• २१ कात्तिक २०८२, शुक्रबार

भन्सारबाट अवैध कारोबार आशङ्का

blog

ढुवानी सेवामा छापा मारेपछि कपडा नियन्त्रणमा लिएर लैजाने तयारी गरिँदै । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, कात्तिक २१ गते । भारतबाट आयात गरिएका मालवस्तु जाँचपासका लागि भन्सारमा पेस गरिएको प्रज्ञापनपत्रसँग मेल नखाएपछि विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट प्रतिनिधि भएर कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

सीमामा सुरक्षा कडाइ गरिएपछि भन्सार कार्यालय हुँदै अवैध रूपमा सामान सवारीमा राखेर नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा कारोबारी विराटनगर–१७ का कुन्दन मण्डललाई नियन्त्रणमा लिइएको हो ।

मण्डललाई नियन्त्रणमा लिएपछि अहिले राजस्व अनुसन्धान कार्यालय इटहरी र भन्सार कार्यालय विराटनगर दुवैले कारोबारसँग सम्बन्धित रहेर अनुसन्धान सुरु गरेका छन् । भन्सारले नियन्त्रणमा लिएपछि कारोबारी मण्डललाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईका अनुसार भन्सारले अनुसन्धान पूरा नहुँदासम्म हिरासतमा राखिदिन पत्राचार गरेको छ । 

विराटनगर भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी विमलकुमार साहका अनुसार गत मङ्गलबार मण्डलले को. २ त २४१ र को. १ त ९७१७ नम्बरको ट्याक्टरबाट आयात भएको कपडाको जाँचपास गराउनुभएको थियो । भन्सार क्लियरिङ एजेन्ट सौगात पोखरेलको फर्मको प्रतिनिधि भएर जाँचपासको काम पनि गर्र्ने, आफैँ कारोबार पनि गर्ने मण्डलको को. २ त २४१ नम्बरको ट्याक्टर सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट रानीले भन्सारबाहिर नियन्त्रणमा लिएको थियो । 

त्यसपछि चेकजाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख गरेभन्दा बाहेकको सामानसमेत फेला परेको थियो । उक्त ट्याक्टरसँगै जाँचपास भएको अर्को ट्याक्टर मण्डलले भन्सारपरिसरमै रोकेर राखेपछि झन् आशङ्का बढेको थियो । भन्सार जाँचपास गराइसकेको मालवस्तु बोकेको सवारी भन्सारपरिसरमा रोक्न पाइँदैन तर बाहिर सशस्त्र प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि भन्सारपरिसरमै रोकेर राखेको उक्त ट्याक्टर कार्यालयले नियन्त्रणमा लियो । 

त्यसपछि सशस्त्रले नियन्त्रणमा लिएको ट्याक्टर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट रानीका प्रहरी नायब उपरीक्षक विकास खतिवडाले मण्डलले गरिरहेको कारोबारमा त्रुटि रहेको सूचना आएपछि ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । 

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अधिकृत अर्जुन राईका अनुसार सशस्त्रले नियन्त्रणमा लिएर बुझाएको ट्याक्टर र प्रज्ञापनपत्र हेर्दा कारोबारमा आशङ्का उब्जेको थियो । त्यसपछि मण्डलले अवैध रूपमा आयात गरेर ढुवानीका लागि पठाएको सामान नियन्त्रणमा लिइएको छ । 

बुधबार दिउँसो मण्डलले ट्रान्सपोर्टबाट पठाउन लागेका ३४ पोका कपडासमेत राजस्व अनुसन्धानको कार्यालयले नियन्त्रणमा लिएको राईले जानकारी दिनुभयो । विराटनगर–६, केसलियास्थित बुद्धपूजा ढुवानी सेवामा दिउँसो छापा हानेर सामान नियन्त्रणमा लिएपछि त्यससँग सम्बन्धित कागजात माग गरिएको थियो तर कारोबारीले पेस गरेको कागजातसँग सामानको विवरण मेल नखाएपछि बिहीबार मण्डलको विराटनगर–१७ स्थित निवासमा समेत राजस्व अनुसन्धानले छापा हानेको थियो । घरबाट भने कारोबारसँग सम्बन्धित कुनै पनि कागजात तथा वस्तु फेला नपरेको राईले जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान कार्यालयका अधिकृत राईका अनुसार मण्डललाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाले राजस्वको नियन्त्रणमा रहेको मालवस्तु गणना गर्न सकिएको छैन । उक्त वस्तुको अनुसन्धानका लागि कारोबारमा संलग्न व्यक्ति स्वयम् उपस्थित भएर निवेदन दिएपछि मात्रै कारबाही अगाडि बढ्ने छ ।