• ३ साउन २०८१, बिहिबार

डा. चौरासियासँग स्पष्टीकरण : अनियमितताबारे सूक्ष्म अध्ययन हुने

blog

फाइल तस्बिर

काठमाडौं साउन १० गते। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरासियासँग स्पष्टीकरण लिनुभएको छ। 

औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग स्पष्टीकरण सोध्नुभएको हो।   

स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जवाफ मागिएको थियो। सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरिद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिनुभयो।  

स्वास्थ्य राज्यमन्त्री केसीले भन्नुभयो, ‘‘यसबारे मन्त्रालयको तर्फबाट सूक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्छौ।’’

स्वास्थ्य राज्यमन्त्री केसीले १० अर्बको औषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपियाँको लेनदेनम सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो ? वास्तविकता के हो ? भनेर जवाफ माग गर्नुभएको थियो।  सोही समयमा आपूर्ति शाखा प्रमुख डा. चौरासियाले भने आफूले गल्ती नगरेको जवाफ फर्काउनुभयो।

  १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपियाँको लेनदेनमा सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।