• २५ कात्तिक २०८२, मङ्गलबार

मतदाता नामावली सङ्कलनको समय चार दिनमात्रै बाँकी

गण्डकीका नयाँ मतदातामा उत्साह, थपिए साढे एघार हजार

blog

प्रदेश निर्वाचन कार्यालय गण्डकीमा मतदाता परिपत्रका लागि तस्बिर खिचाउँदै नयाँ मतदाताहरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक २५ गते ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी अहिले देशैभर मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम चलिरहेको छ । सोअनुरुप गण्डकी प्रदेशका ११ वटै जिल्लामा उत्साहपूर्वक नयाँ मतदाताले नाम दर्ता गर्दै छन् ।
गत असोज १० बाट सोमबारसम्म गण्डकी प्रदेशमा ११ हजार छ सय ६२ नयाँ मतदाता थपिएका छन् । असोज १० अघि गण्डकी प्रदेशका कुल मतदाताको सङ्ख्या १८ लाख २६ हजार ३१ थियो । तीमध्ये नौ लाख ३७ हजार दुई सात सय ३९ महिला, आठ लाख ८८ हजार सात सय ८१ पुरुष र तेस्रो लिङ्गीको सङ्ख्या ११ थियो ।
सोमबारसम्म थपिएका नयाँ मतदातासहित गण्डकीको कुल मतदाता १८ लाख ३७ हजार छ सय ९३ पुगेको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने कात्तिक ३० गतेसम्म मतदाताले नाम लेखाउन सक्ने र जुनसुकै कार्यालयबाट पनि नाम दर्ता हुने भएकाले मतदाताको यकिन सङ्ख्या आउन मङ्सिर पहिलो सातासम्म लाग्ने बताउनुहुन्छ ।
कास्कीका दैनिक सरदर तीन सय जनाले नाम दर्तापछि कार्यालयमै पुगेर तस्बिर खिचाउने गरेका छन् । कास्की, नवलपरासी, तनहुँ, स्याङ्जा, गोरखा, बागलुङ लगायतका जिल्लामा नयाँ मतदाताको भीड लागेको छ । मनाङ र मुस्ताङमा भने मौसम र कम जनसङ्ख्याका कारण फाट्टफुट्ट नयाँ मतदाता निर्वाचन कार्यालयहरुमा आउने गरेका छन् । 
४३ वर्षीय बमबहादुर कुँवर सोमबार प्रदेश निर्वाचन कार्यालय गण्डकीमा भेटिनुभयो । लामो समय विदेश बसेर फर्किएको सुनाउँदै उहाँले थप्नुभयो, “मतदाताकै भोटले सांसद चुनिन्छन्, सरकार बन्छ, देश बनाउने सरकार छान्नु छ ।” प्रदेशभरिकै निर्वाचन कार्यालयमा युवा मतदाताको बाहुल्य छ । 
आइतबार तस्बिर खिचाउन लामबद्ध पोखरा–३२ की २ वर्षीया सन्ध्या गुरुङले १८ वर्ष पुगेका सबैले मतदाता नामावली बनाउनुपर्ने र देश बनाउने नेतृत्व चुन्नुपर्ने भएकाले कार्यालय आएको प्रतिक्रिया दिनुभयो । “अब युवाको पालो हो देशमा केही गर्ने, हामी पछि पर्नु भएन नि,” उहाँको भनाइ छ ।
असोज १० पछि सबैभन्दा धेरै मतदाता कास्कीमा चार हजार पाँच सय ९७ जना थपिएका छन् । तीमध्ये दुई हजार सात सय सात पुरुष, एक हजार आठ सय ८९  महिला र एक अन्य छन् । सबैभन्दा कम मनाङमा ३५ जना मतदाताले तस्बिर खिचाएको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । तीमध्ये पुरुष २२ र महिला १३ जना रहेको जिल्ला निर्वाचन कार्यालय मनाङ प्रमुख गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो ।
मुस्ताङमा ४३ पुरुष र २३ महिला गरी ६६ मतदाता थपिँदा म्याग्दीमा एक सय ३१ पुरुष र दुई सय २५ महिलाले मतदाता नामावलीका लागि तस्बिर खिचाएका छन् । बागलुङमा सात सय ११ नयाँ मतदाता थपिँदा पर्वतामा छ सय छ, नवलपरासी (वर्दघाट सुस्तापूर्व)मा एक हजार छ सय १० ले तस्बिर खिचाएका छन् । 
तनहुँमा सात सय ८५ पुरुष र पाँच सय ३० महिला, लमजुङमा चार सय ५३ पुरुष र दुई सय ७६ महिला मतदाता थपिएका छन् । स्याङ्जामा महिला छ सय १४ र पुरुष तीन सय ४० गरी नौ सय ५४ जनाले मतदाता नामावलीका लागि तस्बिर खिचाएका छन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापा अनलाइनबाट नाम दर्ता गराउने सबैलाई कार्यालयमा आई तस्बिर खिचाउन अनुरोध गर्नुहुन्छ ।

“केहीले अनलाइन दर्ता गराएपछि सकियो जस्तो सोचेको पाइयो, कार्यालयमै आएर तस्बिर नखिचाई प्रक्रिया पूरा हुँदैन,” उहाँले भन्नुभयो । मतदाता नामावलीमा नाम लेखाउने समय एक सातामात्र बाँकी रहँदा कार्यालयहरुमा नयाँ मतदाताका लागि नाम लेखाउनेहरुको भीड बढ्दै गएको छ ।