• १४ वैशाख २०८१, शुक्रबार

उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

‘अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने’

blog

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी र सरुवा रोग विशेषज्ञ डा. जनक कोइराला । फाइल तस्बिर

काठमाडौं, साउन २४ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले अब दुई हप्तामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने र त्यसपछि विस्तारै घट्दै जाने अनुमान गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “समुदायमा जनस्वास्थ्यका मापदण्डको पालना घट्दो क्रममा रहेकाले पनि सङ्क्रमणदर बढ्दै गएको छ। जनस्वास्थ्यका मापदण्ड नअपनाउने हो भने अबको दुई हप्तामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने र घट्दै जाने अनुमान गरेका छौँ।”

अन्य ठाउँमा बढ्न सक्छ

सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाले नजिकिँदो चाडपर्वमा उपत्यकाबाहेक अन्य जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने बताउनुभयो। पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश काठमाडौं उपत्यका भित्र थपिएका छन्।

डा. कोइरालाले चाडपर्वमा एक जिल्लाबाट अर्को जिल्लामा आउने/जाने क्रम बढ्ने हुँदा सङ्क्रमण दर अन्य जिल्लामा पनि बढ्न सक्ने उच्च सम्भावना रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “चाडपर्व र सरकारले घोषणा गरेको चुनावको प्रचार/प्रसारमा एक जिल्लाबाट अर्को जिल्लामा आउने/जाने क्रम बढ्ने र भीडभाड जम्मा हुने हुँदा सङ्क्रमणदर अन्य जिल्लामा पनि बढ्न सक्ने उच्च सम्भावना छ।”

चाडपर्व र चुनावको प्रचार प्रसार गर्दा सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, एकै ठाउँमा भेला हुँदा मास्कको प्रयोग गर्न चिकित्सकको सुझाव छ।


खोप नलगाउने उच्च जोखिममा

सङ्क्रमणको अवस्था हाल मध्यम भए पनि अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्ने भएकाले खोप नलगाएका, दीर्घ रोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति बढी शर्तक हुन आवश्यक रहेको डा. कोइराला बताउनुहुन्छ।

खोप लगाएका तुलनामा नलगाएका मानिसमा सङ्क्रमण र मृत्यु हुने दर १० प्रतिशतले बढी हुने अध्ययनले देखाएको छ। बुस्टर मात्रा खोप लगाउनेलाई गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ।

नेपालमा हालसम्म कुल जनसङ्ख्याले ७४.६ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण खोप लगाएका छन्। तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ३० प्रतिशतले अझै पनि कोरोना पूर्ण खोप लगाउन बाँकी छ। मन्त्रालयका अनुसार, नेपालमा २५ प्रतिशतले मात्र बुस्टर खोप लगाएका छन् भने ७५ प्रतिशतले कोभिड १९ को बुस्टर डोज लगाएका छैनन्।

खोप लगाएकामा सङ्क्रमण भए पनि जटिलता र मृत्युदर कम छ। त्यसैले, सरकारले खोप लगाउन छुटेका र पूर्ण खोप लगाएको तीन महिना पूरा भएका १२ वर्षमाथिका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ।

बढ्दै सङ्क्रमण दर

पछिल्लो समय कोरोना सङ्क्रमण दर बढ्दै गएको छ। असार १ गते एक प्रतिशतभन्दा कम भएको सङ्क्रमण दर साउन २४ गतेसम्म बढेर १७.३ प्रतिशतमा पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. अधिकारीले मङ्गलबार छ हजार तीन सय जनामा कोरोना परीक्षण गर्दा एक हजार ९० अर्थात् परीक्षण गरिएकामध्ये १७.३ प्रतिशतमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो।

सङ्क्रमण दर बढेसँगै सक्रिय सङ्क्रमणदर बढ्दो क्रममा छ। मङ्गलबार एक हजार ९० जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८०६ पुगेको छ।

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। उपत्यकामा तीन हजार ९६८ सक्रिय सङ्क्रमित छन्। नेपालमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर मात्रै हुन्। मोरङमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्। त्यसैगरी, शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला हुन्।

सक्रिय सङ्क्रमितमध्ये पाँच हजार ५९३ जना घरमै उपचारमा छन् भने २१३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। जसमध्ये ६१ जना सघन उपचारकक्ष (आईसीयू) मा र सातजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मृत्यु दर बढ्दै

वैशाख १ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर साउनदेखि पुनः उकालो लागेको छ। साउन यता कोरोना सङ्क्रमणका कारण दैनिक एक या दुई जनाको मुत्यु हुनेक्रम जारी छ। साउन १ गतेदेखि हालसम्म २२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्।

साउन १९ गतेसम्म मृत्यु भएकाको तथ्याङ्कलाई मन्त्रालयले अध्ययन गरेको थियो, जसमा ७६ प्रतिशत अर्थात् मृत्यु भएका १७ जनामध्ये खोप लगाएकाको सङ्ख्या चार मात्र थियो। बाँकी १३ जनाले खोप लगाएका थिएनन्। मृतक १७ मध्ये १२ जनामा एक वा एकभन्दा बढी दीर्घ रोगको सामना गरिरहेका थिए।

नेपालमा हालसम्म ११ हजार ९७४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। सो उमेर समूहका दुई हजार ५०८, ७०-७९ वर्षका दुई हजार ३९१, ५०-५९ का दुई हजार ३०४, ४०-४९ का एक हजार ६६५, ८० वर्ष माथिका एक हजार ६३९, ३०-३९ वर्षका ९६५, २०-२९ वर्षका ३८१, १०-१९ वर्षका ५७, ९ वर्ष मुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

परीक्षणको दायरा बढाउन आग्रह

सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहे पनि परीक्षणको दर भने बढ्न नसकेको चिकित्सक बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. कोइरालाले पछिल्लो समय सङ्क्रमणदर बढ्दै गए पनि परीक्षण दर बढ्न नसकेको गुनासो गर्नुभयो।  

उहाँ भन्नुहुन्छ, “अझै अपेक्षा अनुसार परीक्षणको दायरा बढ्न सकेको छैन। कोरोना सङ्क्रमण बढिरहे पनि अझ उच्च बिन्दुमा पुगेको छैन। अझै केही हप्ता सङ्क्रमण दर बढन सक्छ। सरकारले कन्ट्याक टेसिङ्मा परेकाको परीक्षण गरेको छैन। त्यसैले परीक्षणको दायर बढाउनु पर्छ।”

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।