• २२ कात्तिक २०८२, शनिबार

गन्तव्य लुभु–लाँकुरीभन्ज्याङ

blog

लुभुले अयोध्यालाई राम दियो, राजा दियो । लुभुले अङ्गदेशलाई राजा दियो । ज्वाइँ दियो । वंश स्थापित गरिदियो । यो लुभु, महालक्ष्मी ललितपुरको मात्र गर्वको स्थान होइन; सम्पूर्ण नेपालीको गर्वको विषय हो । गोभ्राटेश्वर त के हो र राम नै सिर्जना गर्ने अथवा हनुमान नै सिर्जना गर्ने महान् ऋषि श्रृङ्गीको जन्मस्थल लाँकुरीभन्ज्याङको शान्त, सौम्य, सानो तर दिव्य गुफा हो । यो दिव्य गुफा नै श्रृङ्गी ऋषिको आश्रम हो ।

प्रकृतिको प्राण संस्कृति हो, प्रकृति शरीर हो । यसभित्रको श्वास नै संस्कृति हो । प्रकृति र संस्कृति मिलेरै जीवन बनेको हुन्छ । साङ्ख्य योग तथा सनातन शास्त्रमा ‘प्रकृति र पुरुष मिलेरै सृष्टि हुन्छ’ भनिएको छ । प्रकृति भनेको भौतिक शरीर हो । पुरुष भनेको संस्कृति अर्थात् प्राण हो । शरीरबिनाको प्राण अथवा प्राणबिनाको शरीरको कुनै अस्तित्व हुँदैन । दुवैले एकअर्कामा निरन्तर भोग गरिरहेका हुन्छन् । शास्त्र भनेको प्रकृति र संस्कृतिको क्रीडाकै उपज हो । प्राकृतिक र सांस्कृतिक अनुभवका सङ्कलन नै शास्त्र हुन् । सबै शास्त्र समेटेर हेर्दा पहिला केही पनि थिएन अर्थात् शून्य थियो । शून्यमा तरङ्ग पैदा भयो । तरङ्ग–तरङ्गबिच घर्षण भयो । शून्यका तरङ्गबिचका घर्षण र टकरावले बिगब्याङ्ग– हिरण्यगर्भको सिर्जना भयो । यही शून्य, जुन छैन, यसैलाई शिव भनिन्छ । अहं बीजप्रदः पिता–शून्यतामा सृष्टिको गर्भधारण गराएर यो ब्रह्माण्डको रचना हुन्छ । ब्ल्याक होलमा तरङ्ग पैदा भएर बिगब्याङ्ग हुन्छ । जस्तो दृष्टि उस्तै सृष्टि– मानवको सृष्टिका प्रमुख पिता ब्रह्मा हुन् । ब्रह्माका पुत्र मारिचि, मारिचिका पुत्र कश्यप, कश्यपका पुत्र बिभाण्डक र बिभाण्डकका छोरा श्रृङ्गी ऋषि हुन् । जसरी यो ब्रह्माण्ड सिर्जना भयो, त्यसै गरी यो शरीर र समाजको विकास हुन्छ । डार्बिनको उद्विकासको सिद्धान्त र शास्त्रको अवतारवाद विश्लेषण गर्दा खासै फरक देखिँदैन । यही सृष्टि, शास्त्र र विज्ञानको अन्तरघुलनको दृष्टान्त नै श्रृङ्गी ऋषिको जीवनी हो ।  

