लीलाधर वली
घोराही, चैत १२ गते । दाङको घोराहीमा प्रहरीले लागुऔषध र सुनसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्केट पार्क नजिकबाट लागुऔषध ब्राउन सुगर र सुनसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार प्रहरीले पक्राउ परेका व्यक्तिबाट नगद ४८ हजार छ सय २५ रुपियाँसहित १८ ग्राम ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर, १६ दशमलव २ लाख सुन र पाँच वटा मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ निवासी २० वर्षीय सौरव वली, घोराही–१३ निवासी २८ वर्षीया सिर्जना चौधरी, सोही ठाउँ निवासी २६ वर्षीय विशाल बिक, तुलसीपुर उपमहानगरपालिका–६ घर भई हाल घोराही–१३ बस्ने १८ वर्षीया यसकुमारी नेपाली र सोही ठाउँ निवासी २४ वर्षीया मिना नेपाली रहेका छन् । प्रहरी निरिक्षक बस्नेतका अनुसार प्रहरीले चैत १० गते साँझ चार बजेको समयमा पक्राउ गरेको थियो ।
पक्राउ अभियुक्तहरुलाई दाङ जिल्ला अदालत घोराहीबाट लागुऔषधसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।