• १० मंसिर २०८१, सोमबार

अबको अभियान ‘स्मार्ट कृषि’

blog

समयको परिवर्तन सँगसँगै मानवीय जीवनशैली, रहनसहन र आवश्यकता परिवर्तन हुँदै गएका छन्। विशेषगरी विज्ञान र प्रविधिको द्रुततर विकासले मानव जीवनसँग सम्बन्धित हरेक क्षेत्रमा प्रभाव पारेको देखिन्छ। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु तथा सेवादेखि शिक्षा, स्वास्थ्य, विभिन्न उद्योग, कलकारखानामा समेत विज्ञान र प्रविधिको विकासले भारी परिवर्तन ल्याएको छ। यति मात्र होइन, हातमा बोकी हिँड्ने फोनदेखि बसोवास गर्ने गाउँ, सहरसम्मलाई नयाँ प्रविधि र प्राविधिक विकासको सहायताले ‘स्मार्ट’ बनाउने होडबाजी नै चलेको देखिन्छ। उदीयमान नयाँ प्रविधिहरू दिनचर्याको महत्त्वपूर्ण भाग बनिरहेका छन्। जस्तै– स्मार्ट फोन, स्मार्ट सहर, स्मार्ट गाँउ, स्मार्ट पर्यटन आदि। यसको असर कृषि क्षेत्रमा पनि परेको देखिन्छ। कृषि उत्पादन, वितरण, बजारीकरणजस्ता क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी स्मार्ट कृषिको अवधारणा विकसित हुँदै गएको छ।

सामान्यतया स्मार्ट कृषिले परम्परागत कृषि प्रणालीबाट नयाँ आधुनिक प्राविधिमैत्री कृषि उत्पादन प्रणालीतर्फ उन्मुख अवस्थालाई जनाउँछ। यसलाई कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक वातावरणमैत्री प्रयोग र प्रविधिको संयोग पनि भन्न सकिन्छ। किसानलाई आधुनिक कृषि प्रविधिको पहुँचमा सहजता ल्याउँदै उनीहरूको श्रम र समयको बचत सँगसँगै उत्पादन दक्षतामा वृद्धि गर्नु यसको मुख्य उद्देश्य हो। यसभित्र प्रविधिको मात्र बहस नगरी कृषि क्षेत्रको दिगो विकासका लागि रासायनिक मल र अन्य कीटनासक औषधि प्रयोगमा कमी ल्याउन प्रोत्साहित गरिन्छ। यसैगरी उत्पादित कृषिजन्य वस्तुको वितरण र बजारीकरणका लागि परम्परागत मार्गको सट्टा आधुनिक ‘डिजिटल’ बजारमा विभिन्न कृषि ‘एप’हरूका माध्यमबाट अनलाइन बिक्री वितरण गर्ने परिपाटीको विकास गर्छ। यसैले गर्दा स्मार्ट कृषिलाई ‘डिजिटल कृषि’का नामले समेत चिनिन्छ। 

मानव जीवन निर्भर हुने धेरै क्षेत्रमध्ये कृषि एउटा महत्त्वपूर्ण  क्षेत्र हो। औद्योगीकरण सुरु हुनुअघिको युगमा मानव जनसङ्ख्याको ठूलो हिस्सा यस क्षेत्रमा संलग्न थियो। जनसङ्ख्या वृद्धि सँगसँगै बढेको खाद्यान्नको माग पूर्तिका लागि यस क्षेत्रमा विभिन्न प्रविधिको प्रयोग हुन थाल्यो। यान्त्रिकीकरणका रूपमा १९औँ शताब्दीको अन्त्यतिर पहिलो पटक कृषि क्षेत्रमा ट्र्याक्टरको प्रयोग हुन थालेको देखिन्छ। यसपछि क्रमशः उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न उन्नत प्रविधिको प्रयोग हुँदै गएको पाइन्छ। सन् १९९० को सुरुवातदेखि नै कृषि क्षेत्रमा पनि उच्च स्तरका प्रविधि र सेन्सर सञ्जालको समेत प्रयोग गरी हावाको तापक्रम, सापेक्षिक आद्रता, माटोको आद्रता, माटोको तापक्रम, सिँचाइ नियन्त्रण प्रणाली, पशु कल्याण, वातावरणीय प्रभाव आदिको मापनका आधारमा उत्पादन प्रक्रिया अगाडि बढेको छ।

