• १५ असार २०८१, शनिबार

राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको योगदान न्यून

blog

काठमाडौँ, साउन ६ गते ।  राष्ट्रिय अर्थतन्त्रमा कर्णाली प्रदेशको योगदान न्यूून रहेको छ । प्राकृतिक स्रोतसाधनको उपलब्धता तथा प्रचुर सम्भावना हुँदाहुँदै पनि उत्पादन तथा अर्थतन्त्रमा अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश पछाडि रहेको हो । 

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार राष्ट्रिय कुल ग्रार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४ दशमलव १ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबैभन्दा कम हो । 

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशको ३६ दशमलव ९ प्रतिशत छ भने प्रदेश १ को १५ दशमलव ७ प्रतिशत, लुम्बिनीको १४ दशमलव १ प्रतिशत, मधेशको १३ दशमलव ३ प्रतिशत, गण्डकीको ८ दशमलव ९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत रहेको छ । 

कृषि क्षेत्रको योगदान ३२ प्रतिशत

नेपाल राष्ट्र बैङ्कका अनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१ दशमलव ५ प्रतिशत छ भने उद्योग क्षेत्रको ११ दशमलव १ प्रतिशत र सेवा क्षेत्रको योगदान ५७ दशमलव ४ प्रतिशत रहेको छ । 

कर्णाली प्रदेशमा कृषिउपजअन्तर्गत खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र ६ दशमलव ७ प्रतिशत मात्रै छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । खाद्य तथा अन्य बाली लगाइने क्षेत्र सबैभन्दा बढी प्रदेश १ मा २१ दशमलव २ प्रतिशत छ ।

कृषिबालीको राष्ट्रिय उत्पादनमा सबैभन्दा धेरै मधेश प्रदेशको हिस्सा २६ दशमलव ९ प्रतिशत छ भने सबैभन्दा कम कर्णालीमा ४ दशमलव ४ प्रतिशत मात्रै रहेको छ । खेतीयोग्य जमिनको सिञ्चित क्षेत्रफल पनि सबैभन्दा कम कर्णाली प्रदेशमा १ दशमलव ३ प्रतिशत छ । कर्णाली प्रदेशमा कृषि तथा पशुजन्य उत्पादन न्यूून रहेको छ । 

क्षेत्रफल र उत्पादनमा पछाडि

कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा ६ दशमलव ४ प्रतिशतले घटेको छ । यस प्रदेशमा खाद्य तथा अन्य बाली ७५ लाख पाँच हजार ९८० मेट्रिक टन, तरकारी तथा बागवानी १४ लाख तीन हजार ५४२ मेट्रिक टन, फलफूल तथा मसला १० लाख दुई हजार २४९ मेट्रिक टन उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ । 

कर्णाली प्रदेशमा समीक्षा अवधिमा दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ । गत वर्ष सो अवधिमा ३ दशमलव ५० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अण्डा उत्पादन १३ दशमलव ३७ प्रतिशतले र माछा उत्पादन १२ दशमलव ३३ प्रतिशतले बढेको छ । गत वर्ष सो अवधिमा अण्डा उत्पादन ३२ दशमलव ५२ प्रतिशत र माछा उत्पादन १५ दशमलव ३८ प्रतिशतले बढेको थियो । 

सुर्खेत, दैलेख, सल्यानलगायतका जिल्लाका युवामा व्यावसायिक पशुपालनप्रतिको आकर्षण तथा सरकारबाट प्रदान गरिएको अनुदानले पशुजन्य उत्पादनमा वृद्धि भएको प्रतिवेदनमा छ । 

चार अर्ब कृषि कर्जा

समीक्षा अवधिमा यस प्रदेशका बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कृषि कर्जा ३८ प्रतिशतले बढेर चार अर्ब ५४ करोड १४ लाख रुपियाँ पुगेको छ । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी चार अर्ब ५१ करोड ३७ लाख रुपियाँ कृषि तथा वनजन्य शीर्षकमा प्रवाह भएको छ । यस्तै दुई करोड ७६ लाख रुपियाँ कर्जा माछापालनमा प्रवाहित भएको प्रतिवेदनमा उल्लेख छ । 

औद्योगिक कर्जा

यस प्रदेशमा समीक्षा अवधिमा औद्योगिक कर्जा २७ दशमलव ४९ प्रतिशतले घटेर चार अर्ब ८५ करोड ४८ लाख ९० हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा छ अर्ब ६९ करोड ५२ लाख ७० हजार रुपियाँ रहेको थियो । 

औद्योगिक कर्जाको उपयोग हुम्ला र जुम्ला जिल्लामा बढेको छ भने सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, डोल्पा, रुकुमपश्चिम र मुगुमा घटेको छ । कोभिडको महामारी कमी भए पनि उद्योग क्षेत्रले पुुरानो लय समाइनसक्नु, यस क्षेत्रमा प्रवाह गरिएका पुनर्कर्जा तथा अन्य सहुलियतको पुनर्तालिकीकरण हुनुले औद्योगिक कर्जा बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक विकासका लागि न्यून पूर्वाधार, आवश्यक दक्ष जनशक्ति अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा विपत् व्यवस्थापनका चुनौतीले गर्दा कर्णालीमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।