• ७ जेठ २०८१, सोमबार

करोडौं लगानीको दमक मिथेन ग्यास प्रयोगविहीन बन्दै

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १४ गते । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।

दमक नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना हुँदा पनि यसको बिक्री वितरण सुरू हुन सकेको छैन । “फोहोरबाट ग्यास उत्पादन त सुरू भयो तर यसको बजारीकरणमा राज्यको सहयोगबेगर असम्भव छ” , प्रालिका अध्यक्ष युवराज घिमिरेले भन्नुभयो ।

दमक २ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माणमा २० करोड ५८ लाख ९७ हजार रूपियाँ लागतको काम भए पनि कोरोना संक्रमण लगायतका कारण यसको खर्च बढेको थियो । यसमा १४ करोड ७० लाख रूपियाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी ५ करोड आठ लाख रूपियाँ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लगानी सम्झौता भएको घिमिरेले जानकारी दिनुभयो ।

दैनिक २५ देखि २६ सय केजी ग्यास उत्पादन भएको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइदै आएको छ । मिथेन बायो ग्यास उत्पादन सुरु भएपनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरेर ग्यास पाइप वा सिलिण्डरमार्फत वितरण गर्ने योजना पूरा हुन नसकेको नेक्स्ट प्रालिका निर्देशक विमल खतिवडाले बताउनुभयो । 

“सरकारसमक्ष पाइपलाइन विस्तारका लागि आवश्यक बजेट माग गरिरहेका छौं र यो भएमा पूर्वमा नमूना परियोजना बन्नेछ”, खतिवडाले भन्नुभयो । विशेषगरी दमक बजार क्षेत्रमा पाइपलाइनका लागि बनाइएको डीपीआर अर्थात् विस्तृत परियोजना विवरण कार्यन्वयन गरेमा तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्याउन सकिने पनि उहाँले जानकारी दिनुभयो ।

दमक नगरपालिकाका वातवरण तथा सरसफाइ शाखाका प्रमुख दोर्ण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ । यसमध्ये १५ टन फोहोर संकलन हुँदैछ । संकलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात् कुहिने फोहोर रहेको छ ।

राज्यको सहयोग आवश्यक छ : ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोहोरबाट ग्यास उत्पादन भएको क्षेत्रको अवलोकन गर्दै घरघरमा ग्यास पाइपलाइन पुर्याउने विषय आफ्नो नेतृत्वको सरकारका पालादेखि सुरुभएको बताउनुभयो । यसैगरी यो काम पूरा हुँदैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो । फोहोर समस्या समाधानको दीर्घकालीन उपाय फोहोरबाट ग्यास उत्पादन गर्न सकिन्छ ओलीको भनाइ छ ।

फोहोर समस्या सामधान हुने र ग्यास पनि उत्पादन हुने यसप्रकारका योजनाको महत्व आउँदा दिनमा अझ बढ्दै जाने उहाँको भनाइ छ । “यो राज्यको काम हो तर स्थानीयस्तरमा निजी क्षेत्रले चासो दिएर यति ठूलो लगानी गर्नु खुशीको सन्देश हो” ओलीले भन्नुभयो ।