मलाई लेख्नेहरूले
छाप्नेहरूले अनि सच्याउनेहरूले
जस्तो स्वरूप दिन्छन् म त्यस्तै बन्छु ।
मलाई पढ्नेहरूले
मलाई सुन्नेहरूले अनि परिभाषित गर्नेहरूले
जस्तो मिठास अथवा स्वाद भरिदिन्छन् म त्यस्तै बन्छु ।।
म विरहमा रोइदिन्छु, उमङ्गमा हाँसिदिन्छु
मभित्र जस्तो भावना भरिन्छ
म त्यस्तै रङ भरिदिन्छु
खाली कापीका पानाहरूमा
मसीको सहाराले शब्द बनेको म
अर्थ बुझ्नेहरूका लागि मिसायल हुँ
किनकि विद्रोहमा म आफैँ कविता हुँ ।।
माया, प्रेम, विरह र प्रकृतिका अनेकौँ भावमा
म बतास बनेर बगिरहन सक्छु
ज्यासलमा पग्लिएको सुन जस्तै भनूँ कि
आरनमा गालिएको फलाम जस्तो भनूँ ?
काव्यशिल्पीले जस्तो चाहन्छन्
त्यस्तै आकारमा ढलिदिन सक्छु
किनकि सबै लडाइँ मैदानमा लडिँदैन,
शब्दको वाण जस्तो दरिलो हतियार
अरू कुनै हुनै सक्दैन
म शब्द नै शब्दले घेरिएको निरीह कविता हुँ
मलाई शब्दबिनाको भाव हुन मन छ
कहिले कविको वेदनाले
अनि कहिले आफ्नै हर्षले रुन मन छ
प्रत्येक पाठकको हृदय छुन मन छ
किनकि म केवल अर्काले पढ्ने कविता हुँ ।।