• २६ कात्तिक २०८१, सोमबार

शुक्लाफाँटामा बाघको संख्या दोब्बर बढ्यो

blog

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राखिएको क्यामेरामा देखिएको बाघ। तस्बिर : निकुञ्जको कार्यालय

अविनाश चौधरी

धनगढी, साउन १३ गते। सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले बढेको छ। सन् २०२२ को गणनाअनुसार यो निकुञ्जमा बाघको सङ्ख्या ३६ पुगेको हो। यसअघि, सन २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो। चार वर्षमा सङ्ख्या दोब्बरले बढेर ३६ पुगेको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्ला-लालझाडी-जोगबुढा गरेर तीन वटा कम्प्लेक्स विभाजन गरेर बाघ गणना गरिएको थियो। तीन वटै कम्प्लेक्समा गरेर २८ बाघ क्यामेरा ट्रयापमा परेका थिए। निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार क्यामेरामा परेकामाध्ये १६ वटा पोथी र १२ वटा भाले रहेका छन्। आठ वटा बाघ भने अकुपेन्सी विधि सर्भेबाट थप गरिएको थियो। 

क्यामेरा ट्रयाप गर्दा एक भाले बाघ लालझाडी र एक वटा पोथी बाघ जोगबुढा रेञ्जमा परेका थिए। बाँकी २६ वटा बाघ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरामा परेको ऐरले जानकारी दिनुभयो। 

कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटामा चित्तल, बँदेल, बाह्रसिंगा लगायत गरेर आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा १४६.२ जनावर रहेको निकुञ्जले जनाएको छ। यसैगरी, बाघ भने प्रति वर्गकिलोमिटरमा १.९९ रहेको जनाइएको छ। 

सन २०१० मा नेपालले रुसको सेन्ट पिटर्सवर्गमा २०२२ सम्म यहाँ बाघको सङ्ख्या दोब्बर बनाउने सङ्कल्प गर्दा शुक्लाफाँटामा बाघ सङ्ख्या आठ रहेको थियो। सो सङ्कल्प अनुसार २०२२ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पुर्‍याउने लक्ष्य थियो। 

यद्यपि, त्यो लक्ष्य शुक्लाफाँटाले २०१३ मै पूरा गरिसकेको छ। सन २०१३ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १७ पुगेको तथ्याङ्क छ। तर, सन २०१८ सम्म पुग्दा भने एउटा बाघ फेरि घटेर सङ्ख्या १६ मा झरेको थियो। 

यो निकुञ्जमा सन २०१३ देखि २०१८ सम्म बाघ वृद्धिमा खासै उपलब्धि भएको देखिँदैन। यो बीचका वर्षमा सङ्ख्या स्थिर रहेको देखिएको छ। तर, पछिल्लो गणनाले भने दोब्बरले बाघ वृद्धि भएको देखाएपछि निकुञ्जसहित संरक्षण क्षेत्रमा काम गर्ने उत्साहित भएका छन्। 

निकुञ्ज कार्यालयका अनुसार सन १९९५ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो। त्यसपछि सन २००२ मा २६, सन् २००५ मा १८ बाघ गणना गरिएको थियो। यो बेलासम्म बाघको पञ्जा, दिशा लगायतको आधारमा सङ्ख्या निर्धारण गरिएको थियो। 

सन २००९ देखि भने क्यामेरा राखेर बाघ गणनाको कार्य हुँदै आएको छ। जुन सबैभन्दा उत्तम विधि मानिन्छ। २००९ मा आठ वटा बाघ गणना गरिएको थियो। त्यसपछि सन् २०१३ मा १७ र २०१८ मा १६ बाघ गणना भएको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो। पछिल्लो समय नेपालमा चार÷चार वर्षको फरकमा राष्ट्रिय बाघ गणना हुने गरेको छ। 

शुक्लाफाँटामा बाघको सङ्ख्या दोब्बरले बढेपछि निकुञ्ज कार्यालयले सोही अनुसार व्यवस्थापनको रणनीति अगाडि बढाएको छ। बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि दुई किसिमको व्यवस्थापन रणनीतिका साथ अगाडि बढेको ऐरले बताउनुभयो।  

‘पहिलो कुरा हामीले आन्तरिक व्यवस्थापनमा जोड दिएका छौं। जस अन्तर्गत बासस्थान व्यवस्थापन, पानी, घाँसे मैदान व्यवस्थापन लगायत रहेको छ’, उहाँले भन्नुभयो, ‘अर्को मानवलाई निकुञ्ज क्षेत्रभित्र पस्न नदिनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन, चोरी सिकार नियन्त्रण लगायत रहेको छ।’

मुलुकको विभिन्न क्षेत्रमा मान्छे जङ्गल पसेपछि नै बाघले आक्रमण गरेर ज्यान लिएका घटना बढी छन्। त्यसैले मान्छेलाई जङ्गलभित्र जान नदिने उपाय अम्बलम्बन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो। 

शुक्लाफाँटामा पछिल्लो समय दोब्बरले बाघ वृद्धि हुनुमा पोथीको सङ्ख्या बढी रहेका कारणले हुन सक्ने बताइएको छ। एउटा भाले बाघलाई प्रजननका लागि एकदेखि तीन वटासम्म पोथी बाघको आवश्यकता हुने गर्दछ। एक भाले बाघले ४०-५० वर्गकिलोमिटर आफ्नो क्षेत्र निर्धारण गरेर बढीमा तीन वटा पोथीसंग सहवास गर्ने गरेको बताइएको छ। पोथी बाघको सङ्ख्या कम भएमा भाले भालेबीच लडाइँ हुँदा प्राकृतिक मृत्यु हुने वा भाले बाघले पोथी र त्यसका बच्चा मार्ने सम्भावना बढी रहने गर्दछ। 

यसैबीच, बाघको आहारा प्रजाति बाह्रसिंगाको सङ्ख्या बढेर दुई हजार ३१३ पुगेको छ। सन २०२१ मा गणना गर्दा शुक्लाफाँटामा दुई हजार २४० बाह्रसिंगा रहेका थिए।