शिवकुमार रिजाल
मनहरी (मकवानपुर), चैत १२ गते । पूर्व पश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडक खण्डमा बुधवार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।
मनहरी बजारबाट हेटौँडा तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २६५२ नम्बरको ट्रकले समान दिशामा यात्रारत बा.प्र. ०२–०६५ प १५५२ नम्बरको मोटरसाइकलमा सबार नेपाली सेनाको रुरु भैरव गण सुनाचुरीमा कार्यरत प्युठ सुमन श्रेष्ठलाई हेटौँडा १९ नेवारपानीस्थित सडक खण्डमा ठक्कर दिएको हो । स्टेयरिङमा खराबी आएपछि अनियन्त्रित भएको ट्रकले श्रेष्ठले समान दिशामा हाँकिरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनापछि घाइतेलाई उद्धार गरी हेटौँडा ११ स्थित चुरेहिल सिएमसी अस्पताल लगिएको र थप उपचारका लागि हेलिकोप्टरमार्फत सेनाको छाउनीस्थित अस्पताल लगिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेको रिपोर्ट सामान्य भए पनि अझै होस नखुलेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक भक्तपुर नगरपालिका ४ का पूर्णगोपाल न्हुच्छे र ट्रकलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरमा राखिएको छ ।
यसैबिच पूर्वपश्चिम सडक खण्डको मनहरीबाट चितवन तर्फ जाने क्रमा रहेको मधेश प्रदेश ०३–०४० प ९४६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउने क्रममा रहेको ना ७ ख ४६६० नम्बरको ट्याङ्कर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक रौतहटको गुजारा नगरपालिका कनकपुर बस्ने २६ वर्षीय शेष असफाक र सोही स्थानका २३ वर्षीय महम्मद इसाद रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भइरहेको ट्रकसहित चालक गैँडाकोट नगरपालिका १ भेडाबारी बस्ने ४३ वर्षीय किरण चौधरीलाई नियन्त्रणमा राखिएको छ ।