• २० वैशाख २०८१, बिहिबार

निर्मला हत्या प्रकरण : चार वर्षमा प्रतिवेदनको चाङ, हत्यारा अझै भेटिएन

blog

फाइल तस्बिर

काठमाडौं, साउन ११ गते। निर्मला हत्या प्रकरणको चार वर्ष पूरा भएको छ। हत्याराको खोजी र अनुसन्धानका लागि बनेका समितिले बुझाएका प्रतिवेदनको चाङ लागे पनि हत्यारा अझै भेटिएको छैन। 

चार वर्षमा १०७ जनाएको डिएनए परीक्षण गरेको रिपोर्ट प्रहरीको हातमा छ भने तीन वटा परीक्षणको क्रममा छन्। परीक्षणको क्रममा रहेकोसहित प्रहरीसँग ११० वटा डिएनए रिपोर्ट मात्रै छन्। यो अवधिमा प्रहरीले विभिन्न शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ। 

अनुसन्धान जारी रहेको निर्मला हत्या प्रकरणमा अहिलेसम्म त्यस्तो कुनै तथ्य फेला नपरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) श्यामसुन चौधारीले बताउनुभयो। “अनुसन्धान जारी छ, निर्मलाको परिवारसँग प्रहरीको निरन्तर सम्पर्क छ”, उहाँले भन्नुभयो, “सीआइबीलगायतको टोलीले यसको सूक्ष्म अध्ययन गरिरहेको छ।”

प्रहरीले अनुसन्धान जारी राखेको छ भन्दै गर्दा परिवारले न्याय पाउने आशा मारेको छैन। साउन ४ गतेदेखि काठमाडौंको वसन्तपुरमा भीमदत्त नगरपालिका–१२ कञ्चनपुरका सामाजिक अभियन्ता ईश्वर दत्त जोशीले तेस्रो चरणको सत्याग्रह सुरु गर्नुभएको छ। 

उहाँले भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको चार वर्ष बितिसक्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेका भन्दै आन्दोलन गर्नु परेको बताउनुयो।

२०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँड्नुभएकी पन्तको शव साउन ११ गते फालिएको अवस्थामा भीमदत्त नगरपालिका–१८ निम्बुखेडा सडक नजिकै रहेको उँखुबारीमा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख चौधरीका अनुसार निर्मला पन्तको हत्या घटनालाई पहिलो प्रथामिकतामा राखेर प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको सयुक्त टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। अहिले नै अनुसन्धानका क्रममा देखिएका तथ्य सार्वजनिक गर्न सक्ने अवस्था भने छैन।

घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार नगरेको भन्दै पीडित परिवार तथा स्थानीयले पहिले आन्दोलन गरेपनि अहिले शान्त रहेको उहाँले बताउनुभयो। 

निर्मला प्रकरणपछि भएका आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भए भने प्रहरीले चलाएको गोली लागेर भिमदत्त नगरपालिका–१८ का १७ वर्षीय सन्नी खुनाको मृत्युसमेत भएको थियो।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै विरोध हुनथालेपछि छानबिनका लागि गृह मन्त्रालयका तत्कालीन सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोली गठन भएको थियो। डीआईजी धिरु बस्नेतको नेतृत्वमा आन्तरिक छानबिन समितिसमेत गठन भएको थियो।

आन्तरिक छानबिन समितिले गरेको अनुसन्धानबाट जिल्लास्थित प्रहरी प्रशासनले अनुसन्धानमा लापरवाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय जगदीश भट्ट र एकेन्द्र खड्का र असई रामसिंह धामीलाई निलम्बनसमेत गरिएको थियो। हाल उहाँहरुले सफाइ पाइसक्नु भएको छ। 

निर्मला हत्या प्रकरणको छानबिन गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवाली र प्रहरी प्रधान कार्यालयका एसपी दुर्गा सिंह नेतृत्वको टोली गठन गरेर अनुसन्धान सुरु गरेको भएपनि घटना भएको चार वर्ष बिते पनि हत्यारा पत्ता लाग्न सकेको अवस्था छैन। 

निर्मालाले लगाएका कपडा प्रहरी कर्मचारीले नै धोइपखाली गर्नु, निर्मलाको दाहसंस्कार कै क्रममा लगाएका कपडा जलाइनु र घटनास्थल नजिकै प्राप्त भएका दसी प्रमाण संरक्षण नगरिनुले प्रहरी प्रशासनमाथि शंका उत्पन्न हुने गरेको पीडित पक्षले बताउँदै आएको अभियन्ता जोशीले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनामा संलग्नको अनुसन्धान गरेर दोषीलाई छिटो पक्राउ गरेर सार्वजनिक गर्ने र पीडित परिवारलाई राहतका लागि पहल गर्ने भएपछि पीडित परिवारले घटना भएको चार दिनपछि २०७५ साउन १४ गते निर्मलाको शव बुझ्दै दाहसंस्कार गरेको थियो। 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।