• ४ साउन २०८१, शुक्रबार

देशभक्तिसँग जोडिएको राष्ट्रियता

blog

राष्ट्रियताका सम्बन्धमा गरिने विवेचनामा ‘देशभक्ति’ अन्योन्याश्रित रहने भावनात्मक तत्त्व हो। देशभक्ति भन्नु देशप्रतिको प्रेम, आस्था, सम्मान, गौरवको अभिव्यक्ति हो। देशभक्ति व्यक्तिगत रूपमा बढी प्रकट हुन्छ। देशको भूगोलप्रतिको अपनत्व, इतिहासप्रतिको गौरवानुभूति, जनताप्रतिको प्रेम वा भातृत्व भावना, देशका अमूर्त वा भौतिक सम्पदा संस्कृतिप्रतिको मोह वा श्रद्धा आदि सबै देशभक्ति भावनाद्वारा निसृत हुने विषय हुन्। ती सबैमा मुलुकवासीको साझा भावना गाँसिएको हुन्छ। देशवासीको तिनकाप्रति रहने आस्था एवं विश्वासको वैयक्तिक श्रद्धानुभूति नै देशभक्ति भावना हो। इतिहासमा देशभक्ति भावनाले ओतप्रोत भएर हजाराैँ नेपाली वीरले नेपाल निर्माणका खातिर रगत बगाएथे। नेपाल एकीकरणकालीन कालखण्ड नेपाली वीरहरूको देशभक्ति गाथाले भरिएको पाइन्छ। कत्रो देशभक्तिको भावना थियो मुलुक निर्माण र रक्षाका लागि! गाइनेहरूले सारङ्गी रेट्दै देशभक्तिका गाथाहरू गाउँदै हिँडेथे। आमाहरूले जवान छोराहरूलाई देशका खातिर शत्रुहरूसँग मुकाविला गर्दै रणभूमिमा विजयी भएर आउने आशीर्वाद दिएथे, त्यो देशभक्ति हो। 

आधुनिक नेपालको इतिहासमा देशभक्तिपूर्ण भावनालाई शहीदहरूका गाथाले कहिल्यै मलिन हुन नसक्ने गरी स्मरण गराइरहेका छन्। जहानियाँ निरङ्कुश शासनबाट देशमा प्रजातन्त्रको स्थापना गराउनका खातिर ०९७ सालमा केही वीर नेपालीहरूले जीवन बलिदान दिए।

इतिहासमा कैयाैँ स्वेच्छाचारी शासकद्वारा कतिपय देशभक्तलाई मृत्युदण्ड दिइएका घटनालाई बारम्बार स्मरण पनि गर्ने गरिन्छ। नेपालका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल चैतमा पार्टीभित्रको विवादका कारण जननिर्वाचित प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको सन्दर्भमा प्रतिनिधि सभामा सम्बोधन गर्दै भनेका थिए; “देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटील राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन होइन ?”     

मुलुकको भौगोलिक अखण्डता वा सार्वभौमसत्तामाथि कतैबाट आँच उत्पन्न हुने काम भयो भने त्यसबेला सबै मुलुकवासीलाई चोट पुग्छ। मुलुकको निर्माण राष्ट्रभक्ति भावनाद्वारा गरिएको हुन्छ। अनेक नरनारीहरूले वीरगति पाएका हुन्छन्। दरबारिया भारदारी षड्यन्त्रका कारण राणाकालमा अनेक देशभक्तहरू मारिए। कैयाैँलाई देशनिकाला गरियो। समाजसेवी कृष्णप्रसाद कोइरालालाई राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७६ सालमा देश निकाला गरेका थिए। १९९७ साल काण्डमा शहीद बनाइएका देशभक्त वीरहरूलाई राष्ट्रले सदा सम्मान गरिरहेछ। 

