• २५ कात्तिक २०८२, मङ्गलबार

फाल्गुनन्द समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिक : प्रदेश प्रमुख खापुङ

blog

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ

विराटनगर, कात्तिक २५ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देनलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइने गरेको बताउनुभयो । मङ्गलबार फाल्गुनन्द जयन्तिको शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

‘‘सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । विशेषगरी फाल्गुनन्द लिङ्देनले लिम्बू समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा आवाज उठाउनुभयो, प्रवचन दिनुभयो ।,’’ प्रदेश प्रमुख खापुङले भन्नुभयो, ‘‘समाज सुधारका निम्ति वृहत् भेला गरी ’सत्यधर्म मुचुल्का’ तयार गर्नुभएको थियो । जसलाई आज लाखौं अनुयायीहरू मार्गदर्शनको रूपमा लिंदै आएका छन् ।’’

उहाँले किरात धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच आपसी सहिष्णुता र सद्भाव कायमका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।