• १० मंसिर २०८१, सोमबार

नारी सङ्घर्षको कथा

blog

अचेल विदेश भ्रमणका अनुभवलाई समेटेर पनि उपन्यास लेखिएको पाइन्छ । यसक्रममा विमला अधिकारी देवकोटाले स्वदेश र विदेशको सामाजिक परिवेशलाई समेटेर ‘मनकली’ उपन्यास प्रकाशन गर्नुभएको छ । 

रोजगारीको क्रममा लामो समय इजरायल बस्दा उपन्यासकारले भोगेका र देखेका परिवेशलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास लेखिएको हो । विदेश जान नेपाली युवालाई बाध्य पार्ने नेपालको वर्तमान परिस्थितिको पनि यसमा सुन्दर वर्णन गरिएको छ ।

‘मनकली’ उपन्यासको मुख्य पात्र मनकली नै हो तर जीवनमा थुप्रै हन्डर खाएर अमेरिका उड्नका लागि तयार भएको अवस्थामा उसको अत्यन्तै मिल्ने साथी रूपाको मनमा केकस्ता विषय उठे, त्यसलाई पनि यसमा उतारिएको छ । 

उपन्यासकी दोस्रो प्रमुख नारी पात्र रूपाले मनकलीको दर्दनाक पारिवारिक चित्रले उसमा कस्तो प्रभाव प-यो भनेर पनि उपन्यासमा देखाइएको छ । मनकलीका पिता हुकाराम र माता धनिसराले पश्चिम नेपालको बैतडी र डोटी क्षेत्रमा झेल्नुपरेको आर्थिक कठिनाइलाई उपन्यासको अग्रभागमा राखिएको छ । आर्थिक कठिनाइका कारण मनकलीले आफ्नी दिदीको घरमा बसेर उठाउनु परेको कष्ट सविस्तार वर्णन गरिएको छ । यस्तै मनकली र रूपासहित अन्यले स्कुल जीवन बिताउँदाको अविस्मरणीय क्षणलाई मनमोहक ढङ्गमा प्रस्तुत गरिएको छ ।

काठमाडौँबाट हाकिम भएर पश्चिम पुगेका प्रकाशसँग पितामाताले विवाह नगरी बेरोजगार रक्स्याहा युवकसँग मनकलीको विवाह गरिदिँदा झेल्नुपरेको दुःख र पीडालाई उपन्यासमा सशक्त रूपमा उठाइएको छ । श्रीमान्को पिटाइ र घरको कामले पहिलो बच्चा खेर गएको, दोस्रोमा छोरी भएको, तेस्रो बच्चा पनि खेर गएको र चौथोमा छोरी भएको तथा यी दुई छोरीको पालनपोषणमा मनकलीले उठाउन परेको कष्ट वडो मार्मिक छ । यस्तो परिवेशमा मनकली एसएलसीमा असफल भएपछि पढाइ रोकिएको तर रूपा भने उत्तीर्ण भएर जनकजस्तो असल व्यक्तिसँग विवाह बन्धनमा बाँधिएकाले रूपाको जीवन सुखसँग चलिरहेको देखाइएको छ ।

