• २२ असार २०८१, शनिबार

अवैध कल सेन्टर : दैनिक एक करोडको कारोबार हुने गरेको खुलासा

blog

रुपन्देहीको तिलोत्तमा २ मा संचालित कल सेन्टर । तस्वीर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, साउन ११ गते । अवैधरूपमा सञ्चालित कल सेन्टरको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान गर्न ब्यूरो (सीआईबी) को टोली रूपन्देही आइपुगेको छ ।

तिलोत्तमा २ जानकीनगरस्थित ब्लू स्काई सोलुसन प्रालिको कल सेन्टरमा रूपन्देही प्रहरीले साउन ८ गते आइतवार छापा हानको थियो । नौजना संचालकलाइ नियन्त्रणमा लिए पनि अहिले भने दुईजनालाई हिरासतमा राखेर प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको हो ।

कल सेन्टरमा त्यहाँ भइरहेका गतिविधि यसका प्रभावका बारेमा सूक्ष्म अध्ययन अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बताउनुभयो ।

केसीले भन्नुभयो, ‘‘अहिले दुई जनालाई हामीले इलाकामा राखेका छौं, साइबर ब्युरोकोको टोलीले अनुसान्धान गरिरहेको छ, अब अनुसन्धानका आधारमा कुन मुद्दा आर्कषित हुन्छ, सोहि अनुसार कारबाही गरिने छ ।’’

सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृतसहितको दुईजनाको टोलीले मंगलवारबाट अनुसन्धान थालेको हो । कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले बताएको छ । यहाँ दैनिक एक करोड बराबरको कारोबार हुने गरेको पाइएको छ । 

मंगलवारदेखि सीआईबीको टोलीले बरामद गरिएका कम्प्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएका एप्सहरूबारे अनुसन्धान थालेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिनुभयो  । 


साइबरसम्बन्धी जनशक्ति नहुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानका लागि सीआईबीबाट टोली मगाएको थियो । 

प्रहरी नायव उपरिक्षक (डिएसपी) ठगबहादुर केसीका अनुसार  ठगी कसूरमा मुख्य अभियुक्तका रूपमा भारतको बिहारका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका–१३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले साउन ८ गते दिनमा ९ जना संचालक र २१५ जना कामदारलाई नियन्त्रणमा लिएको थियो ।

बैंकिङ एप्समार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाइएको छ । तिलोत्तमा–२ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक ३ लाख २५ हजार रुपैयाँ तिरेर घर भाडामा लिएको थियो । तिलोत्तमाको कल सेन्टर र काठमाडौंको कल सेन्टरबीच सम्बन्ध रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

बुटवल आएको सीआईबीले काठमाडौंसहित देशका मुख्य शहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंकासहित अनुसन्धान अघि बढाएको बताएको छ । आइतबार प्रहरीले त्यहाँ काम गर्ने १५० जना किशोर किशोरीलाई पक्राउ गरेको थियो । सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गने, मानिसलाई धम्क्याउने लगायतका गतिविधि हुने गर्दथे ।

यहाँ १६ देखि २२ वर्ष उमेर समूहका किशोर किशोरीको प्रयोग गरेर चाइनिज सफ्टवेयरको प्रयोग मार्फत् गैरकानुनी काम हुने गरेको थियो ।