दिगो विकासको अवधारणाअनुरूप संयुक्त राष्ट्रको खाद्य र कृषि सङ्गठन (एफएओ)ले पहिलो पटक सन् २०१० मा कृषि, खाद्य सुरक्षा, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने हेतुले जलवायु–स्मार्ट कृषिको अवधारणा अगाडि सारेको थियो। कृषि उत्पादकत्व र आम्दानी बढाएर दिगो रूपमा खाद्य सुरक्षा बढाउने र हरितगृह ग्यास उत्सर्जन घटाउने मुख्य उद्देश्य रहेको यो अवधारणा प्रभावकारी रूपमा अगाडि बढेको दाबी गरिएको छ। यस्तै इजरायलको कृषि प्रणाली पनि विश्वचर्चित छ। अपर्याप्त कृषियोग्य भूमि र सिँचाइ सुविधाका अतिरिक्त पनि आधुनिक प्रविधि र नयाँ अनुसन्धानको सहायताले यस क्षेत्रबाट मनग्य फाइदा लिन सफल भएको छ। 

छिमेकी मुलुक भारतमा समेत ‘स्मार्टफोनबाट खेतीकिसानी’ कार्यक्रम अघि सारेदेखि धेरै किसानले यसबाट लाभ उठाएका उदाहरण प्रशस्त देखिन्छन्। विभिन्न मुलुकहरू जस्तै– संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, जर्मनी, पोल्यान्ड, इटाली, युके, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियम, स्विट्जरल्यान्ड, टर्की, रुस, जापान, अस्ट्रेलिया आदि देशहरूले समेत स्मार्ट–कृषि अभियानलाई आगाडि बढाएका छन्। यसैको परिणामस्वरूप यी मुलुकहरू कृषिमा आत्मनिर्भर बन्न मात्र सफल भएका छैनन्, अन्य मुलुकमा निर्यात गरेर देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पु-याएका छन्। 

कृषिप्रधान मुलुकका नामले परिचित हाम्रो मुलुकका अधिकांश ठाउँमा अझै पनि परम्परागत खेती प्रणाली नै प्रचलनमा छ। यसले गर्दा मुलुकका करिब दुईतिहाइ जनशक्ति प्रत्यक्ष रूपमा आबद्ध यस क्षेत्रले देशको अर्थतन्त्रमा भने एक चौथाइ हिस्सा ओगट्न पनि मुस्किल छ। यसको प्रमुख कारण कृषिलाई प्रविधिसँग जोड्न नसक्नु हो। 

यसकारण नेपालमा स्मार्ट कृषिको अवधारणा बढी सान्दर्भिक देखिन्छ। यो अवधारणामा कृषिजन्य वस्तुको उत्पादन गर्नुभन्दा पहिले कृषिविज्ञहरूको संलग्नतामा माटोको गुणस्तर, सापेक्षिक आद्रताको परीक्षण गरिन्छ। यसको आधारमा वातावरणमैत्री बीउबिजनको छनोट गरिन्छ। त्यसपछि उपयुक्त प्रविधिको प्रयोग गरेर बाली रोप्ने काम गरिन्छ। यसका निमित्त परम्परागत औजार हलो, कुटो, कोदालोको ठाउँमा आवश्यकताअनुसार ट्र्याक्टर, हातेट्र्याक्टर, ट्रेचरजस्ता नयाँ उपकरण प्रयोग गरिन्छ। यसले एकातिर किसानको श्रम र समयको बचत गर्छ भने अर्कोतर्फ उत्पादन बढाउनसमेत सहयोग गर्छ। यसपछि उत्पादित फसललाई काट्न एवं भित्र्याउन  र बजारीकरणका लागि पनि नयाँ प्रविधि र डिजिटल बजारको खोजी गरिन्छ। किसानले विभिन्न कृषि एप प्रयोग गरी अनलाइनमार्फत सोझै उपभोक्तालाई आफ्ना उत्पादन बिक्री गर्न सक्छन्। यसबाट किसानको बजार क्षेत्र पनि फराकिलो हुन्छ भने बिचौलियाबाट ठगिने सम्भावना पनि घटेर जान्छ। 