स्वदेशको सङ्घर्षपछि मनकली रोजगारीका क्रममा इजरायल पुग्छिन् । इजरायलमा बूढीआमाहरूको सेवामा लाग्दा हन्डर खान्छिन्, चोरीको आरोप भोग्छिन् । कामबाट पटक पटक निष्कासित हुन्छिन् । उनीमाथि गरिएको दुव्र्यवहारको त कुनै लेखाजोखा नै हँुदैन । यस्तो परिस्थितिमा बाध्य भएर मनकली स्वदेश फर्किन्छे । क्यानडाका लागि प्रयास गर्छे । तर दलालहरूले उसको पैसा खाइदिन्छन् । नेपाल फर्किएर चिया पसल चलाउँदै गरेकी मनकली अमेरिका उड्न हिँडिसकेको अवस्थामा अर्को पात्र रूपा धेरै चिन्तित हुन्छे । मनकलीको सिङ्गो जीवन उसको दिमागमा ऐनाजस्तै छर्लङ्ग बनेर आउँछ । यसरी हेर्दा डायस्पोरा साहित्यको प्रभाव मनकली उपन्यासमा बलियो रूपमा देख्न सकिन्छ । अर्काको देशमा निषेधित र अपहेलित भएर बस्नु पर्ने बाध्यता र आफ्नो देशको मायालाई प्रस्तुत गर्दै डायस्पोराको विशेषतालाई उपन्यासमा राम्रोसँग उपयोग गरिएको पाइन्छ । उपन्यास ग्रामीण सामाजिक परिवेशमा आधारित छ । गाउँघरमा पनि सासू र नन्दले बुहारी र भाउजूप्रति गर्ने व्यवहारलाई उपन्यासमा सजीव किसिमले उतारिएको छ । छोरी र बुहारी तथा छोरा र छोरीबीचको विभेदले समाजमा सिर्जना गरेको द्वन्द्वलाई उपन्यासकारले आफ्ना पात्रमार्फत राम्रोसँग उजागर गर्नुभएको छ । 

अशिक्षा, बेरोजगारी र आर्थिक समस्याले मानिसलाई कस्तो असर गर्छ ? यसको अभिव्यक्ति हो– मनकली उपन्यास । बालविवाह र प्रजनन स्वास्थ्यको कारण आज नारीहरूको ज्यान गइरहेको र बच्चाहरू कुपोषणको सिकार भएको सन्दर्भले पनि यही तथ्यलाई बल दिन्छ । उपन्यासकी पात्र मनकली र प्रकाशले एकअर्कालाई चाहँदा पनि विवाह बन्धनमा बाँधिन नसक्नुले उपन्यासले असफल प्रेम कहानीको अर्को विशेषतालाई उजागर गरेको छ । उपन्यासमा आधुनिकता र परम्परावादी शक्तिबीचको द्वन्द्वलाई देखाइएको छ । पुरानो पुस्ता र परम्परावादी शक्तिले जबरजस्ती भिड्न खोजे पनि आधुनिकतावादी शक्ति विजयी बनेको उपन्यासको निष्कर्ष छ ।

उपन्यास स्वदेश र विदेशको यथार्थ घटनामा आधारित छ । तर यो आदर्शोन्मुख छ । अनि सुधार चेतनाले भरिपूर्ण छ । उपन्यासकी मुख्य पात्र मनकली कठोर सङ्घर्ष गर्दै अमेरिका जाने अवस्थासम्म आइपुग्नुले उपन्यास सफल सङ्घर्षको कथा बन्न पुगेको छ । मनकलीको विदेश प्रस्थानपछि रूपाको मनमा उर्लिएको ज्वारभाटाहरूको पनि राम्रोसँग चित्रण गरिएको छ । यसले उपन्यासको मनोविश्लेषणात्मक पक्षलाई पनि सबल बनाएको छ ।

मनकली उपन्यास नारीप्रधान उपन्यास हो । यसका मुख्य पात्रहरू मनकली, रूपा र सासू रहेका छन् भने पुरुष पात्रमा घनश्याम र प्रकाश रहेका छन् । मनकली, रूपा, प्रकाश सत्पात्रको रूपमा देखिन्छन् भने सासू, घनश्याम खराब पात्रको रूपमा । यथार्थमा मनकलीका पात्रहरूले सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गरेका छन् । यी पात्रहरूको जीवनबाट निश्चय नै समाजले सकारात्मक सन्देश प्राप्त गर्दछ । उपन्यास मनकलीको जीवन सङ्घर्षसँग सम्बन्धित भएकाले यो शीर्षकको सान्दर्भिकता झल्किन्छ । पात्र र सन्देशको दृष्टिकोणले उत्कृष्ट रचना रहेकाले पाठकहरू माझ उपन्यासको बलियो प्रभाव रहने देखिन्छ । उपन्यासको शब्द संयोजनमा मिठास छ । भाषिक सरलताले सौन्दर्य छरेको छ । राइटर्स इन्टरनेसनल, कोलोराडो, अमेरिका प्रकाशक रहेको यस उपन्यासको मूल्य ४४९÷– रुपियाँ तोकिएको छ ।