• ८ वैशाख २०८१, शनिबार

वडा कार्यालयको छाप र लेटरप्याडको दुरुपयोग

blog

वडा कार्यालयको फाइल तस्बिर

कविराज घिमिरे 

धनकुटा, साउन १० गते । धनकुटा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग भएको पाइएको छ । 

वडामा रहेको ऐतिहासिक मार्गापोखरी संरक्षण समितिले प्रदेश सरकारबाट पाएको ६ लाख रुपियाँ नगद भुक्तानीको लागि वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको हो । 

प्रदेश सरकार, पर्यटन मन्त्रालयले मार्गापोखरी संरक्षणको लागि ६ लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटमा सम्झौता गर्दा वडा कार्यालयको सिफारिसमा लगेको भए पनि रकम निकासा गर्दा भने छाप र लेटरप्याड आफैँ बनाएर लगेको वडा कार्यालयले बताएको छ ।

मार्गापोखरी संरक्षण समितिका निवर्तमान सचिव दामोदर सुवेदी र जलकल्याण माविका प्रधानाध्यापक चिरञ्जीवी दाहालको नेतृत्वमा छाप र लेटरप्याड दुरुपयोग भएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको छाप र लेटरप्याड कसरी प्रयोग गर्नुभयो भनेर प्रश्न गर्दा छाप विद्यालयमा निवर्तमान वडाअध्यक्ष कमल कार्कीले दिएको र लेटरप्याड कम्प्युटरबाट निस्किहाल्छ नि भन्ने जवाफ दिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले बताउनुभयो।

 सम्झौता गर्दा वडामा दर्ता चलानी गरिएको र रकम भुक्तानी गर्दा दर्ता चलानी नगरिएको वडा कार्यालयले जनाएको छ । वडा सदस्य श्रेष्ठले केही महिना अगाडि नयाँ कार्यसमिति गठन भए पनि नयाँ कार्यसमितिलाई जानकारी नै नगराई काम गरेको पाइएको जानकारी दिनुभयो । नयाँ कार्यसमिति अध्यक्ष तुलसा श्रेष्ठले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । समिति गठन गर्दा आफूलाई अध्यक्ष बनाएको पनि पछि थाहा पाएको उहाँको भनाइ छ । 

वडाध्यक्ष नगेन्द्र पाण्डेले भने यो विषयमा सहमति गरिएको बताउनुभएको छ । दामोदर सुवेदी र चिरञ्जीवी दाहालले किर्ते गरेर रकम निकासा गरेको बताउनुभयो । सो विषयमा आमभेला गराएको समेत जानकारी दिनुभयो । समितिका निवर्तमान अध्यक्ष टं.ङ्क दर्लामीले चेकमा पहिले नै सही गरेर छोडेकोले पैसा निकालेको बताउनुभयो । पैसाको दुरुपयोग भएको पाइएन मन्दिरमै खर्च गरेको पाइयो त्यसैले एक पटकलाई आमभेलाले माफी दिने निर्णय गरेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।