• १३ वैशाख २०८१, बिहिबार

छ वर्षदेखि कामविहीन नापी कार्यालय

blog

विजयकुमार साह 

ढल्केबर, साउन २० गते । धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन। पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ तर उहाँहरू कामबिना दिनभर कार्यालयमा बस्नुहुन्छ। 

१० बजे नै कार्यालयमा उपस्थित भएका कर्मचारी हाजिरी रजिस्टरमा सही छाप गरेर दिनभर गफिएर समय बिताउनुहुन्छ। सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापना कालदेखि नै सुनसान छ, यहाँको यो नापी कार्यालय। नापी कार्यालय जनकपुरधाम धनुषाले आवश्यक कागजात तथा सामग्री बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केबरका १५ जना कर्मचारी लगभग छ वर्षदेखि कामविहीन बन्नुभएको छ। 

२०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार २०७३ माघमा ढल्केबरमा नापी कार्यालय स्थापना गरियो तर स्थापनाको पाँच वर्ष छ महिना बितिसक्दा पनि कामकाज सुरु हुन सकेको छैन। नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको वार्षिक लाखौँ रकमको सदुपयोग हुन नसकेको नापी कार्यालय ढल्केबरका प्रमुख अधिकृत राजेन्द्र साहले बताउनुभयो। “कार्यालय सञ्चालनमा नआउँदा १५ कर्मचारी हाजिरी गरेर दिन बिताउन बाध्य छन्,” उहाँले भन्नुभयो। 

सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय धनुषालाई पटकपटक ताकेता गर्दा पनि सुनवाइ नभएको कार्यालय प्रमुख साहको भनाइ छ। “कागजातका लागि जनकपुर कार्यालयलाई हामीले पटकपटक ताकेता ग-यौँ,” नापी अधिकृत साहले भन्नुभयो, “तर त्यसको कुनै जवाफ आएको छैन। कुनै सुनवाइ भएको छैन। अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय धनुषाले आनाकानी गरिरहेको छ।” 

साबिकको २१ वटा गाविस अर्थात् हाल पाँचवटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यका साथ यस कार्यालयको स्थापना भएको थियो तर यस क्षेत्रका सेवाग्राहीले सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका स्थानीय निराश छन्। 

कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्वेक्षक पाँच जना, अमिन एक जना, सहलेखापाल एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी पाँच जना, स्विपर एक जना गरी कुल १५ कर्मचारी कार्यरत छन्। सबै कर्मचारीको तलबमा प्रतिमहिना तीन लाख २५ हजार चार सय रुपियाँ खर्च हुने गरेको छ। यसरी वर्षमा कर्मचारीको तलबबाट मात्र ३९ लाख चार हजार आठ सय रुपियाँ खर्च भइरहेको देखिन्छ। कार्यालयको भाडाबापत मात्र प्रतिमहिना ३८ हजार पाँच सय रुपियाँ खर्च हुन्छ। घरभाडामा वर्षमा चार लाख ६२ हजार रुपियाँ खर्च भइरहेको छ।

नापी कार्यालय जनकपुरको लापरबाहीका कारण सरकारी स्रोतसाधनको दुरुपयोग भइरहेको मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साह बताउनुहुन्छ। “सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा गर्नु कुनै राम्रो होइन,” उहाँले भन्नुभयो। सरकारले गरेको निर्णय यथाशीघ्र कार्यान्वयनमा नल्याए आफूहरू कडा रूपमा प्रस्तुत हुने उहाँले बताउनुभयो। “नागरिकलाई सहज रूपमा सेवा दिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन। यथास्थितिमै सञ्चालनमा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो। 

मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले नापी कार्यालयको कागजातको लागि कैयौँ पटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताउनुभयो। “मैले ढल्केबर कार्यालयलाई अभिलेख उपलब्ध गराइदिन विभागका ‘डीजी’देखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्मलाई आग्रह गरेको छु। स्थापना गर्ने निर्णय सङ्घीय सरकारको हो, सरकारले निर्णय गरे मात्र कार्यालय फिर्ता जान्छ,” उहाँले भन्नुभयो। नापी र मालपोतका लागि पहल भइरहेको उहाँले बताउनुभयो। 

नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्राले ढल्केबरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालयको कामकाज सुरु हुन नसकेको प्रतिक्रिया दिनुभयो। मालपोतबिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीका लागि झन्झटिलो हुने उहाँले बताउनुभयो। “नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहज रूपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ,” प्रमुख मिश्राले भन्नुभयो। ढल्केबर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहको समन्वयमा अभिलेख तथा कागजात लान सकिने उहाँले जानकारी दिनुभयो।