लाँकुरीभन्ज्याङ 

सांस्कृतिक पर्यटकीय गन्तव्य लाँकुरीभन्ज्याङ ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–१० मा पर्छ । कोटेश्वरबाट ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, लामाटार, ढुङ्गिन हुँदै अथवा बालकोट, बिरुवा हुँदै उकालो करिब पाँच किमी चढेपछि भन्ज्याङ पुगिन्छ । लाँकुरीभन्ज्याङबाट गोदावरी, चापाखर्क, मानेदोभान, पनौती, रानीकोट, पाइलटबाबा, घ्याम्पेडाँडा जताततै जान सकिन्छ । यही लाँकुरीभन्ज्याङनजिकै रहेको छ– श्रृङ्गी ऋषिको आश्रम । यही स्थानमा श्रृङ्गी ऋषिको जन्म भएको हो भन्ने मान्यता छ । यहाँबाट काठमाडौँ, भक्तपुर, ललितपुर सबैतिर एकै दृष्टिमा देख्न सकिन्छ । किंवदन्ती अनुसार महामुनि कश्यप ऋषिका पुत्र बिभाण्डक ऋषि अत्यन्त सुन्दर र विद्वान् थिए । यही लाँकुरीभन्ज्याङ क्षेत्रमा अहिले एउटा ठुलो फुटबल ग्राउन्ड छ । त्यो एउटा प्राकृतिक खोँच हो । त्यस्ता खोँचहरूमा पहिले पानी भरिएर ताल बनेका हुन्थे तर जलवायु परिवर्तनको प्रभावले अहिले ती ताल र पोखरी सुक्दै गए । हाल बसपार्क बनेको आश्रम जाने बाटोमा पनि खोँच अथवा पोखरी थियो । मानव अतिक्रमण शून्य थियो । प्राकृतिक छटाले भरिपूर्ण थियो । त्यहीँ बसेर उनी तपस्या अर्थात् गर्भशास्त्रको अध्ययन अनुसन्धान गर्थे । उनको तपस्याले पूर्ण रूप पाउँदै थियो, इन्द्रको शासन हल्लियो । 

बिभाण्डक ऋषिको निष्कर्ष थियो, “वीर्य केवल शारीरिक द्रव्य मात्र होइन; यो मानसिक, आध्यात्मिक र प्रजनन शक्तिको प्रतीक हो । अनियन्त्रित वीर्य पतनले सिर्फ शरीर होइन, मानसिक–सामाजिक–आध्यात्मिक जीवनमा असर पु¥याउँछ । ब्रह्मचर्य र संयम मात्र रोग–निवारण होइन, यो ऊर्जा संरक्षण र चेतनाको विकासको साधन पनि हो । शरीरको शक्ति जोगाएर मन–चेतना र ओजस्विता सुदृढ बनाउनु मानव जीवनको मूल उद्देश्य हो ।” इन्द्रले यहीँ प्रहार गरे । हरेक दिन बिहान उनी स्नान गर्न तिनै पोखरीहरूमा आउने गर्थे– त्यतै इन्द्रले ब्रह्माण्डसुन्दरी अप्सराहरू पठाइदिए । तिनीहरू पनि तिनै पोखरीमा मस्त स्नान गर्थे । स्नान गर्दागर्दै त्यो देखेर नै ऋषिको वीर्य पतन भयो । इन्द्रको काम तमाम भयो तर त्यो वीर्य, उक्त पोखरीमा पानी पिउन आउने एउटी मृगीले ग्रहण गरी । उनको क्षमतामा अर्थात् आकर्षण अथवा चमकमा कमी आयो । इन्द्रको सत्ता हल्लिन छोड्यो । सत्ताको आकर्षण इन्द्रतिरै मोडियो ।

के मानिसको वीर्य जनावरमा सदुपयोग हुन्छ ? के मुखबाट ग्रहण गरेको वीर्यले गर्भधारण हुने सम्भावना हुन्छ ? समय बितेपछि त्यो मृगीले एउटा सुन्दर बालक जन्माइन् । ती बालकको शिरमा एउटा भव्य सिङ थियो । सिङ भएको बालक भएकाले उनको नाम श्रृङ्गी रहन गयो अर्थात् इन्द्रको आसन हल्लिएपछि गर्भशास्त्रका यी अध्ययन अनुसन्धान बन्द भए । 

