बबई समाचारदाता
बबई (बर्दिया), चैत १२ गते । बर्दियामा पहिलो पटक तीन पुस्तालाई एउटै थलोमा समेटेर किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अन्तरपुस्ता संवाद तथा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । राधाकृष्ण थारू जनसेवा केन्द्रले सञ्चालन गरेको उक्त कार्यक्रम किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना अन्तर्गत अघि बढाइएको हो । परियोजनामार्फत गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका नातिनातिनी, बुवाआमा तथा हजुरबुवा, हजुरआमालाई एकै स्थानमा राखी अभिमुखीकरण प्रदान गर्न थालिएको हो ।
कार्यक्रम कोरियन सरकार (कोइका) को आर्थिक सहयोग तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको हो । परियोजना संयोजक सुरज अर्यालले किशोरकिशोरीमा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिभावकसम्म पु¥याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो ।
अभिमुखीकरणमार्फत किशोरावस्थामा हुने परिवर्तन, स्वास्थ्य सचेतना तथा अधिकारका विषयमा जानकारी दिँदै पुस्ताबिचको संवाद बढाउने लक्ष्य राखिएको छ । फिल्ड सुपरभाइजर गौरी खत्रीले कार्यक्रमले विशेष गरी अभिभावक र किशोरीबिच देखिने दुरी कम गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
स्थानीय सहभागीका अनुसार तीन पुस्तासँगै बसेर तालिम लिँदा खुला रूपमा छलफल गर्ने वातावरण बनेको छ । गुलरिया अन्तर्गत बगहीका चन्द्रकला थारूले यस्तो कार्यक्रममा सहभागी हुँदा नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो । त्यसै गरी तुलसीपुरका राजकुमार थारूले यो कार्यक्रममार्फत छोरीको शारीरिक परिवर्तनबारे बुझ्न सहज भएको अनुभव सुनाउनुभयो ।
परियोजना अन्तर्गत विद्यालय तथा समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यालयमा अभिमुखीकरणका साथै किशोरकिशोरीमैत्री अत्याधुनिक शौचालय निर्माण गरिएको छ भने स्थानीय तहमा किशोरमैत्री स्वास्थ्य संस्था भवन निर्माणसमेत भइरहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमले किशोरकिशोरीको स्वास्थ्य र अधिकारप्रति परिवार र समुदायलाई जिम्मेवार बनाउँदै समावेशी र सचेत समाज निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।