधाई ज्ञापन गर्नुभयो । त्यस्तै, आजकै दिन अस्पतालमा जन्मनुभएका शिशु तथा आमाहरुलाई पनि उहाँले बधाई ज्ञापन गर्नुभयो ।