• १५ वैशाख २०८१, शनिबार

कोभिड-१९ विरुद्धको खोपमा लक्ष्य हासिल गरेको दाबी

blog

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल ।

काठमाडौं, साउन १८ गते। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले नेपालले कोभिड-१९ विरुद्धको खोपमा लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा नेपालले कोभिड-१९ विरुद्धको खोपमा लक्ष्य हासिल गरेको दाबी गर्नुभएको हो।

 नेपालमा खोप अभियान दक्षिण-पूर्वी एसियाकै उच्च रहेको उहाँको भनाइ छ। खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३ प्रतिशत भन्दा बढीले कोभिड–१९ विरुद्ध खोप लगाइसकेको डा.लालले जानकारी दिनुभयो। ७० प्रतिशत भन्दा बढीले दोस्रो अथवा पूर्ण मात्रा खोप लगाइसकेका छन्।

 १२ वर्षमाथिका लक्षित समूहमा पहिलो मात्राको ९२ प्रतिशत  भन्दा बढी र दोस्रो मात्राको ८८ प्रतिशत बढीले खोप लगाइसकेको डा. लालले जानकारी दिनुभयो।  २७ जिल्लाका ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोपको दुवै मात्रा दिइसकिएको छ। बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको डा.लालले जानकारी दिनुभयो। 

खोपले सङ्क्रमणको जोखिम कम गर्नुका साथै मृत्युदर घटाउने हुँदा खोप लगाउन छुटेकालाई नजिकैको खोप केन्द्र गएर खोप लगाउन र पूर्ण खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन पनि उहाँले आग्रह गर्नुभयो। हालसम्म नेपालमा ५ करोड ८८ लाख ९१ हजार ५७० मात्रा खोप प्राप्त भएको डा. लालले जानकारी दिनुभयो। 

यसमा कोभ्याक्स सुविधाबाट दुई करोड ७४ लाख ९१ हजार ६०० खोप प्राप्त भएको छ। कोभ्याक्सबाट खोपबाहेक अन्य खोपजन्य सामग्री पनि प्राप्त भइरहेको उहाँले बताउनुभयो। डा. लालका अनुसार गाभीले अझै पनि खोप तथा खोपजन्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।

नेपालमा कोभिड-१९ पछि खोप भण्डारणको क्षमतामा व्यापक वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो। कोभिड भन्दा पहिले खोप भण्डारणको क्षमता १४५ घनमिटर मात्रै थियो भने अहिले ५३२ प्रतिशत बढेर ९१७ घनमिटर भण्डारण क्षमता रहेको छ। गाभी लगायत अन्य दाता निकायको सहयोगमा यो उपलब्धि हासिल भएको उहाँको भनाइ छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।