यस्ता विलक्षण क्रियाकलापबाट जन्मिएका बालक श्रृङ्गी ऋषि आफ्ना बाजे, बाबु (कश्यप, बिभाण्डक) जस्तै अत्यन्तै जिज्ञासु र ज्ञानी थिए । बौद्ध मत अनुसार कश्यप बुद्ध (जस्तो अस्तु बौद्धमा राखिएको छ) का नाति, बिभाण्डकका छोरा शेराङ्ग नै श्रृङ्गी ऋषि हुन् । नलनिका जातक कथामा इन्द्रले फेरि छोराको पनि ब्रह्मचार्य नष्ट गर्न नलनिका नामक अप्सरा पठाउँछन् । अप्सराले अनेक प्रयत्न गर्छिन् तर श्रृङ्गी (शेराङ्ग) ले अर्को जन्ममा भेट्ने वाचा गर्छन् । अर्को जन्ममा तिनै अप्सरा यशोधरा भइन् । उनी गौतम बुद्ध भए भन्ने बौद्ध मत रहेको छ । शून्य र ब्रह्ममा भेद छैन । 

लुभु गोभ्राटेश्वर 

महालक्ष्मी नगरपालिका–८ मा पुरानो नेवाः बस्ती लुभु– सुवर्णछत्रपुर रहेको छ । पाशुपत ज्योतिर्लिङ्गमध्येको ४३ औँ सोमलिङ्गेश्वर स्वयम्भू लिङ्ग (सिरुटार), ४४ औँ गोभ्राटेश्वर सिद्धलिङ्ग (लुभु) र ४५ औँ भृङ्गेश्वर स्वयम्भू लिङ्ग (सुनाकोठी) हुन् भनी हिमवत्खण्डमा उल्लेख छ । हिमवत्खण्डको १३३, १३४ र १३५ अध्यायमा यसबारे स्पष्ट वर्णन गरिएको छ । ती बालक श्रृङ्गी ऋषिको हेरचाह चाहिँ कामधेनु गाईले गर्थिन् । उनीहरू हरेक दिन पशुपति गई ज्ञानविज्ञानको अध्ययन अनुसन्धान गर्थे । गाईबाट पनि अन्वेषण हुन्छ, यसलाई गवेषण भनिन्छ । एक दिन फर्किंदा गाईले हालको लुभुमा गोब्य्राइन् । त्यही कामधेनु गाईको गोबरमा श्रृङ्गीले आराधना गरेपश्चात् सिद्धलिङ्ग उत्पत्ति भयो । त्यस शिवलिङ्गको रेखदेख, पूजाअर्चना र आराधना उनैबाट हुन थाल्यो । यिनै श्रृङ्गी ऋषिले ४४ औँ पाशुपत ज्योतिर्लिङ्ग गोभ्राटेश्वर महादेव स्थापना गरे । 