१९९७ साल पर्वमा कैयाैँ देशभक्तले अनेक खालको सजाय पाए। ००७ सालको जनक्रान्ति कैयाैँ देशभक्तको नेतृत्वमा र सक्रियतामा भएको थियो। पञ्चायतकालमा अनेकाैँ देशभक्तको प्राणहरण गरियो। यसैगरी, जनआन्दोलनमा पनि असङ्ख्य देशभक्तलाई शहीद बनाइयो। ती सबै शहीद मुलुकका राष्ट्रिय गौरव हुन्। शहीदलाई सम्झँदै २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले एक प्राज्ञिक भेलालाई सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो, “अमर शहीदहरूको चिताको अग्निज्वालाले तपाईंहरूको बाटो अझै पनि प्रकाशित छ। तपाईंहरूले अझ त्यसलाई दन्काई झन् प्रखर गर्नुछ र त्यसको प्रखर उज्यालाले समस्त राष्ट्रपूर्ण रूपले उज्यालियोस्। राष्ट्रको राजनीतिक क्रान्तिमा अमर साहित्य र सच्चा देशभक्तहरूले गरेको बलिदानको लालिमामाथि स्वार्थी, तथाकथित देशभक्तहरू अर्थात् अवसरवादीको स्वार्थी राजनीतिको कालो घटाटोपको कालीमा लाग्न नपाओस्।” 

प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा स्वार्थी तत्त्वहरू, अवसरवादीहरू पनि देशभक्तिको नाममा व्यक्तिगत फाइदाका लागि अग्रसर हुन सक्छन्। तीबाट देशलाई जोगाउन सजग रहँदै, शहीदको बलिदानबाट प्रेरणा लिँदै राष्ट्रलाई उज्यालो बनाउने कर्ममा क्रियाशील हुन राजनेता गणेशमानले आह्वान गर्नुभएको थियो। 

वास्तवमा, देश, जनता वा प्रजातन्त्रका लागि सङ्घर्ष गर्दागर्दै मृत्युवरण गर्ने शहीदहरू राष्ट्रका शीर्ष सम्मानित देशभक्तहरू हुन्। आ–आफ्ना कर्मक्षेत्रमा इमानदारीपूर्वक सक्रिय रही राष्ट्रको हित रक्षार्थ क्रियाशील रहने मानिसहरूलाई देशभक्त भन्न सकिन्छ। देशप्रतिको निस्वार्थ प्रेम वा सत्य निष्ठताबाट विचलित नभई सम्पन्न गरेका कर्महरूमा देशभक्ति जागा रहन्छ, उन्नत र उचो रहन्छ। 

देशभक्ति व्यक्तिको वैयक्तिक अनुभूति वा कर्मद्वारा प्रस्फुटित हुने मुलुकप्रतिको निष्ठा हो भने राष्ट्रियता व्यक्ति व्यक्तिबाट विस्तारित भई सामूहिक वा समष्टिमा रूपान्तरित भएको मुलुकप्रतिको गौरवभाव हो। देशभक्ति व्यक्तिगत तवरमा सम्पन्न हुँदै जाने राष्ट्रहितका दर्शनीय कार्यहरूद्वारा तत्काल अभिव्यञ्जित हुन्छ। व्यक्तिद्वारा सम्पन्न त्यस्ता राष्ट्रहितका कार्यबाट उत्पन्न हुने सामूहिक वा साझा भावना नै राष्ट्रियताको अनुभूति वा भावना हो। एउटा व्यक्तिका केही विचारद्वारा अन्य सबैलाई जगाउँदै, ब्युँताउँदै प्रजातन्त्र वा स्वतन्त्रताका लागि महान् कार्य सम्पन्न गर्न अग्रसर गराउने तìव राष्ट्रियता हो, जस्तो, ००७ सालको जनक्रान्तिको वैचारिक पूर्वाधार थोरै व्यक्तिहरूद्वारा स्थापित थियो। राष्ट्रियताको भावनाले समूहलाई उद्वेलित गराउँछन्। 

निरङ्कुशता विरोधी जनआन्दोलन राष्ट्रिय भावनाका उपजहरू हुन्। राष्ट्रियता साझा अठोटका रूपमा जागृत रहन्छ। देशभक्ति व्यक्तिगत अठोटबाट पनि उत्पन्न हुन्छ। समान विश्वासमा आधारित व्यक्ति व्यक्तिद्वारा सम्पन्न सांस्कृतिक कार्यहरूद्वारा आमजनमानसमा उत्पन्न हुने एकताभाव राष्ट्रियता बन्दछ। जस्तै, दशैँ, तिहार, छठ, होली आदि पर्वहरू नेपाली राष्ट्रियताका वाहक हुन्, राष्ट्रिय एकताका आधार हुन्। 

