• १२ चैत २०८२, बिहिबार

सप्तरीका चार सांसदले मातृभाषामा शपथ लिने

blog

सांसदहरु अमरकान्त चौधरी, सिताराम साह, रामजी यादव र डा. अंकिता ठाकुर। तस्बिरः सुधा देव

सुधा देव
भारदह (सप्तरी), चैत १२ गते ।
सप्तरीका चार जना सांसदले मातृभाषामा शपथ लिने हुनुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित तीन जना प्रत्यक्ष र एक जना समानुपातिक सांसदले मातृभाषामा शपथ लिन लाग्नुभएको हो।

निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रामजी यादव, क्षेत्र नम्बर ४ बाट निर्वाचित सिताराम साह तथा समानुपातिक सांसद डा. अंकिता ठाकुरले मैथिली भाषामा शपथ लिने जनाउनुभएको छ। त्यसैगरी, क्षेत्र नम्बर ३ बाट निर्वाचित अमरकान्त चौधरीले थारू भाषामा शपथ लिने तयारी गरेको बताउनुभएको छ।

जिल्लाबाट चार जना प्रत्यक्ष निर्वाचित भएका छन् भने दुई जना समानुपातिक प्रणालीमार्फत चयन भएका छन्। तीमध्ये दुई जना सांसदले नेपाली भाषामा शपथ लिने जानकारी दिनुभएको छ।

क्षेत्र नम्बर १ बाट पुष्पा चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित हुनुभएको हो। समानुपातिकतर्फ खगेन्द्र कर्ण र डा. अंकिता ठाकुर सांसद बन्नुभएको छ।

सप्तरीबाट निर्वाचित सबै ६ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधित्व गर्ने उक्त पार्टीका नेता खेलानन्द दासले जानकारी दिनुभयो।