• १२ वैशाख २०८१, बुधबार

विपन्न वर्गका भोगाइ नाटक ‘दुई कथा’

blog

काठमाडौँ, साउन २० गते ।  ‘लक्ष्मीपूजा’को कथा गोविन्दबहादुर मल्ल गोठाले (१९७९–२०६७) द्वारा लेखिएको बालमनोविज्ञान कथामा आधारित नाटक हो । निम्न तथा कमजोर वर्गको मानिसलाई हरेक चाडपर्व बोझिलो बनेर आउने गर्दछ । चाडपर्वले गरिबलाई थप आर्थिक सङ्कटतिर धेकलिरहेको कुरा हामीले देखी नै रहेका हुन्छौँ । 

यस्तै सामाजिक सांस्कृतिक बाध्यताले बालमानसिकतामा नकारात्मक असर पारेको छ । सामाजिक मूल्य मान्यता, चाडपर्वका कुराहरूले गरिब तथा बिपन्नलाई चोरी जस्ता नराम्रा कार्यमा लाग्न विवश बनाउँछ । सबैलाई थाहा भएको कुरा हो चाडपर्वले हर्ष उल्लास तथा रमाइलोभन्दा पनि दुःख र कष्ट बढाउने काम गर्छ । 

चाडपर्वले गरिब धनी केही भन्दैन । यिनै कुराहरूको सम्मिश्रण हो नाटक ‘लक्ष्मीपूजा’ कथा । नेपाली समाजमा रहेका कमजोर तथा विपन्न वर्गका मानिसको दयनीय जीवन भोगाइको कथा हो, नाटक । लक्ष्मीपूजाको सांस्कृतिक महत्त्व, आर्थिक अवस्था बालविधिअनुसार पूजा तथा यसले बालमनोविज्ञानमा पार्ने प्रभावको विश्लेषण नाटकमा गरिएको छ । 

यस्तै ‘भविष्य निर्माण’ देवकुमारी थापा (१९८५–२०६८) द्वारा लेखिएको बालमनोविज्ञान कथा हो । कथामा आफ्नो सन्तानलाई राम्रो भविष्य दिनका लागि अभिभावक कस्तो भूमिकामा प्रस्तुत हुनुपर्छ भन्ने कुरालाई आधारित बनाइएको छ । यसका साथै बालबालिकाको मानसिकतामा स–साना कुराले कस्तो असर गर्दछ र कसरी उनीहरूलाई उज्ज्वल भविष्यका लागि प्रेरणा दिएर सचेत तुल्याउन सकिन्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको छ । 

बालबालिकामा बाहिरको वातावरण र साथी सङ्गतले के कस्तो असर पार्छ र त्यसलाई कसरी राम्रो बाटोतर्फ डो¥याउन सकिन्छ भन्ने कुरालाई पनि नाटकमा प्रस्तुत गरिएको छ । एउटा कुमालेले काँचो माटोलाई एउटा सुन्दर भाँडोमा जसरी आकार दिन्छ त्यसैगरी अभिभावकहरूले पनि आफ्नो सन्तानको सुन्दर भविष्यका लागि के कस्ता कुराहरू अपनाउनुपर्छ भन्ने कुरा यस कथाको प्रमुख विषय हो । 

कक्षा नौ र दशको अनिवार्य नेपाली विषयमा समावेश ‘भविष्य निर्माण’ र ‘लक्ष्मी पूजा’को कथामा आधारित नाटक हो ‘दुई कथा’ । दुई कथालाई नाट्य रूपान्तरण गरी दुई कथा शीर्षकको नाटक तयार पारिएको बताउनुहुन्छ नाटकका निर्देशक अञ्जु दाहाल । 

विद्यालय विशेष भनिएको नाटकको परिकल्पना तथा निर्देशन दाहालले गर्नुभएको छ । पोखरा थिएटरको प्रस्तुति रहेको नाटक साउनको अन्तिम साताबाट मञ्चन हुँदै छ । सोनिया कार्की खत्री, सुल बराल, दिप्सना विश्वकर्मा, कमल तामाङ, गोपाल भुसाल, रञ्जु दाहाल, अनुशा परियार, उत्सर्ग सुवेदी, लवसन खत्री, निकेश पराजुली, रिजन केसी, प्रयास गुरुङलगायतको नाटकमा अभिनय रहेको छ ।