देशभक्तिको भावना एउटा सुन्दर कलाकृतिको निर्माणबाट प्रकट हुनसक्छ। कुनै पनि सुन्दर कलाकृतिप्रति जब सामूहिक अपनत्व वा श्रद्धा उत्पन्न हुनजान्छ, त्यो राष्ट्रिय भाव वा राष्ट्रियता बन्दछ। जस्तो, भूकम्पमा परी अनेक कलाकृतिहरू भत्किए, नष्ट भए, नेपालीको मनमा त्यसले चोट पु-यायो, त्यो चोट पुग्नु राष्ट्रियता हो। तिनीहरूको सरूप वा सग्लो उपस्थितिमा सबैको मन रमाउँछ, त्यही राष्ट्रियता हो। 

काव्यिक दृष्टिले देशभक्ति र राष्ट्रियता भिन्नाभिन्ने भावबोधक शब्द भएको आशय प्रसिद्ध कूटनीतिज्ञ एवं समालोचक प्रा. यदुनाथ खनालले व्यक्त गर्नुभएको छ। देशभक्तिका सन्दर्भमा उनले भनेका छन्; “देशभक्तिले मानिसलाई मानवत्वको तहमा स्पर्श गर्दछ। देशभक्तिमा जन्मभूमिप्रति जननीप्रति जस्तै भाव उत्पन्न हुन्छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।”

नेपालमा देशभक्तिपूर्ण साहित्य धेरै लेखिएको छ। प्रारम्भिक चरणमा आदिकवि भानुभक्त एवं युगकवि मोतीराम भट्टलगायतका स्रष्टाहरूले पनि देशभक्तिपूर्ण कविता लेख्नुभएको छ। वि.सं. १९७० को दशकमै धरणीधर कोइरालाले ‘जाग जाग’ कविता लेख्नुभयो। २००७ सालतिर गोपालप्रसाद रिमालले ‘रातो र चन्द्र सूर्य’ वीरगाथा र राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ ००७ सालपछि लेख्नुभयो। विगतका असङ्ख्य स्रष्टाहरूले कैयौँ देशभक्तिपूर्ण साहित्यको सिर्जना गरे। वर्तमानमा पनि त्यो क्रम रोकिएको छैन। स्रष्टाका सिर्जनाहरू मूलतः देशभक्तिपूर्ण भावनाद्वारा नै रचिएका पाइन्छन्। साहित्यकारले प्रथमतः आफ्नै माटोबाट उम्रेका अनुभूतिका कोमल फूल टिप्दै सिर्जना गर्दछ। सिर्जनामा सन्निहित देशभक्तिको भावनाले राष्ट्रियताको भावनालाई अझ उचो बनाउन रसायनको काम गरिरहेको हुन्छ। 

असङ्ख्य नेपाली सांस्कृतिक पर्वमा हामी सबै जातिजाति मिसिएर सहभागी हुन्छौँ। तिनमा हाम्रा साझा पहिचान जोडिएको पाउँछौँ। तिनलाई संरक्षण गर्नुपर्छ भन्छाँै, त्यो हाम्रो देशभक्ति हो। ती पर्व, मेला, उत्सव मासिँदै गए, विलुप्त हुँदै गए भने हामी सबैको मनभित्र खिन्नता उत्पन्न हुन्छ। हाम्रो राष्ट्रियताको भावनामा ठेस लाग्छ। तीप्रतिको साझा आत्मीयता हाम्रो राष्ट्रियता हो। बाह्य संस्कृतिबाट प्रभावित भई हामीले हाम्रा आफ्ना राम्रा परम्परागत धर्म, सांस्कृतिक कर्मलाई पन्छाउँदै गयाँै भने हामीमाथि बाह्य सांस्कृतिक अतिक्रमण बढ्दै जान्छ। बाह्य अतिक्रमण बढ्नु भनेको हामी आफ्नोपनबाट रित्तिँदै जानु हो। आफ्नोपन रित्तिँदै गएमा हाम्रो राष्ट्रियता रित्तिन्छ। हामी खोक्रो हुन्छौँ। बाह्य मुलुकको राष्ट्रियताले हामीलाई आफ्नो परिचयबाट विलोपन वा टाढा गराउँछ।

देशभक्ति नभई आफूमा राष्ट्रियता छ भन्नु आडम्बरी प्रवृत्ति हो। त्यसैले कसैले आफूलाई राष्ट्रवादी हुँ भन्यो भन्दैमा उसभित्र नेपाली राष्ट्रियता पनि भर्भराइरहेको हुन्छ भन्न सकिन्न। छदम् राष्ट्रवादी, छदम् देशभक्ति राष्ट्रियताका वैरी हुन्।