लीलाराज खड्का
बिर्तामोड, कात्तिक २५ गते । नेपाल पुलिसले सोमबार एपिएफलाई १–० ले हराएर नेपालकै सबैभन्दा बढी धनराशिको दाबी गरिएको प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
शिवसताक्षीस्थित दुधे रङ्गशालामा भएको फाइनल जितेर पुलिसले ट्रफीसहित १० लाख १० हजार रुपियाँ पनि हासिल ग¥यो । एपिएफले पाँच लाख रुपियाँमा चित्त बुझायो ।
पुलिसकी मीना देउवाले खेलको २२ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पुलिसकी रेखा पौडेलले प्रहार गरेको बल एपिएफका डिफेन्डरलाई लागेर फर्किएपछि मीनाले रिबाउन्डमा गोल गर्नुभएको हो ।
यसअघि खेलको तेस्रो मिनेटमै मीना गोलको नजिक पुग्नुभएको थियो । पूजा रानाले दिएको सटिक क्रसमा मीनाले गरेको प्रहार एपिएफकी गोलकिप्पर अञ्जना रानामगरले जोगाउनुभएको थियो । खेलको २० औँ मिनेटमा पुलिसकी रेखाले एपिएफका दुई डिफेन्डरलाई ‘बिट’ गर्दै गरेको सट् प्रहार पनि अञ्जनाले बचाउनुभएको थियो ।
यसै गरी खेलको ३८ औँ मिनेटमा एपिएफकी सबिता रानालाई लडाएपछि पाएको फ्रिकिकमा कप्तान अनिता बस्नेतले गरेको प्रयासलाई पुलिसकी गोलकिपर उषा नाथले विफल पार्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको सम्मान पुलिसकी मीनाले हात पार्नुभयो । उहाँले प्रतियोगितामा सर्वाधिक सात गोल गर्नुभयो । मीनाले सर्वश्रेष्ठ खेलाडी घोषित भएर एक लाख ५० हजार र सर्वाधिक गोलकर्ता बनेर थप २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
यसै गरी प्लेयर अफ दी म्याचको उपाधि पुलिसकी पूजाले जित्नुभयो । अन्य विधातर्फ उत्कृष्ट गोलकिपर उषा (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाईं (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदीयमान खेलाडी जेनिफर रानामगर (आर्मी) चुनिनुभयो । उहाँहरू सबैले जनही २५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेतालाई शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले नगद र ट्रफी प्रदान गर्नुभयो ।