गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यका विकास प्राधिकरण र गोरखापत्र संस्थानबिच सूचना आदान–प्रदान तथा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ उपत्यकाको व्यवस्थित विकासका लागि स्थापना भएको प्राधिकरण र १२५ वर्षको गौरवमय इतिहास बोकेको गोरखापत्रबिचको यो सहकार्यले आगामी दिनमा दुवै संस्थाको संस्थागत हित प्रवर्धनमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ ।
समझदारीपत्रमा गोरखापत्र संस्थानको तर्फबाट कार्यकारी अध्यक्ष गोविन्दप्रसाद भण्डारी र व्यापार विभाग प्रमुख गङ्गबहादुर पन्थीले हस्ताक्षर गर्नुभयो भने प्राधिकरणको तर्फबाट विकास आयुक्त जानुका ढकाल र जिल्ला आयुक्त सुनिता श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
उक्त कार्यक्रममा गोरखापत्रका व्यापार प्रवर्धन शाखा प्रमुख दीपक पौडेल, अधिकृत विष्णु खनाल तथा प्राधिकरणका जलवायु अनुकूलन विज्ञ दुर्गाप्रसाद उपाध्यायको समेत सहभागिता थियो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकालाई नेपालको प्रमुख प्रशासनिक, पर्यटकीय, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा विकास गर्ने मुख्य उद्देश्य राखेको छ ।
उपत्यका भित्रका साविकका सहरहरूको विस्तार, नयाँ नगरहरूको स्थापना र भू–उपयोग योजनाको कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको प्राधिकरणले पछिल्लो समय जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

विशेष गरी सन् २०२१ देखि प्राधिकरणले उपत्यकाभित्र जलवायु उत्थानशील विकासका लागि 'अर्बन इकोसिस्टम बेस्ड एडाप्टेसन' आयोजना कार्यान्वयन गरिरहेको छ । यस आयोजनाले काठमाडौँ र ललितपुर महानगरपालिकासहित ६ वटा नगरपालिकामा जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो र खडेरीजस्ता समस्या न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
गोरखापत्रसँगको यो नयाँ सहकार्यले प्राधिकरणका यस्ता योजना र विकास निर्माणका कामलाई नागरिकसम्म प्रभावकारीरूपमा पुर्याउन थप बल पुग्ने अपेक्षा गरिएको छ ।