नेपालमा स्मार्ट कृषि अवधारणाको सुरुवात नभएको भने होइन। करिब पाँच वर्षपहिले नै नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत जैविक विविधता अनुसन्धान र विकासका लागि स्थानीय पहल कार्यक्रमले जलवायु–स्मार्ट कृषिको अवधारणा अगाडि ल्याएको थियो। यसअन्तर्गत देशका विभिन्न ठाउँमा थोपा सिँचाइ कार्यक्रमलाई अगाडि बढाइएको थियो। मौसमी खेतीमा निर्भर किसान यस कार्यक्रमबाट लाभ उठाउन सफल भएका थिए। विभिन्न स्थानीय निकायले समेत स्मार्ट कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा ल्याएका छन्। केही समयपहिले भूमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले जिल्लाका विभिन्न क्षेत्रमा ‘स्मार्ट कृषिगाउँ’ घोषणा गरेको थियो। रुकुम पूर्व भूमे गाउँपालिका–१, लुकुमलाई स्मार्ट भेडापालन र सिस्ने–८ को पाटागाउँ र झिमखोलालाई सुन्तला स्मार्ट कृषि गाउँ घोषणा गरिएको थियो। अर्घाखाँची जिल्लामा पनि सञ्चालनमा आएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका छवटै स्थानीय तहमा सञ्चालनमा आएको छ। 

यस्तै दाङ, प्युठान, बाँके, बर्दिया जिल्लाले समेत यो कार्यक्रम सञ्चालनमा ल्याएका छन्। यिनै कार्यक्रमलाई टेवा पुग्ने गरी विभिन्न स्थानमा कृषि ज्ञान केन्द्रसमेत स्थापना गरिएका छन्। यसैगरी डिजिटल कृषि बजारलाई टेवा पुग्ने गरी विभिन्न कृषि ‘एप’ जस्तै– स्मार्ट कृषि, हार्मो कृषि, कृषि गुरु आदि पनि सञ्चालनमा आएका छन्। यी एपबाट अनलाइनमार्फत सोझै कृषिजन्य वस्तु खरिद बिक्री गर्न सकिने सुविधा छ। यसरी हेर्दा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि विभिन्न पहल भएका देखिन्छन् तर यसबाट अपेक्षित लाभ अझै पनि उठाउन सकेको अवस्था छैन।  

नेपाल सरकारले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको अवधारणा त्यति बेला मात्र सम्भव हुन्छ, जति बेला देश आर्थिक रूपमा समृद्ध हुन्छ। यसका लागि सबैभन्दा महìवपूर्ण क्षेत्र कृषिको विकास हुनु जरुरी छ। सबैभन्दा बढी मानिस आश्रित र उपलब्ध स्रोतसाधनको हिसाबले पनि सहज यो क्षेत्रको विकासमा ‘स्मार्ट कृषि’को अवधारणा एउटा कोसेढुङ्गा बन्न सक्छ। यसका लागि सरकारले केन्द्रस्तरबाटै योजना तर्जुमा गर्नुपर्ने देखिन्छ भने यसको महत्त्व  र प्रयोगका बारेमा किसानलाई सुसूचित गर्नुपर्ने देखिन्छ। कृषि क्षेत्रमा युवा आकर्षित गर्न र यसको व्यवसायीकरणमा समेत ‘स्मार्ट कृषि’ अवधारणाले महìवपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुई मत छैन।