• १२ साउन २०८१, शनिबार

विश्वकप फुटबलका लागि मौसमी श्रमिक पठाइँदै

blog

काठमाडौँ, साउन १० गते  ।  नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता हुन गइरहेको छ ।

मन्त्रालयले सोमबार कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट मौसमी श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको पत्रमार्फत जानकारी गराएको छ । 

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले मौसमी श्रमिक भए पनि नेपालबाट पठाउँदा श्रमिकलाई श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको जानकारी दिनुुभयो ।  

विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो । सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो ।  

उहाँका अनुसार विश्वकप फुटबलका लागि मौसमी श्रमिक पठाउने सम्बन्धमा नेपाल सरकारको धारणा के हो भन्ने विषयमा कतारमा रहेको नेपाली दूतावासले पत्र लेख्यो । यो विषयमा यहाँ छलफल गरेर शून्य लागतमा श्रमिक पठाउन अनुमति दिने निर्णय गरिएको हो । 

श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ । मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । 

वैदेशिक रोजगार महाशाखाका प्रमुुखसमेत रहनुुभएका पोखरेलले विश्वकप फुटबल आउन केही महिना मात्र बाँकी रहेकाले श्रम मन्त्रालयले मागपत्र कतारमा रहेको दूतावासबाट प्रमाणीकरणपछि श्रमिक पठाउने प्रक्रियालाई पनि छिटो र सरल रूपमा हुनगरी व्यवस्था हुने जानकारी दिनुुभयो । 

सहसचिव पोखरेलले विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली श्रमिक पठाइने भएकाले सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीलाई अनुमति दिने जानकारी दिनुुभयो । 

त्यस्तै मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

सहसचिव पोखरेलले कानुनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँकतैबाट त्योभन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै श्रमिक पठाउन कानुनी अड्चन नभएको जानकारी दिनुुभयो । उहाँका अनुसार नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन । श्रमिकका लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवासुविधाका बारेमा जानकारी हुनेछ तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् ।