चक्रनेमी (चक्रावती नदी उत्पत्ति भएको) पर्वतको फेदीमा गोभ्राटेश्वर मन्दिर र चन्द्रवत् (गोश्रृङ्गी नदी उत्पत्ति भएको) पहाडको गुफामा कामधेनु गाई बस्दथिन् । त्यही गुफा नै श्रृङ्गी ऋषिको आश्रम हो  । चक्रावती नदी र गोश्रृङ्गी नदीको प्रयाग (दोभान) नै गोश्रृङ्गी तीर्थ हो । हालको तिलपुखोलाको शिर त्रिपिन्गेश्वर महादेवको शिवालय भएको स्थान नै गोश्रृङ्गी तीर्थ हो भन्न सकिन्छ । श्रृङ्गी ऋषि हरेक दिन यही तीर्थमा स्नान गरेर गोभ्राटेश्वर महादेवको पूजा गर्ने गर्थे । यस मन्दिरमा कुनै व्यापारीले सुनको छत्र चढाएका थिए । त्यसपछि उनी मुक्त भएका थिए । त्यसैले यस क्षेत्रलाई सुवर्णछत्रपुर पनि भन्न थालियो । पछि भैरव र तान्त्रिक पद्धतिले सुनको छाता ओढाएर महामारी लागेका बेला बिरामीको उपचार पनि गरिएको थियो भन्ने भनाइ छ । गङ्गा महारानीले पनि उक्त सुवर्णछत्र प्रयोग गरेर बिरामीको उपचार गरेको कुरा स्थानीयवासी बताउँछन् ।  सुन जस्तो धान फल्ने अर्थात् लहलह धान झुल्ने फाँटले भरिएको लुभुमा भक्तपुरकी १६ औँ शताब्दीका राजा विश्व मल्ल (१५४७–१५६०) र उनका छोरा त्रैलोक्य तथा त्रिभुवन मल्ल (१५६०–१६१३) सम्म गङ्गा महारानीले नेपालमा शासन गरेकी थिइन् । उनी लुभुलाई अत्यन्तै माया गर्थिन् । उनले नै महालक्ष्मी मन्दिर स्थापना गरेकी थिइन् । लुभुमा उनको ३६५ झ्याल र वरिपरि पोखरी भएको पाँचतले भव्य दरबार थियो । उनले नै महालक्ष्मी महाभैरवको जात्रा सञ्चालन गरेकी थिइन् । महामारीका बेला तान्त्रिक रूपले सुनको पण्डाल निर्माण गरेर बिरामीको उपचार गरेकी थिइन् । भनिन्छ, उनले आफ्नो दाइजोमा ल्याएको सुनको थाल बेचेर लुभु स्थापना गरेकी हुन् । त्यसैले यो क्षेत्र सुनको थालसँग ज्यादै सम्बन्धित छ । त्यसैले यहाँ ठुलो सुनको थाल नै स्थापना गरिएको छ । भनिन्छ, यहाँका मानिस सुनको थालमा खाना खाने गर्थे अर्थात् असाध्यै धनी थिए । 

यही प्रसिद्ध महालक्ष्मीको मन्दिरबाटै यो नगरपालिकाको नाम महालक्ष्मी रहन गएको हो  । विश्वप्रसिद्ध पाल्पाली ढाकाको सुरुवात पुरानो नेपालको कपडाको सहर लुभुबाटै भएको हो । चर्खा प्रचारक गुठीले २०१६ सालतिर लुभुकै ढाका उत्पादकलाई ढाकाको तान बुन्ने तालिम दिन पाल्पा लागेका थिए । लुभु नेपालको प्रसिद्ध कपडा उत्पादन गर्ने पुरानो मल्लकालीन बस्ती हो ।

प्रेमकथा 

शास्त्र अनुसार अयोध्यामा धेरै वर्ष पानी परेन । ठुलो अनिकाल प¥यो । जनता भोकभोकै मर्न थाले । वाशिष्ठ र विश्वामित्र ऋषिको सल्लाह अनुसार दशरथले अङ्गदेशका राजा रोमपदलाई बोलाए । रोमपदका पनि सन्तान थिएनन् । जब उनी दरबार पुगे, यौटी सानी नानी दगुर्दै आएर अँगालो हालिन् । सुमसुम्याई माया गरी छोरीले आफ्ना बाबुलाई युगौँपछि भेटे जस्तो भयो । बाबुछोरीकै भेट भयो । उनी ती नानीलाई बोकेर दशरथ भएको ठाउँमा गए र अनुरोध गरे, “महाराज यी पुत्री मलाई दिनुहोस्, म आफ्नै पुत्री सरह पालनपोषण गर्ने छु ।” छोरी उनलाई दिनेबित्तिकै अयोध्यामा पानी प¥यो । सहकाल आयो । ती नानीको नाम शान्ता थियो । भनिन्छ, तिनको जन्म औँसीमा भएको थियो । केही अपाङ्गता पनि थियो । प्रेम भनेकै त्याग र समर्पण न हो । यिनै राजकुमारीसँग श्रृङ्गी ऋषिको विवाह भयो । केही समय उनी अङ्गदेश (कोशल देश– नेपालको पूर्वी तराई, बिहार, झारखण्ड तथा ओडिसा) का राजा पनि भए ।

