गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक २१ गते । सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ ।
पहिलो किस्ता बुझाएसँगै सो उद्योगमा विद्युत् आपूर्ति पनि जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको किस्ता तिरेको हो । कम्पनीको जम्मा बक्यौता ७५ करोड ३७ लाख रुपियाँ थियो । प्राधिकरणले उक्त बक्यौतालाई २८ किस्तामा विभाजन गरेको र पहिलो किस्ताका रूपमा दुई करोड ७७ लाख रुपियाँ बुझाएको उहाँको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले गत असोज १२ गते जारी गरेको सार्वजनिक सूचना अनुसार निर्धारित समयमा बक्यौताको किस्ता नतिरेको भन्दै कात्तिक ४ गते रिलायन्ससहित छ उद्योगको लाइन काटिएको थियो । त्यसको दुई दिनपछि पुनः १९ उद्योगको लाइन काटिएको थियो ।
लाइन काटिएपछि आठ उद्योगले यसअघि नै किस्ता भुक्तान गरेका थिए । रिलायन्ससहित किस्ता तिर्नेको सङ्ख्या नौ पुगेको छ ।
रिलायन्स व्यवस्थापनले भने यो किस्ताका रूपमा नभई धरौटीका रूपमा भुक्तान गरिएको दाबी गरेको छ । “यही सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले सुझाए अनुसार तत्कालका लागि धरौटीमा रूपमा एक किस्ता बराबरको रकम भुक्तान गरेको छौँ,” रिलायन्सले जारी गरेको सूचनामा भनिएको छ । रिलायन्सले विद्युत् आपूर्ति जडान भएसँगै न्यायिक निरूपणका लागि सम्बधित निकायमा पनि आवेदन गर्ने जनाएको छ ।