• १३ वैशाख २०८१, बिहिबार

पाटीगाउँको पानी अभाव

blog

नेपाल विश्वमै जलस्रोतको धनी देशमा पर्छ भन्ने बखान हामीले वर्षौंदेखि सुन्दै आएका छौँं। कतिपय नेतृत्वले हिमालको पानी निर्यात गरेर मुलुकलाई धनी बनाउने सपना देख्छन्, देखाउँछन्। उत्तरदक्षिण बग्ने हजारौं नदीनालासँगै वर्षात्मा आउने बाढी पहिरोले ठूलै प्रकोप ल्याउँछ। विपत्तिको सामना गर्नुपर्छ। नेपाली नदीबाट हरेक दिन बग्ने करोडौं क्युसेक पानी उपयोग हुने प्रतीक्षा लामै हुँदै गइरहेको छ। यी सबै तथ्यले एकै सङ्केत गरिरहेको हुन्छ, ‘‘नेपालमा पानीको कुनै अभाव छैन, हुँदैन।’’ तर विडम्बना वास्तविकता यसभन्दा अलिक भिन्न छ। यही मुलुकमा कतिपय गाउँसहरमा पानीको ठूलो अभाव छ। कतिपय गाउँ त वर्षात्का पानी बोतलमा सङ्ग्रह गरेर हिउँदमा गर्जो टार्नुपर्नेसम्मका छन् भन्ने कुराले धेरैलाई अचम्म तुल्याउँछ।

प्रदेश १ को धनकुटा जिल्लाको दक्षिणवर्ती साँगुरीगढी र मोरङ जिल्लाका उत्तरवर्ती पाटीगाउँका बासिन्दा पानीको ठूलो अभाव भोगिरहेका छन्। अरू गाउँका मानिसहरू वर्षात् याममा खेतीपातीमा व्यस्त हुँदा यहाँका बासिन्दालाई भने खेतीपातीसँगै कोक, पेप्सी, फेन्टा, स्प्राइटका खाली प्लास्टिक बोतलहरूमा वर्षाको पानी भर्न फुर्सद हुँदैन। अन्य गाउँठाउँमा घर, आँगन र वरिपरि अन्न बिस्कुन सुकाउन प्रयोग हुन्छन् तर विडम्बना त्यस गाउँमा वर्षाका पानी भरिएका हजारौंँ बोतलका बिस्कुन देखिनु सामान्य विषय हो। यसले नेपालको जलस्रोत सम्पदाको उपयोग हुन नसकेको 

व्यङ्ग्यात्मक विम्बको प्रतिनिधित्व गरिरहेको प्रतीत हुन्छ। नीति निर्माण र योजनामा काम गर्ने निकाय र अधिकारीहरूले बोतलमा पानी जम्मा गरेको यो परिघटनालाई कसरी लिने होलान् ?

हजारौं प्लास्टिकका बोतल, ड्रम, घैँटोमा वर्षात्को पानीको जोहो गर्नु यहाँका बासिन्दाको सोख नभएर बाध्यता हो। जीवन गुजाराको एउटा सङ्घर्षपूर्ण माध्यम हो। खानेपानीको कुनै पनि भरपर्दो स्रोत यस क्षेत्रमा उपलब्ध छैन। नजिकको मुहान पनि दुई घण्टाभन्दा बढी पैदलको दूरीमा मात्र छ। दिनहुँ यो यात्रा सहज नभए पनि युगौँदेखि यस्तै कष्ट भोग्न बाध्य छन् यहाँका बासिन्दा। अलिकति भए पनि हिउँदामा पानीको अभाव कम गर्न वर्षात्को पानी जतन गरेर नराखे साँगुरीगढीवासी र पाटीगाउँका बासिन्दाको जीवनै चल्दैन। खेतबारीका लागि सिंचाइ कपडा धुन, बस्तुभाउका लागि यही पानीले जनतसाथ प्रयोग हुन्छ। जलस्रोतको धनी देशका बासिन्दा वर्षात्बाहेकका अन्य छ महिना यही सङ्ग्रहित पानीबाट जीवनयापन गरिरहेका छन्। 


मानव जीवनको मुख्य आधारभूत आवश्यकता पानीको उपयुक्त व्यवस्थापनको जिम्मेवारी तहगत रूपमा सरकारकै हो। अन्य विकास निर्माणका योजनालाई थाँती राखेर भए पनि सहज मानवोचित जीवनयापनका निम्ति सफा, स्वस्थ पानीको व्यवस्था गर्ने कार्यमा कुनै पनि तहका सरकार चुक्नु हुँदैन। सरकार अस्तिवमा रहेको आभासका निम्ति पनि खानेपानी पहिलो आधारभूत पक्षको उचित व्यवस्थापन अति महत्वपूर्ण हुन्छ। यस क्षेत्रमा पानीको समस्या विगतदेखिकै हो। मुलुकले विकास निर्माणमा यति फड्को मार्दासम्म यस क्षेत्रका बासिन्दा पानीजस्तो जीवनको आधारभूत तत्वबाट वञ्चित हुनु नैतिक, सामाजिक, मानवीय, क्षेत्रीय तथा सन्तुलित विकासजस्ता कुनै पनि दृष्टिकोणबाट उपयुक्त मान्न सकिँदैन। विगतमा यस क्षेत्रमा पानीको व्यवस्था मिलाउन केही प्रयास गरिए पनि त्यस कार्यले हालसम्म मूर्त रूप लिन नसक्नु विडम्बना हो। यस क्षेत्रका हजाराैँ बासिन्दालाई खानेपानीको उपयुक्त व्यवस्थापनका लागि विगतमा कुहिरोबाट पानी सङ्कलन गर्ने योजना सफल भएन। लिफ्ट प्रविधिबाट खोलाको पानी ल्याउने प्रयासस्वरूप सवा लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणबाहेक अन्य कार्य हुन सकेको छैन। 

मुलुकका सबै क्षेत्रमा केन्द्रीकृत तहबाट सन्तुलित विकास सम्भव नभएको ठहरसहित देश सङ्घीयतामा गएको हो। अहिले तीन तहका सरकार क्रियाशील छन्। स्थानीयका खानेपानीजस्ता आधारभूत समस्या स्थानीय तहबाट समाधान हुनपर्ने हो तर सम्बद्ध निकाय समस्याबारे जानकारसमेत नरहेको सार्वजनिक हुनु उदेकलाग्दो विषय हो। यस समस्याबारे जानकार नरहेको अभिव्यक्ति दिने जिल्ला समन्वय समिति धनकुटाको भनाइलाई कदापि जिम्मेवारपूर्ण मान्न सकिँदैन। यी सीमावर्ती गाउँबस्ती हुन्। त्यसैले यस क्षेत्रको खानेपानी समस्या समाधान गर्न धनकुटा र मोरङ जिल्लाबाट समन्वयात्मक ढङ्गले काम हुनुपर्ने देखिन्छ।