अयोध्या र लुभुको सम्बन्ध 

इतिहासलाई अनुसन्धानले सच्याउने गर्छ । पुष्कर भट्नागर नामका एक अनुसन्धानकर्ताले वाल्मीकि रामायणको अध्ययन अनुसन्धान गरेर रामको जन्ममिति पत्ता लगाए । भगवान् रामको जन्मको समय, नक्षत्र, तिथि, बार आदि अध्ययन गरेर १० जनवरी ५११४ इसापूर्व हो भन्ने तथ्य पत्ता लगाए ।  यसलाई चन्द्रमासमा हिसाब गर्दा चैत्र शुक्ल नवमी नै पर्न आउँछ । अर्थात् आजभन्दा करिब ७११४ वर्षअघि अयोध्यामा उनको जन्म भएको थियो तर यो जन्म सजिलो थिएन । दशरथ ६० वर्ष भइसकेका थिए । सन्तान थिएनन्, चिन्ता थियो । सबै ऋषिमुनि र पुरोहितले पुत्रकामेष्टि यज्ञ गर्न सल्लाह दिए । तर कसले गर्ने ? हो त्यतिबेलाका गर्भशास्त्रका प्रकाण्ड विद्वान् बिभाण्डक ऋषि पुत्र श्रृङ्गी ऋषि नै थिए । प्रधानमन्त्री सुमन्थको सल्लाहमा ऋषि वाशिष्ठ र विश्वामित्र आएर लगभग १४/१५ वर्षका ऋषिलाई हात समातेर डो¥याएर लगे भन्ने कथा स्थानीय सुनाउँछन् । आफ्ना पिताबाट ज्ञान सिकेर उनी पनि गर्भशास्त्रका प्रकाण्ड विद्वान् बनेका थिए । लुभुमा गोभ्राटेश्वर स्थापना गरेको केही समय नबित्दै उनी अयोध्या गए । भव्यसँग पुत्रेष्टि यज्ञ सम्पन्न गराए ।  

यही यज्ञ–अनुष्ठानको प्रभावले मर्यादापुरुष भगवान् राम, लक्ष्मण, भरत र शत्रुघ्नको मात्रै होइन; बजरङ्गबली हनुमान्को पनि जन्म भयो । जताततै खुसियाली छायो । खुसीले राजाले आफ्नी धर्मपुत्री शान्तालाई श्रृङ्गीसँग विवाह गरिदिए । राजा रोमपदको मृत्युपछि केही समय उनी अङ्गदेशका राजा पनि भए । लुभुले अयोध्यालाई राम दियो, राजा दियो । लुभुले अङ्गदेशलाई राजा दियो । ज्वाइँ दियो । वंश स्थापित गरिदियो । यो लुभु, महालक्ष्मी, ललितपुरको मात्र गर्वको कुरा होइन; सम्पूर्ण नेपालीको गर्वको कुरा हो । गोभ्राटेश्वर त के हो र, राम नै सिर्जना गर्ने अथवा हनुमान नै सिर्जना गर्ने महान् ऋषि श्रृङ्गीको जन्मस्थल लाँकुरीभन्ज्याङको शान्त, सौम्य, सानो तर दिव्य गुफा हो । यो दिव्य गुफा नै श्रृङ्गी ऋषिको आश्रम हो ।

योगीलाई केही चाहिँदैन, केवल धर्म भए पुग्छ । उनलाई राजपद पनि चाहिएन । धनसम्पत्ति केही चाहिएन । सबै छोडेर उनी नेपाल फर्किए । पश्चिम नेपालको गुल्मी जिल्लाको रेसुङ्गामा आएर पुनः ध्यानमग्न भए । पछि उनलाई भेट्न राम र लक्ष्मण आएछन् । डाँडामा पानीको दुःख रहेछ । उनले एउटा कुवा बनाइदिन अनुरोध गरेछन् ।  रामले वाण हानेर बनाइदिएको भनिने कुवा, श्रृङ्गी ऋषिको मन्दिर यज्ञकुण्डमा आज पनि देख्न पाइन्छ । यिनलाई ऋस्यश्रृङ्ग पनि भनिन्छ ।